०३ असार २०८३, बुधबार
बुटवलको उदाहरणीय सामुदायिक अस्पताल

३ रुपैयाँको 'कमाल' ! प्रदर्शनीको आम्दानी बन्यो मुटु र मिर्गौला रोगीलाई बरदान

पुस २६, २०८२
बुटवल
३ रुपैयाँको 'कमाल' ! प्रदर्शनीको आम्दानी बन्यो मुटु र मिर्गौला रोगीलाई बरदान

बुटवलमा हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा मेला-महोत्सव हुने गर्छन् । तीन वटा व्यावसायिक संस्थाले आलोपालो गर्दै औद्योगिक प्रदर्शनी तथा मेला-महोत्सव गर्दै आएका छन् । यस्तो प्रदर्शनी काठमाडौं बाहिर पहिलोपटक वि.सं. २०४५ सालमा रुपन्देही उद्योग संघले गरेको हो । साढे तीन दशकअघि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला-महोत्सव आयोजना गर्न शुरू गरिएको थियो ।

१५ वर्षअघि रुपन्देही उद्योग संघले प्रवेश शुल्कबाट केही रकम छुट्याएर सामाजिक क्षेत्रमा काम गर्ने सोच बनायो । दर्शकको प्रवेश शुल्कबाट प्रतिटिकट ३ रुपैयाँ छुट्याएर संघले यस क्षेत्रमा मुटु अस्पताल स्थापना गरी बिरामीको सेवा गर्ने निर्णय गर्‍यो । संघको पहल र प्रदर्शनीको टिकटबाट संकलित रकमले काठमाडौं बाहिर समुदायस्तरमा मुटुरोगीको उपचार गर्ने गरी २०७० सालमा बुटवलमा मुटु (हृदय) अस्पताल स्थापना भयो । त्यतिबेला संघबाट ४ लाख २३ हजार ४९० रुपैयाँ अस्पतालका लागि छुट्याइएको थियो ।

५ करोड रुपैयाँ लगानीबाट शुरूमा मुटु रोगका बिरामीलाई सेवा दिने उद्देश्यसहित स्थापित गैरनाफामूलक गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले बिरामीलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । मुटुसँगै सेवा शुरू गरेको दुई वर्षपछि अस्पतालले मिर्गौला रोगको पनि उपचार थाल्यो । अस्पतालले यसलाई अझ प्रभावकारी बनाउँदै सेवा विस्तार गरेको छ ।

बुटवल रामनगरस्थित अस्पतालले लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न ठाउँमा डायलाइसिस सेन्टर स्थापना गरी ठूलो मानवीय सेवा पुर्‍याएको छ । लुम्बिनी प्रदेशमा अहिले मिर्गौलाको डायलाइसिस गर्नुपर्ने बिरामीको संख्या ८५१ छ । जसमध्ये मुटु अस्पतालले मात्रै ५५१ जना मिर्गौलाका बिरामीको नियमित र निःशुल्क डायलाइसिस गर्दै आएको छ । जसमा बुटवलबाट ३११ जना, दाङको लमहीस्थित डायलाइसिस सेन्टरबाट ५७, पाल्पाबाट ५९, स्याङ्जाको वालिङबाट ६७ र कपिलवस्तुबाट ५७ जना रहेका छन् ।

अस्पतालले निःशुल्क डायलाइसिस सेवामार्फत हालसम्म ३ लाख ३३ हजार ७२१ सेसन सेवा प्रदान गरिसकेको छ । यस वर्ष मात्रै ५६ हजार ४३७ सेसन डायलाइसिस गरिएको छ । २० वटा मेसिनमार्फत २४सै घण्टा सेवा प्रवाह भइरहेको छ । सरकारले प्रतिसेसन २ हजार ५०० रुपैयाँ सोधभर्ना दिने गरेको छ । जसअनुसार यस वर्ष मात्रै १३ करोड ९४ लाख ६५ हजार बराबरको सेवा अस्पतालले प्रदान गरेको छ ।

अस्पतालका अध्यक्ष एजाज आलम 'स्वस्थ मुटु हाम्रो अभियान' भन्ने नाराका साथ शुरू भएको अस्पतालबाट अहिले लाखौँ बिरामीले सेवा लिइसकेको बताउँछन् । आज यो सामुदायिक अस्पताल लुम्बिनी प्रदेशकै ठूलो सामुदायिक डायलाइसिस केन्द्र बनेको आलमको भनाइ छ । 'अस्पतालमा रोटरी क्लबको फण्ड पनि भित्र्याएका छौँ,' आलम भन्छन्, 'लामो समय सेवाको पहुँचबाट टाढा रहेका मुटु र मिर्गौला रोगपीडित नागरिकलाई लक्षित गर्दै उद्योग संघको विशेष पहलमा अस्पताल स्थापना भएको हो । एक दशकमा यस सुविधासम्पन्न सामुदायिक अस्पतालले लाखौँ बिरामीलाई सेवा दिएको छ । बिरामीको सेवा नै हाम्रो अभियान हो । मुटुसँगै मिर्गौला रोगका बिरामीलाई सेवा दिनु हामीले कर्तव्य ठानेका छौँ । हाम्रो डायलाइसिस सेवा २४सैँ घण्टा निःशुल्क छ ।'

त्यतिबेला ४ लाखबाट पनि अस्पताल स्थापना हुन्छ र ? भनेर धेरैले प्रश्न गर्थे । उनीहरूले त्यो केवल बीजारोपण मात्र थियो भन्ने बुझ्न सकेनन् । आज बुटवलमै विश्वस्तरीय मुटु र मिर्गौलाको उपचार सेवा उपलब्ध भएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. रजत कायस्थको नेतृत्वमा ३५ जना स्वास्थ्यकर्मीले नियमित सेवा दिइरहेका छन् भने अस्पतालमा ३ सयभन्दा बढी कर्मचारी कार्यरत छन् । सामुदायिक अस्पतालले सरकारीभन्दा सस्तो शुल्कमा सेवा प्रदान गर्दै आएको अस्पतालका सञ्चालक सदस्य बाबुराम बोहोरा बताउँछन् । यस क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी तथा रोटरियन अभियन्ताहरूको सामूहिक प्रयासबाट स्थापित मुटु अस्पताल एक दशकमा हजारौँ बिरामीका लागि वास्तविक अर्थमै वरदान सावित भएको बोहोराको भनाइ छ ।

सामुदायिक सदस्यतातर्फ पनि अस्पतालले फराकिलो दायरा बनाएको छ । हाल अस्पतालमा ७४४ जना सदस्य छन् । जसमा १० लाख सहयोग गर्ने ४७ जना सम्मानित सदस्य, ५ लाख सहयोग गर्ने ३७ जना विशिष्ट सदस्य, २ लाख सहयोग गर्ने २७ वटा संस्थागत सदस्य र १ लाख सहयोग गर्ने ६३३ जना संस्थापक सदस्य रहेका छन् ।

अस्पतालले फड्को मार्नमा रोटरी क्लबको भूमिका प्रभावकारी छ । अस्पतालको स्थापनाकालदेखि नै विभिन्न रोटरी क्लब, रोटरी डिस्ट्रिक्ट ३२९२ र रोटरी फाउन्डेसनले ठूलो सहयोग प्रदान गरेका छन् । अस्पतालले 'पैसाको अभावले कुनै बिरामीको मृत्यु नहोस्' भन्ने मान्यतालाई आत्मसात् गरेको छ ।

हरेक वर्ष अति विपन्न र असहाय बिरामीहरूको उपचारमा १ करोडभन्दा बढी छुट प्रदान गरिँदै आएको छ । अस्पतालमा ओपीडी (टिकट) शुल्क सरकारी अस्पताल बराबर छ । साधारण टिकटको सय रुपैयाँ तथा इको, इसीजी, एक्सरेलगायत परीक्षण शुल्क पनि सरकारी दररेटमै उपलब्ध छ ।

सरकारी अस्पतालकै शुल्कमा निजी स्तरको सुविधा र विशेषज्ञ सेवा दिनु आफैँमा चुनौतीपूर्ण भए पनि अस्पतालले यसलाई निरन्तरता दिइरहेको छ । वि.सं. २०६७ चैत २१ गतेको सांस्कृतिक कार्यक्रममा 'जग्गा प्राप्त भएको २ वर्षभित्र अस्पताल सञ्चालन गर्ने' घोषणा गरिएको थियो ।

तिलोत्तमा नगरपालिका-४ मा १० बिघा जग्गा दिने घोषणा भए पनि औपचारिक रूपमा अझै अस्पतालको मातहतमा जग्गा नआउँदा आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउन बाधा पुगेको छ । जग्गा प्राप्त भएको १ वर्षभित्र २०० शैयाको अस्पताल सञ्चालन गर्ने र १० वर्षभित्र ६०० शैया थप गरी कुल ८०० शैया पुर्‍याउने अस्पतालको लक्ष्य छ ।

salt training

कमेन्ट गर्नुहोस्