२५ असार २०८३, बिहीबार

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

पुस २५, २०८२
बैतडी
प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आजदेखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो ।

जिल्ला छनोट प्रतियोगितामा कम्तीमा चार टिम समावेश गरी एक टिमले तीन खेल खेल्नु पर्ने, प्रतियोगिता ५० ओभरको खेलाउनु पर्ने, सहभागी खेलाडीहरूले अनिवार्य रुपमा दर्ता फाराम भरी फोटोसमेत टाँस्नुपर्ने जनाइएको छ ।

त्यसैगरी छनोट खेलहरूको अनलाइन स्कोर https://cricclubs.com/nepal मा अनिवार्य रुपमा राख्नुपर्ने, प्रतियोगिताको खेल तालिका, सहभागी खेलाडीहरूसहित टिमको नामावली, म्याच रिपोर्ट, स्कोर सिट, प्रतियोगिताका तस्वीरहरूसहित प्रतियोगिता सम्पन्न भएको प्रतिवेदन नेपाल क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघमा उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक आठ जिल्ला नेपाल क्रिकेट संघमा आबद्ध छन् । जिल्ला छनोटपछि प्रदेशस्तरीय प्रतियोगिता हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन गरिँदै आएको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष आगामी चैत्र १४ देखि वैशाख ५ गतेसम्म सञ्चालन गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्