
त्यो बेला यस्तो थियो, जतिबेला हरेक युवाको सपनामा विदेशको रङ चम्किन्थ्यो । तर, दार्चुलाका नवराज जोशीको आँखामा भने आफ्नो माटोको प्यास थियो ।
‘पराइको भूमिमा दु:ख बेचेर धन कमाउनुभन्दा आफ्नै धर्तीमा पसिना बगाउनुमा ठूलो आत्मसम्मान छ’ भन्ने उनले बुझे । काठमाडौंको गल्ली छाडेर उनी सुदूरपश्चिमका डाँडा पाखामा फर्किए, हातमा लिएर संकल्पको एक झोला ।
नेपाललाई परिवर्तन गर्न हाइटेक ग्याजेट होइन, लगनशील कृषकको हात चाहिन्छ । उनको यो यात्रा एक युवाको घर फिर्ती थिएन, यो त देशको आयातमुखी अर्थतन्त्रविरुद्ध गरिएको एक मौन क्रान्ति थियो ।
किम्तडीको २० रोपनी जमिनमा गाईको गोठ, हरियो तरकारी र गँड्यौला मलको कारखाना खडा गर्ने नवराजको यो कथा, कर्मबाट देश बनाउने हजारौं सपनाहरूका लागि एउटा जीवन्त प्रेरणा हो ।
देशको राजधानी काठमाडौंमा बसेर शिक्षा आर्जन गरिरहँदा उनले धेरै कुरा देखे, बुझे, अनुभूत गरे तर नेपालले दैनिक उपभोग्य कृषिवस्तुमा अत्यधिक आयात गरिरहेको तथ्यांकले उनलाई झस्कायो, घच्घच्यायो र अन्तत: परिवर्तनको बिउ रोपिदियो । त्यो बिउ अहिले दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडीमा २० रोपनी जमिनमा फस्टाउँदै गरेको गाई पालन फार्म हो, जसको नाम हो महाकाली पशुपन्छी पालन फार्म ।
फेरिएको बाटो : काठमाडौंबाट दार्चुला
तीन दशक पार गरेका नवराज जोशीले राजधानीको सुविधा सम्पन्न जीवनलाई छोडेर गाउँ फर्कनु सजिलो निर्णय थिएन । तर देशमै केही गर्ने संकल्पले उनी गाउँ फर्किए । २०७६ सालमा आफ्नै गाउँको माटोमा १७ लाखको प्रारम्भिक लगानीसहित गाई पालन शुरू गरे । केहीले उनका निर्णयमाथि शंका गरे, केहीले त आलोचना पनि गरे । तर उनी आफूले रोजेको बाटोमा अडि रहे ।

अहिले ४० लाख रूपैयाँभन्दा बढी लगानी गरिसकेका नवराजसँग होलिस्टन, जर्सी र सिन्दी जातका १४ गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ, जसलाई उनी दार्चुलाको सदरमुकाम खलंगा बजारमा प्रतिलिटर १०० रूपैयाँको दरमा बिक्री गर्छन् ।
सरकारी सहयोग : स्थानीय र प्रदेश सरकारसँगको साझेदारी
नवराजको यो सफलतामा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले महत्त्वपूर्ण भूमिका खेलेको छ । २०७९/८० सालमा मन्त्रालयले ८ लाख रूपैयाँ अनुदान उपलब्ध गरायो; जसबाट गाईको व्यवस्थित गोठ निर्माण भयो । यसबाहेक, महाकाली नगरपालिकाबाट पनि डेढ लाख रूपैयाँको सहयोग पाएका छन् ।
यो वित्तीय सहायताले जोशीको सपना मजबुत भयो । अब उनको फार्ममा आधुनिक सुविधासहित गाई, तरकारी खेती, गँड्यौला मल उत्पादन र अन्य पशुपन्छी व्यवस्थापनका पूर्वाधार छन् ।
महिनामा डेढ लाख आम्दानी
गाई पालनबाट हाल मासिक करिब डेढ लाख रूपैयाँ आम्दानी हुन्छ । फार्म सञ्चालन, पशु आहार, मजदुरी र व्यवस्थापन खर्च कटाएर उनी प्रतिमहिना एक लाख रूपैयाँ नाफा कमाइरहेका छन् । वार्षिक हिसाबमा उनले करिब १२ लाख रूपैयाँसम्मको शुद्ध आम्दानी गरिरहेका छन् ।
उनले भने, ‘विदेश गइयो भने पनि थोरै कमाइ हुन्छ, दु:ख धेरै । यहीँ गाउँमा मेहनत गरियो भने आत्मसम्मान पनि पाइन्छ, आम्दानी पनि ।’
उनको फार्ममा अहिले ८ जनाले रोजगारी पाएका छन् । जसमा ३ जना बाहिरी मजदुर र बाँकी घरका सदस्यहरू स्वयं खेती र पालनमा सहयोगी छन् । यसले नवराजलाई एक उद्यमी मात्र हैन, रोजगार सिर्जनाकर्ता पनि बनाएको छ ।
‘अहिले हामीले फार्मलाई परिवारको रूपमा चलाएका छौं’ उनी भन्छन्, ‘सबैको हात लागेपछि काम सजिलो हुन्छ । फेरि, अरूलाई पनि रोजगारी दिन सकियो भने त्योभन्दा ठूलो धर्म के हुन्छ र ?’

तरकारी र ओखर खेती : बहुआयामिक कृषि प्रणालीको अभ्यास
गाईपालन मात्रै नभएर नवराजले आफ्नो २० रोपनीको फार्ममा तरकारी खेती पनि गरिरहेका छन् । टमाटर, काउली, साग र अन्य मौसमी तरकारीको उत्पादनले बजारमा निकै माग पाएको छ ।
त्यति मात्र होइन, महाकाली नगरपालिका–६, पीनेखोलामा उनले ओखर खेती पनि विस्तार गरेका छन् । बारीको बहुपर्योजन प्रयोग र एकैसाथ धेरै स्रोतबाट आम्दानी उठाउने सोचले उनलाई सफल बनाएको हो ।
तरकारी खेतीलाई अझ जैविक र उत्पादनमुखी बनाउने उद्देश्यले उनले गँड्यौला मल उत्पादन पनि शुरू गरेका छन् । यसका लागि प्रदेश सरकारले १ लाख ३९ हजार रूपैयाँको अनुदान दिएको छ ।
गँड्यौला मलले खर्च घटाएको मात्रै होइन, उत्पादन बढाएको पनि उनी बताउँछन् । ‘हामीले अब मल किनेर ल्याउनु पर्दैन, आफ्नै खेतको मलले खेत हराभरा हुन्छ’, उनी भन्छन् ।
उत्कृष्ट भीमदत्त कृषक पुरस्कार विजेता
२०७९/८० सालमा सुदूरपश्चिम प्रदेश सरकारले नवराज जोशीलाई ‘उत्कृष्ट भीमदत्त कृषक पुरस्कार’ प्रदान गर्यो । यो सम्मान उनको समर्पण, नवप्रवर्तन र कृषि क्षेत्रमा दिएको योगदानप्रति समाजको कदर थियो ।
‘पुरस्कारले हौसला थप्यो, अब जिम्मेवारी पनि थपिएको छ’, उनी भन्छन्, ‘मैले सिकेको अरूलाई पनि बाँड्नुपर्छ ।’

फार्मलाई ‘मल्टिपर्पोज एग्रो हब’ बनाउने सोच
नवराजले आफ्नो व्यवसायलाई यहीँ रोकेका छैनन् । अब उनले फार्मलाई विस्तारित स्वरूपमा लैजाने योजना बनाएका छन् । जसमा कुखुरा पालन, माछा पालन, कालिज पालन सम्म समेटिनेछ ।
उनले फार्मलाई सिकाइ केन्द्रको रूपमा विकास गर्ने सोच बनाएका छन्, जहाँ विद्यार्थी, युवा र इच्छुक कृषकहरूले तालिम लिन, अभ्यास गर्न र नयाँ ज्ञान प्राप्त गर्न सकून् ।
‘कृषकले पनि इनोभेटर हुन सक्नुपर्छ’, नवराज भन्छन्, ‘आफ्नो ज्ञान अरूसँग बाँड्न सके मात्रै देश बदलिन्छ ।’
नवराज जोशीका कथा हजारौं युवाका लागि ‘गरेर देखाउने’ प्रेरणा स्रोत हो । सुदूरपश्चिमका डाँडापाखामा बसेर पनि ज्ञान, लगन र सही नीति सहायताबाट कसरी व्यावसायिक कृषि सम्भव छ भन्ने उनले जीवन्त उदाहरण प्रस्तुत गरेका छन् ।
उनी जस्ता कृषकहरू नेपालका मौन क्रान्तिकारी हुन्- जसले शब्द होइन, कर्मबाट देश बनाउने सपना बुनिरहेका छन् ।