०१ असार २०८३, सोमबार
शून्यबाट शिखरतर्फ

काठमाडौंको सुख छोडेर गाउँ फर्किएका नवराज, दार्चुलाको माटोमै वार्षिक १२ लाख

पुस १२, २०८२
धनगढी
काठमाडौंको सुख छोडेर गाउँ फर्किएका नवराज, दार्चुलाको माटोमै वार्षिक १२ लाख

त्यो बेला यस्तो थियो, जतिबेला हरेक युवाको सपनामा विदेशको रङ चम्किन्थ्यो । तर, दार्चुलाका नवराज जोशीको आँखामा भने आफ्नो माटोको प्यास थियो । 

‘पराइको भूमिमा दु:ख बेचेर धन कमाउनुभन्दा आफ्नै धर्तीमा पसिना बगाउनुमा ठूलो आत्मसम्मान छ’ भन्ने उनले बुझे । काठमाडौंको गल्ली छाडेर उनी सुदूरपश्चिमका डाँडा पाखामा फर्किए, हातमा लिएर संकल्पको एक झोला । 

नेपाललाई परिवर्तन गर्न हाइटेक ग्याजेट होइन, लगनशील कृषकको हात चाहिन्छ । उनको यो यात्रा एक युवाको घर फिर्ती थिएन, यो त देशको आयातमुखी अर्थतन्त्रविरुद्ध गरिएको एक मौन क्रान्ति थियो । 

किम्तडीको २० रोपनी जमिनमा गाईको गोठ, हरियो तरकारी र गँड्यौला मलको कारखाना खडा गर्ने नवराजको यो कथा, कर्मबाट देश बनाउने हजारौं सपनाहरूका लागि एउटा जीवन्त प्रेरणा हो ।

देशको राजधानी काठमाडौंमा बसेर शिक्षा आर्जन गरिरहँदा उनले धेरै कुरा देखे, बुझे, अनुभूत गरे तर नेपालले दैनिक उपभोग्य कृषिवस्तुमा अत्यधिक आयात गरिरहेको तथ्यांकले उनलाई झस्कायो, घच्घच्यायो र अन्तत: परिवर्तनको बिउ रोपिदियो । त्यो बिउ अहिले दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडीमा २० रोपनी जमिनमा फस्टाउँदै गरेको गाई पालन फार्म हो, जसको नाम हो महाकाली पशुपन्छी पालन फार्म ।

फेरिएको बाटो : काठमाडौंबाट दार्चुला

तीन दशक पार गरेका नवराज जोशीले राजधानीको सुविधा सम्पन्न जीवनलाई छोडेर गाउँ फर्कनु सजिलो निर्णय थिएन । तर देशमै केही गर्ने संकल्पले उनी गाउँ फर्किए । २०७६ सालमा आफ्नै गाउँको माटोमा १७ लाखको प्रारम्भिक लगानीसहित गाई पालन शुरू गरे । केहीले उनका निर्णयमाथि शंका गरे, केहीले त आलोचना पनि गरे । तर उनी आफूले रोजेको बाटोमा अडि रहे ।

null

अहिले ४० लाख रूपैयाँभन्दा बढी लगानी गरिसकेका नवराजसँग होलिस्टन, जर्सी र सिन्दी जातका १४ गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ, जसलाई उनी दार्चुलाको सदरमुकाम खलंगा बजारमा प्रतिलिटर १०० रूपैयाँको दरमा बिक्री गर्छन् ।

सरकारी सहयोग : स्थानीय र प्रदेश सरकारसँगको साझेदारी

नवराजको यो सफलतामा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले महत्त्वपूर्ण भूमिका खेलेको छ । २०७९/८० सालमा मन्त्रालयले ८ लाख रूपैयाँ अनुदान उपलब्ध गरायो; जसबाट गाईको व्यवस्थित गोठ निर्माण भयो । यसबाहेक, महाकाली नगरपालिकाबाट पनि डेढ लाख रूपैयाँको सहयोग पाएका छन् ।

यो वित्तीय सहायताले जोशीको सपना मजबुत भयो । अब उनको फार्ममा आधुनिक सुविधासहित गाई, तरकारी खेती, गँड्यौला मल उत्पादन र अन्य पशुपन्छी व्यवस्थापनका पूर्वाधार छन् ।

महिनामा डेढ लाख आम्दानी

गाई पालनबाट हाल मासिक करिब डेढ लाख रूपैयाँ आम्दानी हुन्छ । फार्म सञ्चालन, पशु आहार, मजदुरी र व्यवस्थापन खर्च कटाएर उनी प्रतिमहिना एक लाख रूपैयाँ नाफा कमाइरहेका छन् । वार्षिक हिसाबमा उनले करिब १२ लाख रूपैयाँसम्मको शुद्ध आम्दानी गरिरहेका छन् ।

उनले भने, ‘विदेश गइयो भने पनि थोरै कमाइ हुन्छ, दु:ख धेरै । यहीँ गाउँमा मेहनत गरियो भने आत्मसम्मान पनि पाइन्छ, आम्दानी पनि ।’

उनको फार्ममा अहिले ८ जनाले रोजगारी पाएका छन्  । जसमा ३ जना बाहिरी मजदुर र बाँकी घरका सदस्यहरू स्वयं खेती र पालनमा सहयोगी छन् । यसले नवराजलाई एक उद्यमी मात्र हैन, रोजगार सिर्जनाकर्ता पनि बनाएको छ ।

‘अहिले हामीले फार्मलाई परिवारको रूपमा चलाएका छौं’ उनी भन्छन्, ‘सबैको हात लागेपछि काम सजिलो हुन्छ । फेरि, अरूलाई पनि रोजगारी दिन सकियो भने त्योभन्दा ठूलो धर्म के हुन्छ र ?’

null

तरकारी र ओखर खेती : बहुआयामिक कृषि प्रणालीको अभ्यास

गाईपालन मात्रै नभएर नवराजले आफ्नो २० रोपनीको फार्ममा तरकारी खेती पनि गरिरहेका छन् । टमाटर, काउली, साग र अन्य मौसमी तरकारीको उत्पादनले बजारमा निकै माग पाएको छ ।

त्यति मात्र होइन, महाकाली नगरपालिका–६, पीनेखोलामा उनले ओखर खेती पनि विस्तार गरेका छन् । बारीको बहुपर्योजन प्रयोग र एकैसाथ धेरै स्रोतबाट आम्दानी उठाउने सोचले उनलाई सफल बनाएको हो ।

तरकारी खेतीलाई अझ जैविक र उत्पादनमुखी बनाउने उद्देश्यले उनले गँड्यौला मल उत्पादन पनि शुरू गरेका छन् । यसका लागि प्रदेश सरकारले १ लाख ३९ हजार रूपैयाँको अनुदान दिएको छ ।

गँड्यौला मलले खर्च घटाएको मात्रै होइन, उत्पादन बढाएको पनि उनी बताउँछन् । ‘हामीले अब मल किनेर ल्याउनु पर्दैन, आफ्नै खेतको मलले खेत हराभरा हुन्छ’, उनी भन्छन् ।

उत्कृष्ट भीमदत्त कृषक पुरस्कार विजेता

२०७९/८० सालमा सुदूरपश्चिम प्रदेश सरकारले नवराज जोशीलाई ‘उत्कृष्ट भीमदत्त कृषक पुरस्कार’ प्रदान गर्‍यो । यो सम्मान उनको समर्पण, नवप्रवर्तन र कृषि क्षेत्रमा दिएको योगदानप्रति समाजको कदर थियो ।

‘पुरस्कारले हौसला थप्यो, अब जिम्मेवारी पनि थपिएको छ’, उनी भन्छन्, ‘मैले सिकेको अरूलाई पनि बाँड्नुपर्छ ।’

null

फार्मलाई ‘मल्टिपर्पोज एग्रो हब’ बनाउने सोच

नवराजले आफ्नो व्यवसायलाई यहीँ रोकेका छैनन् । अब उनले फार्मलाई विस्तारित स्वरूपमा लैजाने योजना बनाएका छन् । जसमा कुखुरा पालन, माछा पालन, कालिज पालन सम्म समेटिनेछ ।

उनले फार्मलाई सिकाइ केन्द्रको रूपमा विकास गर्ने सोच बनाएका छन्, जहाँ विद्यार्थी, युवा र इच्छुक कृषकहरूले तालिम लिन, अभ्यास गर्न र नयाँ ज्ञान प्राप्त गर्न सकून् ।

‘कृषकले पनि इनोभेटर हुन सक्नुपर्छ’, नवराज भन्छन्, ‘आफ्नो ज्ञान अरूसँग बाँड्न सके मात्रै देश बदलिन्छ ।’

नवराज जोशीका कथा हजारौं युवाका लागि ‘गरेर देखाउने’ प्रेरणा स्रोत हो । सुदूरपश्चिमका डाँडापाखामा बसेर पनि ज्ञान, लगन र सही नीति सहायताबाट कसरी व्यावसायिक कृषि सम्भव छ भन्ने उनले जीवन्त उदाहरण प्रस्तुत गरेका छन् ।

उनी जस्ता कृषकहरू नेपालका मौन क्रान्तिकारी हुन्- जसले शब्द होइन, कर्मबाट देश बनाउने सपना बुनिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्