३१ असार २०८३, बुधबार
रमाको कोख रित्तियो, सहारा टुट्यो

‘जिम’बाट फर्किरहेका इशानको रहस्यमय मृत्यु, परिवार भन्छ- नक्कली अभियुक्त खडा गरियो

पुस १५, २०८२
बुटवल
‘जिम’बाट फर्किरहेका इशानको रहस्यमय मृत्यु, परिवार भन्छ- नक्कली अभियुक्त खडा गरियो

रुपन्देहीको कञ्चन गाउँपालिका–३ रुद्रपुरका रमा र अर्जुन शर्मा अर्धचेत जस्तै भएको दुई साता पुग्यो । आफन्त र समाजले दिन ढाडस एवं सहाराले उनीहरूको प्राण त अडिएको छ तर, अझै पूर्ण होसमा आउन सकेका छैनन् । 

रमा र अर्जुनका आँखाबाट आँसु रोकिएका छैनन् । परिवारको सहारा, कसैसँगै कहिल्यै दुश्मनी नगर्ने इमानदार छोरा इशानको ‘हत्या’ कसले गर्‍यो ? उनीहरू बेला–बेला बर्बराउँछन् । 

१७ वर्षीय छोराको रहस्यमय मृत्यु भयो । प्रहरी प्रशासनले दोषी अझै पत्ता लगाउन सकेको छैन । रमा विलाप गर्छिन्, ‘मेरो कोख रित्तियो, मेरो लठ्ठी भाँचियो, यो सहाराविहीन आमालाई न्याय दे ! अब मैले कसलाई छोरा भन्ने ?’

अर्जुन र रमालाई आफन्त र घरमा जम्मा भएका समाजका व्यक्तिहरूले सम्झाइरहेका छन् । उनीहरू आफन्त र आगन्तुकसँग एकोहोरिएर टोलाउँछन् । चिच्याउँदा चिच्याउँदै आवाज बसिसकेको छ । 

हरेक सपना पूरा गर्न कुनै कसर बाँकी नराखी हुर्काएको सन्तान घरै अगाडि कसैले चुँडिदिएपछि परिवार मात्र होइन समग्र रूद्रपुरबासी रोएका छन् । घरमा काम गर्दै उच्च शिक्षा पढ्दै गएको छोराको मृत्यु भइसक्यो भन्ने विश्वास अझै उनीहरूलाई लाग्न सकेको छैन । 

परिवारको न्याय र इशानको आत्माको शान्तिको माग गर्दै रुद्रपुरबासी निरन्तर प्रहरी प्रशासनसँग खबरदारी र न्यायको आन्दोलनमा छन । इशानको शव टाउकोमा गम्भीर चोट र आँखा फुटेको अवस्थामा पुस ४ गते साँझ घरभन्दा डेढ सय मिटर अगाडि नालीभित्र बाहिरबाट ढकनी लगाएको अवस्थामा फेला परेको थियो ।  

घटना शुरू हुन्छ पुस २ गतेबाट । इशान आफूले पढने बुद्ध पब्लिक स्कूल गएर पुस २ गते दिउँसो घर आए । तेक्वान्दो प्रशिक्षक समेत रहेका उनी घरमा खाजानास्ता गरेर दिउँसो साढे ३ बजे फेरि प्रशिक्षण प्रदान गर्न स्कूल गए ।

केही दिन अघिदेखि उनी फेरि ‘जिम’ समेत जान थालेका थिए । तेक्वान्दो सिकाएर फर्किएपछि उनी साँझ साढे ५ बजे जिमखाना गए । उनीसँगै जिममा अन्य दुई जना साथी पनि गएका जान्थे । ‘जिम’ गरेपछि एक जना साथी थकाली चोकबाट छुट्टिएर आफ्नो घर गए भने अर्को साथी डेरी चोकबाट छुट्टिए ।

इशान त्यहाँबाट हातमा जुत्ता समाएर आफ्नो घरतर्फ अघि बढेको सीसीटीभी फुटेजमा देखिन्छ । तर, उनी घरमा पुगेनन् । बाबा अर्जुन र आमा रमाले छोरा अबेरसम्म नआएपछि साथीसँगै बस्यो होला भन्ने अनुमानमा सुते । 

तर, भोलिपल्ट बिहान पनि इशान घर आएनन् । स्कूल जाने बेला भयो आएनन् । साँझसम्म पनि इशान घर नर्फिएपछि परिवारमा आशंका उत्पन्न भयो । जताततै सोधखोज गरे, भेटिएनन् । फोन अफ थियो ।  स्कूलमा पनि गएका छैनन्, घर पनि आएका छैनन् । 

इशानको शव भेटिएको स्थान ।

ईशासका ठूलो बाबा पुष्पराज र बाबा अर्जुन छोरो हराएको जानकारी दिन इलाका प्रहरी कार्यालय, रुद्रपुर पुगेर हुलिया बताउँदै गर्दा घरबाट फोन आयो । घरभन्दा केही पर नालीभित्र इशानको जुत्ता र ‘डेथ बडी’ देखियो भन्ने फोन थियो त्यो । 

पुष्पराज भन्छन्, ‘घरदेखि डेढ सय मिटर पर सडकको पूर्वपट्टी नालीभित्र शव भेटियो, ढक्कन निकालेर हेर्दा इशान रहेछ । हामीलाई विश्वास लागेन । शवलाई एम्बुलेन्समा राखेर पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठायौं । घटना हेर्दा त्यो हत्या थियो । हामी निरन्तर दोषी पत्ता लगाई कानूनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छौं ।’

प्रारम्भिक अनुसन्धानमा इशानको मृत्यु गाडीको ठक्करबाट भएको भनेर प्रहरीले पाँच दिनअघि गाडी र चालकलाई नियन्त्रणमा लियो । तर समाज र परिवार भने थप चिन्तित र आक्रोशित बनेका छन् ।

इलाका प्रहरी, कार्यालय बुटवलले जनप्रतिनिधि र मृतकका आफन्तको उपस्थितिमा इशानको कुनै व्यक्तिबाट हत्या भएको नभई लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि समाज र आफन्त आन्दोलित बनेका छन् । गाडी चालक सन्तोष क्षेत्रीलाई नियन्त्रणमा लिएपछि घटना अन्यत्र मोड्न ‘डमी’ खडा गरिएको उनीहरूको आरोप छ । उनीहरूले अहिलेसम्म इशानको शव बुझेका छैनन् ।

‘घटनास्थल र वस्तुस्थिति हेर्दा कुनै हालतमा दुर्घटना होइन, यो हाइप्रोफाइल व्यक्ति मुछिने डरले ‘डमी’ खडा गरिएको हुन सक्छ’, इशानका बुवा अर्जुन भन्छन्, ‘हामीलाई दुर्घटनाको मृत्यु भन्ने स्वीकार्य छैन । यो सरासर हत्या हो, प्रहरी प्रशासनले घटना डाइभर्ट गर्न खोजेको हामीलाई आभास भएको छ ।’ 

घटनास्थल हेर्दा कुनै रगत नभएको, कुनै गाडी घसारिएको पनि देखिएको छैन । साँझ साढे ७ बजेतिर गाडीले मान्छे ठक्कर दिँदा स्थानीयले थाहा पाउनुपर्ने भए पनि त्यहाँ कुनै सामान्य आवाज पनि नसुनेको शव भेटिएको ठाउँ अगाडिका स्थानीयको भनाइ छ ।

‘परिवारको आशा र भरोसा मानेका छोरा नभएपछि हामी अब कसको सहारामा बाँच्ने ?’, अर्जुन भन्छन्, ‘कसैसँग दुश्मनी र झगडा पनि नगर्ने भएको हुँदा किटानी जाहेरी दिन पनि सकेका छैनौं । प्रहरीले जुन दुर्घटना भनेको छ, त्यो हुँदै होइन । मेरो छोरो त अब फर्किएर आउँदैन । इशानजस्तै अरूको हत्या नहोस् भनेर न्याय मागिरहेको छु ।’ 

इशानका बाबुआमा ।

स्थानीय मणिराम सापकोटाले प्रहरी र प्रशासनबाट घटनालाई अन्यत्र मोड्न खोजिएको आरोप लगाए । ‘इशानको दुर्घटनाबाट मृत्यु होइन, यो सुनियोजित घटना हो’, सापकोटा भन्छन्, ‘गलत मान्छेलाई उभ्याएर केसलाई अन्यत्र मोड्न खोजिँदैछ । घटनाको छिटो छानबिन र न्यायका लागि हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं । परिवारलाई छिटो न्याय दिनुपर्छ ।’ 

धारिलो हतियार प्रयोग भएको पोस्टमार्टम रिपोर्टले देखाए पनि प्रहरीले दुर्घटना भन्दा आंशका गर्ने धेरै ठाउँ देखिएको इशानका साथी निश्चल भट्टराई बताउँछन् ।

घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले इशानको मृत्यु गाडीको ठक्करबाट भएको देखिएको दाबी गरे । 

‘इशान जिम गरेर निस्केको, दुई ठाउँमा साथीसँग छुटेको र गाडीको समयको अन्तराल हेर्दा उनी आउँदै गरेको र घटनाको सिक्वेन्स मिल्छ’, डीएसपी कार्कीले थपे, ‘थप अनुसन्धान बाँकी छ । गाडी चालक सन्तोष क्षेत्री र गाडी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं । केही दिनमा सम्पूर्ण वास्तविकता सार्वजनिक गर्नेछौं ।’ 

पीडित परिवारले मुख्यमन्त्री चेतनारायण आचार्यदेखि डीआईजीसम्मलाई भेटेर दोषीलाई छिटो पत्ता लगाउन दबाब दिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्