
सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारीमार्फत दिगो विकास प्रवर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग सम्झौता गरेको छ ।
यस सहकार्यअन्तर्गत बैंक र विनरकले संयुक्तरूपमा लक्षित समुदायको उद्यमशीलता विकास, वित्तीय साक्षरता विकास, उद्यमीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढीकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।
दिगो बैंकिङ, वित्तीय समावेशीकरण अनि स्थानीय उद्यम सुदृढीकरण तथा प्रवर्द्धनमा कुमारी बैंकको प्रतिबद्धतालाई पुन: प्रष्ट पार्दै दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने, 'यस सहकार्यमार्फत बैंक लक्षित समूहको वित्तीय समृद्धि अभिवृद्धि गर्नतर्फ निरन्तर प्रयत्नशील रहनेछ ।'
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्स्टेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाई तथा ३१७ एटीएममार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।