०६ असार २०८३, शनिबार

श्रीमतीको हत्या गरी तीन वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ

पुस २१, २०८२
काठमाडौं
श्रीमतीको हत्या गरी तीन वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ

आफ्नै श्रीमतीको विभत्स हत्या गरी तीन वर्षदेखि फरार रहेका एक अभियुक्तलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १३ पिपलतडाका भद्र बहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

२०७९ साल मंसिर १० गते भद्र बहादुरले आफ्नी ३४ वर्षीया श्रीमती पानसरा सुनारलाई बन्चरो र खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरेलगत्तै उनी फरार भएका थिए । त्यसयता प्रहरीले उनलाई पक्राउ गर्न प्राविधिक विश्लेषणसहित सादा पोसाकमा विशेष टोली परिचालन गरी निरन्तर खोजी गरिरहेको थियो ।
लामो समय बाहिर लुकिछिपी बसेका सुनार दुई–तीन दिनअघि मात्र आफ्नो गाउँघरमा आएर बसेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनलाई गत पुस २० गते दिउँसो पिपलतडाबाट कार्कीगाउँ जाने सडक खण्डमा फेला पारी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काका अनुसार पक्राउ परेका सुनारलाई सोमबार जाजरकोट जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतबाट ‘कर्तव्य ज्यान’ मुद्दामा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्