
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ बस्ने अन्दाजी १९ वर्षीय ओम बाबुप्रसाद यादव रहेका छन् ।
प्रहरीले सवारीसाधान रोकी जाँच गर्ने क्रममा शुक्रबार बिहान ३:१० बजेको समयमा पेस्तोलसहित भेटिएका यादवलाई नियन्त्रणमा लिएको हो ।
बारा कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ बसमा यादव सवार रहेको अवस्थामा जाँचका क्रममा भेटिएको तनहुँका प्रहरी प्रमुख, एसपी टेकबहादुर कार्कीले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।
पृथ्वीराजमार्ग सडकखण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिने प्रहरी टोलीले सवारी जाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।