२२ जेठ २०८३, शुक्रबार
निर्वाचन सुरक्षामा के छ तयारी ?

निर्वाचन प्रहरीसहित साढे तीन लाख सुरक्षाकर्मी खटिने, ४४१४ मतदान केन्द्र अतिसंवेदनशील

माघ ७, २०८२
काठमाडौं
निर्वाचन प्रहरीसहित साढे तीन लाख सुरक्षाकर्मी खटिने, ४४१४ मतदान केन्द्र अतिसंवेदनशील

आगामी फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर उम्मेदवारी मनोनयन दर्ता भएसँगै देश चुनावमा होमिएको छ । 

यसबीचमा  कुनै ‘भवितव्य’ नभए फागुन २१ मा चुनाव हुनेछ । त्यसपछि देशले नयाँ संसद् र सरकार पाउनेछ ।

निर्वाचनको अर्को महत्त्वपूर्ण र संवेदनशील पाटो सुरक्षा व्यवस्थापनमा गृह मन्त्रालय सक्रिय बनेको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय गराउन केन्द्रीय सुरक्षा समितिबाट पारित भएको ‘एकीकृत सुरक्षा योजना’ प्रभावकारी रूपमा लागू गर्न भन्दै तीन वटा संयन्त्र बनाएर सोही अनुसार जिम्मेवारी बाँडफाँट गरिएको गृहका अधिकारीहरू बताउँछन् ।

मन्त्रालयका अनुसार गृह सचिवको संयोजकत्वमा केन्द्रीय कमान्ड पोस्ट, मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख (सहसचिव)को संयोजकत्वमा केन्द्रीय संयुक्त निर्वाचन सेल, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला निर्वाचन सेल र प्रदेशका गृह सचिवको कमान्डमा प्रदेश कमान्ड पोस्ट तथा प्रदेश निर्वाचन सेलसमेत गठन गरिएको छ ।

सेल गठन भएसँगै आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्थापन एवं परिचालन हुने मन्त्रालयले जनाएको छ । केन्द्रीय कमान्ड पोस्टले सम्बन्धित प्रदेशका डीआईजी, सीडीओ र प्रदेशका डीआईजीले जिल्ला प्रहरी प्रमुखलाई आवश्यक समन्वय र निर्देशन दिनेछन् । जिल्ला सुरक्षा समितिको प्रमुख सीडीओ हुने व्यवस्था छ। जिल्लाको सम्पूर्ण सुरक्षा व्यवस्थापन र प्रहरी परिचालन सीडीओमै निर्भर रहन्छ । 

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार निर्वाचनको सुरक्षालाई लक्षित गरेर स्थापना गरिएका संयन्त्रले आपसी समन्वयमा काम गरिरहेका छन् । उनका अनुसार सातवटै प्रदेशमा प्रदेश सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा आएका सुझावलाई समेत मध्यनजर गरेर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने छ ।

‘सातवटै प्रदेशमा गोष्ठी सम्पन्न भएको छ, गोष्ठीबाट आएका सुझावलाई कार्यान्वयनमा लगिन्छ,’ काफ्लेले लोकान्तरसँग भने, ‘प्रदेश र जिल्लागत रूपमा निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई कसरी निस्तेज पार्ने भन्ने विषयमा समेत योजना तर्जुमा गरिएको छ ।’

मन्त्रालयका अनुसार निर्वाचनकै लागि ‘निर्वाचन प्रहरी’ भर्नाको काम अघि बढेको छ । निर्वाचन प्रहरीलाई तालिम दिएर सम्बन्धित जिल्लाका निर्वाचन सेलमा खटाइनेछ । निर्वाचनलाई लक्षित गरी साइबर प्रहरी समेत परिचालन गरिने गृह प्रवक्ता काफ्लेले जानकारी दिए । 

उनले भने, ‘निर्वाचन भइरहेका बेला वा सम्पन्नपश्चात सामाजिक सञ्जाल प्रयोग गरेर तथ्यहीन सूचना र अफबाह फैलाउन सक्ने तत्वप्रति मन्त्रालय सजक छ, मतदानस्थलमै साइबर प्रहरी परिचालनको तयारी गरेका छौं ।’

निर्वाचनका लागि छिमेकी मुलुक भारतले ३७७ वटा गाडी सहयोग गर्ने भएको छ । भारतले एक साताभित्रै पहिलो लटमा १० ६ वटा गाडी पठाउने तयारी गरेको मन्त्रालयले जनाएको छ । भारतले सहयोग गरेका अधिकांश सवारी प्रहरी र सशस्त्र प्रहरीलाई दिने तयारी गृहले गरेको छ । 

‘जेनजी आन्दोलनमा सबैभन्दा धेरै प्रहरीकै सवारी जलेको र निर्वाचनमा सुरक्षा प्रभावकारी बनाउन प्रहरी नै अग्रपङ्क्तिमा उभिने भएकाले धेरै गाडी प्रहरीलाई दिइनेछ,’ काफ्लेले लोकान्तरसँग भने, ‘नियमित बजेटबाट पनि प्रहरीले १८५ वटा गाडी खरिद गर्ने तयारी गरेको छ ।’

गृहका अनुसार सशस्त्र प्रहरी बलले हरेक निर्वाचन क्षेत्रमा मोबाइल र स्ट्राइकिङ टोली खटाउने भएको छ । यसका लागि सशस्त्र प्रहरीले जनशक्ति अपुग भएको भन्दै १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दै छ । उनीहरूलाई मोबाइल र स्ट्राइकिङ टोलीमा खटाउने तयारी रहेको गृह प्रवक्ता काफ्लेले जानकारी दिए । 

उनका अनुसार सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मतदानस्थलको संख्या थप भएसँगै सशस्त्र प्रहरीलाई जनशक्ति व्यवस्थापनमा समस्या हुने भएपछि निर्वाचन प्रहरी भर्नाको अनुमति दिइएको हो ।

गृहका अनुसार निर्वाचनका लागि करिब तीन लाख ४० हजार (निर्वाचन प्रहरी समेत)को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिनेछ । गृह स्रोतका अनुसार निर्वाचनमा ७९ हजार ७२५ नेपाली सेना, ७५ हजार ७६५ प्रहरी र ३४ हजार ५४३ सशस्त्र प्रहरी खटाइनेछ । सूचकको रूपमा एक हजार ९११ जना राष्ट्रिय अनुसन्धान विभागबाट परिचालन गरिने तयारी छ ।

संवेदनशील मतदान केन्द्रको पहिचान गरिँदै

गृह मन्त्रालयले ७७ वटै जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण अनुसार सुरक्षा योजना तयार गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य भनेर तीन भागमा वर्गीकरण गरिन्छ । 

प्रहरी प्रधान कार्यालयले पनि सातवटै प्रदेश र ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई मतदान केन्द्रको वर्गीकरण गर्न भनेको छ । निर्वाचन आयोगले ११ हजार ९ सय १ मतदान केन्द्र तय गरिसकेको छ ।

मन्त्रालयका अनुसार सुरक्षा चुनौतीका दृष्टीकोणले चार हजार ६ सय १४ मतदान केन्द्र अतिसंवेदनशील, चार हजार चार सय ४२ मतदान केन्द्र संवेदनशील र दुई हजार ८ सय ४५ मतदान केन्द्र सामान्य भनिएको छ ।

‘भेट्रान’ नेताहरू उठेका निर्वाचन क्षेत्रलाई अतिसंवेदनशीलमा वर्गीकरण गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवं रास्वपा नेता बालेन्द्र शाह प्रतिस्पर्धी बनेको झापा–५ लाई अतिसंवेदनशील मतदान केन्द्रको सूचीमा राखिएको छ । 

त्यस्तै, रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेबाट लीलामणि गौतम र कांग्रेसबाट कुसुमदेवी थापासँगै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दिप पुन: प्रतिस्पर्धा गर्दैछन् ।

माओवादी जनयुद्धदेखि नै रुकुम पूर्व साबिक माओवादीको आधार इलाकामध्येको एक हो । गृहको सूचीमा रुकुम पूर्वका मतदान केन्द्र पनि अतिसंवेदनशील सूचीमा राखिएको छ ।

गृहका एक अधिकारीले लोकान्तरसँग भने,‘खासमा ठूला हेभिवेट नेताहरू चुनाव लड्ने क्षेत्रलाई अतिसंवेदनशील सूचीमा राखिएको हो, विगतमा धाँधलीको आरोप बाहिर आएको मतदान केन्द्र पनि यही सूचीमा राखिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्