
संसद् पुन:स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७, अन्य दलका २ र एक जना स्वतन्त्र निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् ।
उक्त निवेदन दर्ता समेत भइसकेको पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेसका ५७, स्वतन्त्र रूपमा निर्वाचित योगेन्द्र मण्डल, जनमत पार्टीका गोमालाभ सापकोटा र जसपाका हसीना खातुनसहित कुल ६० जना निवर्तमान सांसदहरूले रिट निवेदन दर्ता गराएका हुन् ।
संसद् पुनःस्थापनाका लागि कांग्रेसले यसअघि नै दर्ता गरेको रिट निवेदनमा आफूहरू पनि सरोकारवाला रहेको भन्दै उनीहरूले निवेदन पेस गरेका हुन् ।
यसअघि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जनाले निवेदन दिएका थिए ।
‘सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४७ (२) बमोजिम सरोकारवाला भएको भन्दै यसअघिको रिटमा समर्थन जनाउँदै विघटित प्रतिनिधिसभा पुर्नवहाली गरी पाऊँ भन्दै ६८ जना सरोकारवालाले निवेदन पेस गर्नुभएको हो,’ खातीले लोकान्तरसँग भने, ‘यसमा उहाँहरू सरोकारवाला भन्दै सरिक हुनुभएको हो । यसमा थप लिखित जवाफ पेस गर्न आदेश गरिरहनु पर्दैन ।’
कांग्रेसले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरिसकेको छ ।
खातीका अनुसार भोलि बुधबार संवैधानिक इजलासमा यसअघिको रिटबमा साथै राखेर सुनुवाइ हुनेछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनको पत्नी आरजु राणा देउवा, शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, विमलेन्द्र निधिसहितका नेताले भने निवेदनमा हस्ताक्षर गरेका छैनन् ।