१९ असार २०८३, शुक्रबार

‘प्रशासन प्रतिगमनविरुद्ध सशक्त ढंगले अघि बढ्छौं’

माघ १, २०८२
काठमाडौं
‘प्रशासन प्रतिगमनविरुद्ध सशक्त ढंगले अघि बढ्छौं’

सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ ले नागरिक सेवा प्रवाहमा जनअपेक्षा अनुसार सुधार एवं रूपान्तरण हुन नसकेको भन्दै प्रशासन प्रतिगमनकाविरुद्ध आफ्नो अभियान कडा र सशक्त ढंगले अगाडि बढ्ने जनाएको छ ।

अभियानका संयोजक गणेश घिमिरेले बिहीबार एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचार र कुशासनको अन्त्य गरी सुशासन कायम गर्ने सन्दर्भमा ठोस नीति एवं कार्यमूलक हुन नसकेको जनाएका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज पनि भ्रष्टाचार, अनियमितता एवं बेथितिको पराकाष्ठा रहेको अभियानले प्रस्ट पारेको छ । 

उनले यसअघिका राजनीतिक एवं प्रशासनिक नेतृत्व ‘खराब नेतृत्व’ भएको र हालका काम कारबाही पनि विकृत शैली भन्दा खासै फरक नभएको उल्लेख गरेका छन् । 

‘सुधार अभियानलाई वस्तुपरकतासहित गतिशील दिशामा लैजान प्रशासनिक विकृतिलाई प्रोत्साहन गर्ने प्रशासकहरूको प्रोफाइल तयार गरी शीघ्र सार्वजनिक गर्ने तयारीमा छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अहिले प्रशासन रूपान्तरण गर्ने ऐतिहासिक अवसर थियो, तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वले यो अवसरलाई खेर फाल्यो, रूपान्तरणलाई पूर्ण रूपमा बेवास्तासहित प्रशासनिक प्रतिगमन गर्‍यो ।’

अभियानले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराउँदै मन्त्रालयको नेतृत्व र कार्यशैलीको विकल्प खोज्न आग्रह गरेको छ । 

‘सार्वजनिक प्रशासन सुधारका कार्यलाई मार्ग दिने र प्रशासनिक प्रतिगमनलाई अंकुश लगाउने गरी निर्णय गर्न र सबै प्रकारका सार्वजनिक प्रशासनको क्षेत्रलाई गति दिने संघीय निजामती सेवा ऐन जारी लगायतका जायज माग पूरा गर्नेतर्फ अगाडि नबढ्ने हो भने विकल्पसहित अभियान अघि बढ्छ,’ अभियानले भनेको छ, ‘कुनै फरक स्थिति सिर्जना हुन गयो भने त्यसको जिम्मेवारी राजनीतिक एवं प्रशासनिक नेतृत्वले लिनुपर्छ ।’

अभियानले सार्वजनिक प्रशासन रूपान्तरणका लागि भन्दै १० बुँदे आचारसंहिता र प्रतिवद्धता समेत सार्वजनिक गरेको छ ।

यस्ता छन् १० बुँदै आचारसंहिता :

१. म नेपालको संविधान, कानून र पेशागत आचारसंहिताको पूर्ण पालना गर्दै कानून र नागरिकप्रति उत्तरदायी रहन्छु ।

२. म आफ्नो पदीय जिम्मेवारी पूरा गर्दै सोमार्फत् नै यस रूपान्तरण अभियानलाई योगदान गर्छु ।

३. म सदासर्वदा सुशासन तथा सार्वजनिक सेवाप्रवाहप्रति निष्ठा प्रदर्शन गर्दै भ्रष्टाचार र कुशासनको विरुद्धमा उभिने छु ।

४. म कुनै पनि राजनीतिक दलनिकट ट्रेड युनियनको सदस्यता स्वीकार गर्दिनँ ।

५. म निर्णय र कार्यसम्पादन गर्दा प्रचलित कानून र सार्वजनिक हितलाई ध्यानमा राखी गर्नेछु ।

६. सार्वजनिक सेवा प्रवाह गर्दा नागरिकप्रति पूर्ण उत्तरदायी रही पारदर्शिता, जवाफदेहिता र इमान्दारिता कायम गर्नेछु ।

७. सेवाग्राहीबाट प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिई समाधान गर्ने प्रयास गर्नेछु ।

८. निर्णय र कार्यसम्पादन गर्दा स्वार्थको द्वन्द्व हुने कुनै पनि विषयमा सहभागी हुने छैन ।

९. मानवीय मूल्य–मान्यता र राष्ट्रहित मेरो सर्वोपरी कर्म हुनेछ ।

१०. म यस अभियानलाई एक सकारात्मक प्रयासको रूपमा लिँदै आफ्नो स्थानबाट योगदान दिन, अभियानकर्मी सदस्यलाई कुनै पनि प्रकारको प्रतिगमनकारी हर्कत भएमा सक्रियताका साथ सघाउन, अभियानको गोपनीयता कायम राख्न र यसका लागि भए गरेका निर्णय कार्यान्वयन गर्न गराउन सक्रियतापूर्वक लागिरहनेछु । 

null

salt training

कमेन्ट गर्नुहोस्