१४ असार २०८३, आइतबार

संखुवासभाको विकट गोगने गाउँमा टेबुलभरि थुप्रिएको पैसाको कथा

पुस १४, २०८२
काठमाडौं
संखुवासभाको विकट गोगने गाउँमा टेबुलभरि थुप्रिएको पैसाको कथा

संखुवासभाको सिलिचोङ गाउँपालिका– ८, सिसुवाखोलाको विकट गाउँ हो, गोगने । सदरमुकाम खाँदबारीबाट गाडी र पैदल गरी एक दिनको यात्रामा मुस्किलले पुगिने यो बस्ती अहिले देशैभरि चर्चामा छ ।

चर्चाको कारण हो— एउटा काठको टेबुलमा राखिएका नोटका बिटाहरू र ती नोट गन्दै गरेका हर्षित किसानहरू ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको त्यो तस्वीर वा कुनै फिल्मको सुटिङ वा अवैध धनको प्रदर्शन होइन । त्यो त सिसुवाखोलाका ४७ घरधुरीले सात वर्षदेखि बगाएको पसिनाको सामूहिक प्रतिफल हो ।

अर्मपर्म र सामूहिकताको पुरानो संस्कारलाई गोगनेका किसानले व्यावसायिक रूप दिएका छन् । ‘गोगने सामूहिक अलैँची बगान समूह’ मा आवद्ध ४७ परिवारले सात वर्षअघि एउटा सपना देखेका थिए— मिलेर अलैँची खेती गर्ने ।

स्थानीय बुकुरचोङ सामुदायिक वनको २५ रोपनी र व्यक्तिको २५ रोपनी (लिजमा लिएको) गरी कुल ५० रोपनी जग्गामा उनीहरूले सामूहिक रूपमा अलैँची रोपे । गाउँपालिकाका कर्मचारी समेत रहेका स्थानीय उपभोक्ता अशोक कुलुङका अनुसार उनीहरूले पछिल्लो चार वर्षदेखि निरन्तर उत्पादन लिइरहेका छन् ।

तर, यो सफलता सहजै प्राप्त भएको भने होइन । यसको पछाडि कडा परिश्रम र श्रमदानको कथा छ । समूहका ४७ वटै घरधुरीले अनिवार्य श्रमदान गर्नुपर्ने नियम छ । ‘हाम्रो समूहमा दैनिक हाजिरी हुन्छ,­’ अशोक कुलुङ भन्छन्, ‘काममा नआउनेलाई जरिवाना हुन्छ । सबैले उत्तिकै मिहिनेत गर्नुपर्छ, त्यसैले त आज फल पनि सबैले बराबरी पाएका छौँ ।’

गोगनेका किसानले विगतमा अलैँची प्रतिमन ३० देखि ४० हजार रुपैयाँमा बेच्थे । तर, यस वर्ष भाग्य र बजार दुवैले साथ दियो । प्रतिमन ९८ हजार रुपैयाँका दरले उनीहरूले ११५ मन अलैँची बिक्री गरे, जसबाट कुल १ करोड १७ लाख ५३ हजार ८७५ रुपैयाँ आम्दानी भयो ।

स्थानीय किसान भूपाल कुलुङका अनुसार सबै खर्च कटाएर एक परिवारको भागमा २ लाख २५ हजार रुपैयाँ परेको छ ।

‘हामीले चार वर्षदेखि नै १०० मनभन्दा बढी अलैँची उत्पादन गरिरहेका थियौँ,’ भूपाल भन्छन्, ‘यसपालि भाउ ह्वात्तै बढेकाले चर्चा पनि धेरै भयो ।’

सामुदायिक वनको जग्गा प्रयोग गरेबापत समूहले वनलाई प्रतिकिलो ५ रुपैयाँका दरले रोयल्टी समेत बुझाउने गरेको छ ।

अहिलेको डिजिटल युगमा पनि टेबुलमा पैसा थुपारेर बाँड्नुका पछाडि यो गाउँको विकटता लुकेको छ । ‘गाउँमा बैंक छैन । बैंकिङ कारोबारका लागि सदरमुकाम पुग्न र आउन मात्रै दुई दिन लाग्छ,’ भुपालले भने ।

‘बैंकसम्म पुग्ने पहुँच छैन, सबै किसानको खाता पनि छैन,’ भूपाल कुलुङ बाध्यता सुनाउँछन्, ‘त्यसैले समूहका अगुवाले सदरमुकामबाट नगद लिएर आए र गाउँलेकै अगाडि समाज राखेर पैसा बाँडियो । हाम्रो लागि त्यही टेबुल नै बैंक भयो ।’

गोगनेको यो सफलताले केवल पैसा मात्र भित्र्याएको छैन, गाउँमा अभूतपूर्व सामाजिक एकता पनि कायम गरेको छ । मानिसहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्न अभ्यस्त भएका छन् ।

राजनीतिक खिचातानी र व्यक्तिगत लाभमा रुमल्लिएको समाजका लागि संखुवासभाको यो विकट गाउँ एउटा गतिलो पाठ बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्