
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)लाई सम्मान–पत्र प्रदान गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले अटोमोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान–पत्र प्रदान गरेको हो ।
यसै क्रममा, अटोमोबाइल क्षेत्रमा आधारित व्यावसायिक तालिम पाठ्यक्रम निर्माण तथा कार्यान्वयन प्रक्रियामा संयोजकको हैसियतले प्रभावकारी, प्रशंसनीय र नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानको कदरस्वरूप नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठलाई प्रशंसा–पत्र प्रदान गरिएको हो ।
उक्त सम्मान तथा प्रशंसा–पत्रहरू राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।
नाडाको सहकार्यमा अटोमोबाइल्स क्षेत्रमा श्रम बजारको मागअनुसार तयार गरिएका ट्रेड–आधारित सीपमूलक तालिम पाठ्यक्रम; विशेषगरी एसेम्बलर अपरेटर तथा विद्युतीय सवारी मर्मत प्राविधिक जस्ता कार्यक्रमले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको प्रमाण–पत्रमा उल्लेख गरिएको छ ।
नाडाले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै अटोमोबाइल क्षेत्रको सीप विकास, रोजगारी सिर्जना र प्राविधिक जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।