
नेपाली खेलकुदको इतिहासमा पहिलो पटक राष्ट्रिय पारा खेलकुद प्रतियोगिता हुने भएको छ ।
आगामी फागुनमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएलगत्तै कर्णाली प्रदेशमै प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना हुने भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बुधबार बसेको १२४औं बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । १०औं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ ।
त्यसको दुई सातापछि नै प्रथम राष्ट्रिय पारा खेलकुद आयोजना गरिने छ ।
बोर्ड बैठकले पारा खेलकुद आयोजना गर्ने निर्णय गरे पनि उक्त प्रतियोगिताका लागि अझै बजेट सुनिश्चित भइसकेको छैन । बैठकले पारा खेलकुदका लागि अन्यत्रबाट बजेट सुनिश्चित गर्ने निर्णय पनि गरेको छ ।
पारा राष्ट्रिय खेलकुदका लागि खेल संख्या र खेलाडी संख्याको टुङ्गो लगाउने जिम्मा राखेको कार्यकारी समितिलाई दिइएको छ ।
कार्यकारी समितिले आगामी आइतबारसम्म खेल संख्या र खेलाडी संख्याको टुङ्गो लगाउने छ ।