
बिरामीलाई अस्पताल पुर्याएर जीवन बचाउने पवित्र उद्देश्यका लागि सञ्चालन हुने एम्बुलेन्स कोशी प्रदेशमा गाँजा तस्करीको मुख्य माध्यम बन्न थालेको पाइएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांक अनुसार विगत २९ महिनाको अवधिमा धनकुटा, सुनसरी र मोरङमा एम्बुलेन्सबाट मात्रै १ हजार ४ सय ६२ किलो (साढे १४ क्विन्टलभन्दा बढी) गाँजा बरामद भएको छ ।
यस अवधिमा तस्करीमा संलग्न १२ जना पक्राउ परेका छन् । तस्करीमा संलग्नहरूले प्रहरीको आँखा छल्न साइरन बजाएर एम्बुलेन्स कुदाउने र त्यसैको आडमा अवैध धन्दा चलाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
पहाडी जिल्ला धनकुटा र उदयपुरबाट संकलन गरिएको गाँजा भारतीय सीमासम्म पुर्याएबापत चालकले प्रतिकिलो २ हजार रूपैयाँ ‘कमिसन’ बुझ्ने गरेको प्रहरीले जनाएको छ । धनकुटाको पहाडमा प्रतिकिलो ५ देखि ६ हजार रूपैयाँमा पाइने गाँजा भारत पुर्याउँदा २० देखि २५ हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
यही मोटो मुनाफाका कारण एम्बुलेन्स चालकहरू तस्करको प्रलोभनमा पर्ने गरेका हुन् । यही पुस १४ गते राति मोरङको केराबारी–५ लाफा टोलमा एम्बुलेन्सबाट गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा तस्करले जङ्गलतिर भाग्ने प्रयास गरेका थिए ।
‘सूर्यबहादुर थापा प्रतिष्ठान’द्वारा सञ्चालित प्रदेश १–०६–००१ झ ०००४ नम्बरको उक्त एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर नै गर्नुपरेको थियो ।
सो एम्बुलेन्सभित्र १६ वटा ठूला पोकामा कोचेर राखिएको ५ सय २१ किलो गाँजा फेला परेपछि प्रहरीले चालक निश्चल राई र खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चालकहरूले दिएको बयानअनुसार एउटा खेप सुरक्षित पार गराउँदा उनीहरूले लाखौं रूपैयाँ हात पार्ने गरेका छन् । तस्करीमा प्रयोग भएका अधिकांश एम्बुलेन्सहरू कुनै न कुनै फाउन्डेसन वा गैरसरकारी संस्थाका नाममा दर्ता भएका भेटिएका छन् ।
गत असोजमा विराटनगरबाट ‘राजन अधिकारी फाउन्डेसन’को एम्बुलेन्स २१ किलो गाँजासहित र २०७८ सालमा धरानमा ‘हुडेप नेपाल’ लेखिएको एम्बुलेन्स १ सय किलो गाँजासहित पक्राउ परेका उदाहरण छन् ।
विभिन्न संघ–संस्थाले एम्बुलेन्स सञ्चालनको जिम्मेवारी दिए पनि उचित अनुगमन नगर्दा चालकहरू तस्करको प्रलोभनमा पर्ने गरेको प्रहरीको निष्कर्ष छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाल भन्छन्, ‘बिरामी बोक्ने पवित्र उद्देश्यका लागि सञ्चालित सवारीलाई तस्करीको हतियार बनाइनु गम्भीर अपराध हो । साइरन बजाएपछि प्रहरीले चेकजाँच गर्दैन भन्ने मानसिकताको फाइदा तस्करले उठाएका छन्, अब हामीले एम्बुलेन्सको सूक्ष्म निगरानी शुरू गरेका छौं ।’
प्रहरीका अनुसार धनकुटा र सुनसरीको चतरा क्षेत्र गाँजा संकलनको मुख्य केन्द्र बनेको छ, जहाँबाट मोरङ र सुनसरीका भित्री सडकहरू प्रयोग गर्दै सीमावर्ती क्षेत्रसम्म गाँजा पुर्याइन्छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना नपुग्दै बरामद भएको परिमाणले यो जालो कति फैलिएको छ भन्ने प्रष्ट पार्ने प्रहरी बताउँछ ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा धनकुटाबाट ५२ केजी गाँजासहित ३ जना र सुनसरीबाट ५ सय ३९ केजी ५ सय ग्राम गाँजासहित ७ जना पक्राउ परेका थिए ।
त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा सुनसरीबाट ३५० केजी गाँजासहित १ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्ष २०८२/०८३ को पुस १४ गते मात्रै एम्बुलेन्सबाट ५ सय २१ किलो गाँजासहित २ जना पक्राउ परेका छन् ।
सीमा पार गराउनका लागि भने तस्करहरूले भारतीय नम्बर प्लेटका मोटरसाइकल र स्थानीय ‘भरिया’ परिचालन गर्ने गरेका छन् ।