
कालीकोटको राजुली नगरअस्पतालमा कार्यरत ‘निर्सिङ इन्चार्ज’ अञ्जना धामीको अनुहार चमकदार देखिन्थ्यो । नर्सिङ स्टाफ सधैँ चिटिक्क, चमकदार र हसमुख नै हुन्छन् हैन ? प्रश्न गर्दै गर्दा उनले भनिन्, ‘यसमा सत्यता होला । तर यत्तिमा मात्र होइन । हाम्रो लागि खुसीको विशेष क्षण छ । मभन्दा बढी अस्पतालमा सेवारत कर्मचारी (स्वीपर) सेवा लिने गर्भवती आमा । तिनका आफन्त ।’
किन, कसरी ? होचो कद तर अब्बल क्षमताकी निर्सिङ इन्चार्ज धामी गम्भीर देखिइन् । उनले भनिन्, ‘अब मैले, मेरा स्टाफ र कहिलेकाहीँ सुत्केरीका आफन्तले वर्थिङ्का क्रममा कपडा धुन नपर्ला । धेरै सहज हुन्छ । वर्षा र जाडो दुवै मौसममा सक्नुपर्ने कपडा नसुक्ने अवस्था छ ।’
तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायको सहजीकरणमा नेपाल रेडक्रस सोसाइटी कालीकोट शाखाले अस्पतालमा ‘वासिङ मेसिन’सहित अन्य सामग्री उपलब्ध गराएपछि अस्पताल स्रोत साधनमा अझ दर्बिलो भएको हो ।
अस्पतालमा पहिलो पटक ल्याइएको ‘वासिङ मेसिन’को प्रयोगपश्चात् विशेष गरेर चिसो मौसममा चिसो पानीमा ‘वर्थिङ’का कपडा हातले नै धुनुपर्ने समस्या सदाको लागि अन्त्य हुने जनाइएको छ ।
लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सञ्जालित एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रमले अस्पतालका लागि १२ केजी क्षमताको सुक्खा ‘वासिङ मेसिन’सहित ‘इलेक्ट्रिक हिटर’, बिरामी कुरुवाका लागि प्रतिक्षा कुर्सी, पानी प्रशोधन उपकरण पनि अस्पताललाई सहयोग गरेको छ ।
तिलागुफाका नगर प्रमुख उपाध्यायले भने, ‘चिसो समयमा चिसो पानीमा वर्थिङ सेन्टरका कपडा एवं गर्भवतीका कपडा हातले नै धुनुपर्ने अवस्था थियो । यस्तो पीडादायी अवस्थामा रेडक्रसले ‘वासिङ मेसिन’लगायत अन्य सामग्री सहयोग गरेकामा म विशेष धन्यवाद दिन चाहन्छु ।’
यहाँ असोजको अन्त्यदेखि नै अत्याधिक चिसो शुरू हुन्छ । यो हिउँ पर्ने क्षेत्र पनि हो । चिसो चैतसम्म जारी रहन्छ । कर्णाली राजमार्ग नजिकै रहेको राजुली नगरअस्पतालद्वारा सञ्चालित बर्थिङ सेन्टरमा गत कात्तिक र मंसिर महिनामा एकजनाले पनि सुत्केरी सेवा लिएनन् । चिसोका समयमा सुत्केरीलाई झन् पीडा हुन्छ । अभिभावक र स्वास्थ्यकर्मीसमेत समस्या पर्ने जनाइएको छ ।
तिलागुफा नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालको क्षमता दश शय्याको छ । सुत्केरी हुनका लागि यहाँ विशेष गरेर राजुली –२ रतडा, राजुली– ३ फोइमहादेव र राजुली –४ राजुलीबाट सेवाग्राही आउने गर्दछन् ।
नर्सिङ इन्चार्ज धामीका अनुसार गत आवमा अस्पतालमा ५४ जना सुत्केरी भएका थिए भने चालु आवको तीन महिनामा १४ सुत्केरी भएका थिए । यहाँ ‘वर्थिङ सेन्टर’ सञ्चालन हुनुपूर्व कि मान्मा जिल्ला अस्पताल, जुम्ला अस्पताल जानुपर्ने अवस्था थियो ।
अस्पतालमा गर्भवती आमा तथा नवजात शिशुको सुत्केरीका क्रममा अकालमा मृत्यु भएको छैन । गत आवमा तीन जना गर्भवतीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको छ । प्रतिष्ठानले एकजना ‘एमबिविएस’ चिकित्सक उपलब्ध गराएपनि चिकित्सकको अस्पतालमा उपस्थिति कमै हुने जनाइएको छ ।