१४ असार २०८३, आइतबार

अमेरिकी चेतावनीपछि इरानका विदेशमन्त्रीको प्रतिक्रिया- युद्धका लागि तयार छौं !

पुस २९, २०८२
काठमाडौं
अमेरिकी चेतावनीपछि इरानका विदेशमन्त्रीको प्रतिक्रिया- युद्धका लागि तयार छौं !

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले ‘परीक्षण गर्न चाह्यो भने’ इरान युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । 

इरानमा जारी सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनको सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाहीको धम्की दिएपछि अराघचीको यस्तो प्रतिक्रिया आएको हो ।

सोमबार अल जजिरा अरेबिकलाई दिएको विशेष अन्तर्वार्तामा अराघचीले इरान र अमेरिकाबीच सञ्चारका माध्यम खुला रहेको बताए । तर, देश सबै सम्भावित विकल्पका लागि तयार रहेको उल्लेख गर्दै उनले इरानसँग अहिले गत वर्षको १२ दिने युद्धको तुलनामा ‘ठूलो र व्यापक सैन्य तयारी’ रहेको दाबी गरे ।

उनको भनाइ ट्रम्पले आइतबार दिएको अभिव्यक्तिपछि आएको हो । आर्थिक संकटबाट शुरू भएको इरानको आन्दोलन अहिले प्रणालीगत परिवर्तनको मागमा रूपान्तरित हुँदै गएको छ । 

ट्रम्पले इरानी नेतृत्वले प्रदर्शनमाथि गरेको दमनका कारण ‘कडा विकल्प’ विचार गरिरहेको बताएका थिए, जसमा सम्भावित सैन्य कारबाही पनि समावेश छ ।

भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी विशेष फौजमार्फत् अपहरण गराएको केही समयपछि ट्रम्पले इरानसँग परमाणु कार्यक्रमबारे वार्ता गर्न बैठक तय भइरहेको बताए पनि ‘बैठकअघि नै कदम चाल्नुपर्ने हुन सक्छ’ भनेका थिए ।

‘यदि वासिङ्टनले सैन्य विकल्प परीक्षण गर्न चाह्यो भने, जुन उसले पहिले पनि परीक्षण गरिसकेको छ, हामी त्यसका लागि तयार छौं’, अराघचीले भने ।

उनले संवाद नै बुद्धिमत्तापूर्ण विकल्प भएको आशा व्यक्त गर्दै इजरायलका हितका लागि अमेरिकालाई युद्धतर्फ धकेल्न खोज्ने शक्तिहरूप्रति पनि चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्