
हेरी केनको उत्कृष्ट प्रदर्शनसँगै जर्मन ‘पावर हाउस’ बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बायर्न म्युनिख आफ्नो पछिल्लो खेलमा बेल्जियन प्रतिद्वन्द्वी युनियन सेन्ट–जिलोइसलाई २–० गोलले हराउँदै प्रतियोगिताको अन्तिम १६ मा पुगेको हो ।
खेलका क्रममा बायर्न म्युनिख १० खेलाडीमा समेटिएको थियो । बायर्न म्युनिखको जितमा केनले चार मिनेटको बीचमा दुवै गोल गरेका थिए । केनले दुवै गोल खेलको दोस्रो हाफमा गरेका थिए ।
निर्धारित सयमको ५२औं मिनेटमा पहिलो गोल गरेका केनले त्यसको चार मिनेटपछि नै ५५औं मिनेटमा अर्को गोल थपेका थिए । उनले दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए ।
निर्धारित समयको ६३औं मिनेटमा बायर्न म्युनिख १० खेलाडीमा समेटिएको थियो । किम मिन–जे दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
इङ्लिस प्रिमियर लिग क्लब चेल्सी भने यसअघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।
अन्तिम एक चरणको खेल बाँकी रहँदा आर्सनलले सात खेलबाट २१ अंक बटुलेको छ । बायर्न म्युनिखले भने समान खेलबाट १८ अंक जोडेको छ ।
आर्सनलले सातवटै खेलमा जित हात पारेको छ भने बायर्न म्युनिखले ६ खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।