
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाबाट अन्तिमपटक तेल लोड गरेर आएको अर्को एक तेल ट्यांकर नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले उक्त ट्यांकर नियन्त्रणमा लिइएको जानकारी दिएकी हुन् ।
शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री नोएमले प्रतिबन्धित तेलको अवैध ढुवानीलाई निरन्तर रोक्ने अमेरिकी नीति स्पष्ट पारेकी छन् ।
उनले लेखेकी छन्, ‘संयुक्त राज्य अमेरिकाले यस क्षेत्रको नार्को–आतंकवादलाई वित्तपोषण गर्न प्रयोग हुने प्रतिबन्धित तेलको अवैध आवागमनलाई निरन्तर रूपमा पछ्याउनेछ ।’
उनका अनुसार अमेरिकी कोस्ट गार्डले पेन्टागनको सहयोगमा बिहानीपख उक्त ट्यांकर नियन्त्रणमा लिएको हो । यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आवत–जावत गर्ने सबै प्रतिबन्धित तेल ट्यांकरमाथि नाकाबन्दी घोषणा गरेको केही दिनपछि भएको हो ।
राष्ट्रपति ट्रम्प र उनका प्रशासनका सदस्यहरूले पछिल्ला दिनहरूमा भेनेजुएलाको विशाल तेल भण्डारमाथि नियन्त्रण लिन चाहेको खुलेर अभिव्यक्ति दिँदै आएका छन् । उनीहरूले कुनै आधारबिनै ती तेल भण्डार अमेरिकाकै हुनुपर्ने दाबी पनि गरेका छन् ।
हालका हप्ताहरूमा अमेरिकाले भेनेजुएलाको नजिक दोस्रो पटक तेल ट्यांकर नियन्त्रणमा लिएको यो घटना हो । यससँगै राष्ट्रपति निकोलस मादुरो नेतृत्वको भेनेजुएला सरकारविरुद्ध ट्रम्प प्रशासनको धम्की चर्कँदै गएको सन्दर्भमा उक्त क्षेत्रमा अमेरिकी सैनिक उपस्थिति उल्लेखनीय रूपमा बढाइएको छ । यद्यपि, अन्तर्राष्ट्रिय जलक्षेत्रमा समेत अमेरिकी प्रतिबन्धको आधारमा जहाज नियन्त्रणमा लिन सक्ने ट्रम्प प्रशासनको कानूनी अधिकारबारे विवाद कायमै छ ।
यस घटनाप्रति प्रतिक्रिया दिँदै भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले यसलाई ‘चोरी र अपहरण’को संज्ञा दिएकी छन् । सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उनले भनिन्, ‘यी कार्यहरू दण्डविहीन हुने छैनन् ।’
साथै, भेनेजुएलाले संयुक्त राष्ट्र सुरक्षा परिषद्, अन्य बहुपक्षीय संस्थाहरू र विश्वका सरकारहरूसमक्ष उजुरी दर्ता गर्ने चेतावनी पनि दिएकी छन् ।
पूर्वअमेरिकी कूटनीतिज्ञ तथा पेन्टागनका अधिकारी एडम क्लेमेन्ट्सले अल जजिरासँग कुरा गर्दै मादुरोमाथि दबाब सिर्जना गर्ने ट्रम्प प्रशासनको रणनीतिले परिणाम दिन्छ कि दिँदैन भन्ने अझै स्पष्ट नभएको बताए ।
उनका अनुसार ट्रम्प प्रशासनले लागूऔषध तस्करी रोक्ने र पश्चिमी गोलार्धमा ध्यान केन्द्रित गर्ने कुरा गर्दै आएको छ भने शासन परिवर्तनतर्फ संकेत पनि गरेको छ ।
तेल निर्यातमा तीव्र गिरावट
गत साता अमेरिकी सेनाले भेनेजुएलाको तट नजिक पहिलो प्रतिबन्धित तेल ट्यांकर नियन्त्रणमा लिएपछि व्यवहारिक रूपमा नाकाबन्दीको अवस्था सिर्जना भएको छ ।
करोडौं ब्यारेल तेल बोकेका जहाज नियन्त्रणमा पर्ने जोखिमका कारण भेनेजुएलाकै जलक्षेत्रमा रोकिएका छन् ।
पहिलो ट्यांकर नियन्त्रणमा लिइएपछि भेनेजुएलाको कच्चा तेल निर्यात तीव्र रूपमा घटेको छ । भेनेजुएलाबाट तेल लोड गर्ने धेरै जहाजहरू प्रतिबन्धमा भए पनि इरान र रुसबाट तेल ढुवानी गर्ने केही जहाजहरू भने प्रतिबन्धित छैनन् ।
केही कम्पनीहरू, विशेषगरी अमेरिकी कम्पनी चेभरोनले, स्वीकृत आफ्नै जहाजमार्फत् भेनेजुएलाको तेल ढुवानी गर्दै आएका छन् ।
भेनेजुएलाको कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीन हो, जसले कुल आयातको करिब चार प्रतिशत तेल भेनेजुएलाबाट लिन्छ ।
विश्लेषकहरूका अनुसार डिसेम्बरमा मात्र चीनतर्फ दैनिक ६ लाख ब्यारेलभन्दा बढी तेल निर्यात हुने अनुमान गरिएको छ ।
हाल अन्तर्राष्ट्रिय तेल बजारमा आपूर्ति पर्याप्त रहे पनि चीनको तट नजिक लाखौं ब्यारेल तेल बोकेका ट्यांकरहरू अनलोडको प्रतीक्षामा छन् । यदि नाकाबन्दी लामो समयसम्म कायम रह्यो भने दैनिक करिब १० लाख ब्यारेल कच्चा तेल आपूर्तिमा कमी आउँदा विश्व बजारमा तेलको मूल्य बढ्ने सम्भावना छ ।
मादुरोमाथि ट्रम्प प्रशासनको दबाब अभियान अन्तर्गत उक्त क्षेत्रमा सैनिक उपस्थिति बढाइएको छ । साथै प्रशान्त महासागर र क्यारिबियन सागरमा भेनेजुएलाको नजिक लागूऔषध तस्करीमा संलग्न भएको आरोपमा दुई दर्जनभन्दा बढी सैन्य आक्रमण गरिएको छ, जसमा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।
यी आक्रमणहरू अमेरिकी तथा अन्तर्राष्ट्रिय कानूनविपरीत भएको भन्दै कानूनविद् र मानवअधिकार समूहहरूले यसलाई गैरन्यायिक हत्या भनेका छन् । ट्रम्पले भेनेजुएलामा स्थल आक्रमण पनि हुन सक्ने संकेत दिइसकेका छन् ।
यसअघि राष्ट्रपति मादुरोले अमेरिकी सैनिक गतिविधि आफूलाई सत्ताच्युत गरी विश्वकै सबैभन्दा ठूलो कच्चा तेल भण्डारमाथि नियन्त्रण जमाउने उद्देश्यले गरिएको आरोप लगाउँदै आएका छन् ।
शनिबार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भेनेजुएलामा सशस्त्र हस्तक्षेप नगर्न ट्रम्पलाई चेतावनी दिएका छन् ।
दक्षिणी ब्राजिलको फोज दो इगुआसुमा सम्पन्न मर्कोसुर सम्मेलनमा उनले अमेरिकी कदमलाई ‘मानवीय विपत्ति’ र ‘विश्वका लागि खतरनाक नजिर’ हुने बताएका छन् ।