२४ असार २०८३, बुधबार
अमेरिकी सैन्य हस्तक्षेप

मादुरोलाई ३० मिनेटमै नियन्त्रणमा लिएको थियो अमेरिकाले, प्रयोग भएका थिए १५० सैन्य विमान

पुस २०, २०८२
काठमाडौं
मादुरोलाई ३० मिनेटमै नियन्त्रणमा लिएको थियो अमेरिकाले, प्रयोग भएका थिए १५० सैन्य विमान

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध गरेको सैन्य कारबाही ३० मिनेटभन्दा कम समयमा सम्पन्न भएको र त्यसमा १५० भन्दा बढी सैन्य विमान प्रयोग गरिएको खुलेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आफ्ना स्वास्थ्यसम्बन्धी पोस्ट गरिरहेका बेला भेनेजुएलाविरुद्धको ‘ठूलो स्तरको’ अमेरिकी सैन्य अपरेसन अन्तिम चरणमा पुगिसकेको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार ‘एब्सोल्युट रिजोल्भ’नाम दिइएको उक्त अपरेसन महिनौंदेखि योजनाबद्ध र अभ्यास गरिएको थियो । 

एकपटक शुरू भएपछि यो ३० मिनेटमै सम्पन्न भयो र केही घण्टाभित्रै मादुरोको शासन समाप्त भएको अमेरिकी दाबी छ ।

मादुरोको निवासको हुबहु नक्कल बनाएर अभ्यास

आक्रमणअघि केही दिनसम्म अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै आफ्नो उपस्थिति विस्तार गरेको थियो । 

एसोसिएटेड प्रेसका अनुसार गुप्तचर निकायहरूले मादुरोको दैनिक गतिविधि, विभिन्न समयमा उनी कहाँ बस्छन्, उनका बानीबेहोरा, पाल्तु जनावरदेखि लगाउने कपडासम्मको विवरण अध्ययन गरेका थिए । 

राष्ट्रपति ट्रम्पका अनुसार मादुरो बस्ने स्थानको पूर्ण रूपमा उस्तै प्रतिरूप बनाएर अभ्यास गरिएको थियो । ‘उनीहरू छिर्ने घर जस्तै देखिने, त्यही इस्पात र संरचनासहितको घर नै बनाइएको थियो’, ट्रम्पले भनेका छन् ।

ट्रम्पले अपरेसनका क्रममा भेनेजुएलाको एक सहरका ‘लगभग सबै बत्ती निभाइएको’ पनि बताएका छन् । ‘उनी किल्लाभित्र थिए’, ट्रम्पले फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा भने ।

संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले तयारी अत्यन्त गहन रहेको बताए । ‘हामी सोच्दछौं, विकास गर्छौं, तालिम दिन्छौं, अभ्यास गर्छौं, समीक्षा गर्छौं र फेरि अभ्यास गर्छौं, सही गर्न होइन, गल्ती नहोस् भनेर’, उनले भने।

१५० भन्दा बढी विमान भेनेजुएलाको हवाई क्षेत्रमा

सीबीएस न्युजका अनुसार राष्ट्रपति ट्रम्पले पूर्वी समयअनुसार राति १०:४६ बजे अपरेसनको अनुमति दिएका थिए । 

मौसम अनुकूल नहुँदासम्म अमेरिकी सेनाले आक्रमण रोकेको थियो र बादल हटेपछि मात्र कारबाही अघि बढाइएको एपीले जनाएको छ ।

जनरल केनका अनुसार हेलिकोप्टरहरू समुद्रमाथि निकै तल्लो उचाइमा उडे ताकि पहिचान हुन नदिइयोस्, जबकि माथिबाट अमेरिकी विमानहरूले सुरक्षा घेरा दिएका थिए ।

ब्लूमबर्गका अनुसार भेनेजुएलाको हवाई सुरक्षा प्रणाली निष्क्रिय बनाएपछि १५० भन्दा बढी अमेरिकी विमान देशको हवाई क्षेत्रमा प्रवेश गरेका थिए ।

यसैबीच, आर्मी डेल्टा फोर्सका कमान्डोहरू मादुरो बसेको सैन्य आधारमा पुर्‍याइएका थिए ।

मादुरोको असफल भाग्ने प्रयास

अमेरिकी टोलीले ढोका फोड्दै मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सुरक्षित कोठामा पस्नुअघि नै उनीहरूलाई नियन्त्रणमा लिएको बताइएको छ ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘उनी सुरक्षित स्थानमा पुग्ने प्रयासमा थिए । ढोका निकै बाक्लो र भारी थियो । उनी ढोकासम्म त पुगे, तर बन्द गर्न सकेनन् ।’

ट्रम्पका अनुसार अमेरिकी सैनिकहरूसँग बलियो इस्पात काट्न सक्ने ‘विशाल ब्लोटर्च’ पनि तयारी अवस्थामा थियो । 

‘हामीसँग भएको विशेष क्षमताका कारण कराकासका बत्तीहरू अधिकांश रूपमा निभाइएका थिए,’ उनले थप विवरण नदिई भने ।

रक्षा मन्त्री पिट हेगसेथले यस कारबाहीलाई ‘ठूलो संयुक्त सैन्य तथा कानूनी कारबाही’ भनेका छन् । राजधानी कराकासमा कम्तीमा सातवटा विस्फोटको आवाज सुनिएको बताइएको छ ।

पक्राउपछि के भयो ?

मादुरो र उनकी पत्नीलाई हेलिकोप्टरमार्फत अमेरिकी युद्धपोतमा लगिएको र त्यसपछि अमेरिकातर्फ पठाइएको थियो । ट्रम्प प्रशासनले उनलाई न्युयोर्कमा मुद्दा चलाउने योजना बनाएको जनाएको छ ।

फ्लोरिडास्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले केही अमेरिकी सुरक्षाकर्मी घाइते भए पनि कसैको मृत्यु नभएको विश्वास व्यक्त गरे ।

तर भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले आक्रमणका क्रममा सर्वसाधारण र सैनिकको मृत्यु भएको दाबी गरिन् । टेलिभिजन सम्बोधनमा उनले मादुरोको रिहाइको माग गर्दै उनलाई देशको वैध राष्ट्रपति भनिन् । साथै, उनले वासिङ्टनसँग वार्ताको सम्भावना पनि खुला राखिन् ।

‘हामी सम्मानजनक सम्बन्धका लागि तयार छौं’, रोड्रिगेजले भनेकी छन् ।

यो अपरेसनले अमेरिका र अन्तर्राष्ट्रिय समुदायमा आलोचना जन्माएको छ । यद्यपि ह्वाइट हाउसले यसलाई निर्णायक र सावधानीपूर्वक सम्पन्न गरिएको कारबाहीको रूपमा व्याख्या गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्