
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका-१ बस्ने प्युठान, प्युठान नगरपालिका-९ घर भएका ३९ वर्षीय इन्द्र बहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३४ वर्षीय विजय गुरूङ रहेका छन् ।
पक्राउ परेकामध्ये इन्द्र र आइतेले यूके पठाइदिन्छु भन्दै ७ जना पीडितबाट १३ लाख रूपैयाँ र विजयले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए ।
उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले इन्द्र र आइतेलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट बिहीबार तथा विजयलाई काठमाडौं महानगरपालिका-१४ बाट आइतबार पक्राउ गरेको हो ।
पक्राउमध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा विजयलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।