
आम निर्वाचन– २०८२ को मनोनयन दर्ता मंगलबार १० बजेदेखि शुरू भइसकेको थियो ।
नेपाली कांग्रेसका पूर्व सांसद प्रमोद यादव रुपन्देही– ४ बाट टिकट पाउने आशमा थिए । ११ बजे पार्टीले आशुतोष मिश्रलाई टिकट दिएको खबर आयो ।
टिकट नपाएपछि यादवले नेकपा एमालेको नेतृत्व पंक्तिसँग कुराकारी गरे । एमालेले अघि सारेकी सुनिता ठटेरको उम्मेदवारी खोसेर यादवलाई टिकट दिइयो ।

कांग्रेसबाट २०७४ मा निर्वाचित र २०७९ मा पराजित यादव पार्टीमा कुराकानी गरेको केही मिनेटमा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही– ४ मा उम्मेदवार बने ।
यस्तै, उम्मेदवारी दर्ताको दुई दिनअघि माघ ४ गतेसम्म पूर्वमन्त्री मोहम्मद इस्तियाक राई जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव थिए । सोही दिन एमाले प्रवेश गरी बाँके– २ बाट प्रतिनिधिसा सदस्यका लागि उम्मेदवार बने । उनको पहिचान मधेशकेन्द्रित नेताको थियो ।

तीन दशक लामो उनको राजनीतिक यात्रामा कहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), कहिले तत्कालीन मधेशी जनअधिकार फोरम हुँदै अहिले एमालेमा आइपुगेका हुन् । कुनै बेला एमालेको कटु आलोचक इस्तियाक पटक–पटक मन्त्री भएका नेता समेत हुन् ।
नेपाली कांग्रेसबाट कपिलवस्तु– ३ मा नेता वीरेन्द्र कानोडियाको नाम एकल सिफारिस भएको थियो । पार्टीको विशेष महाधिवेशनमा हस्ताक्षर फिर्ता लिएपछि उनले टिकट पाउने सम्भावना न्यून बन्न पुग्यो । त्यही विश्लेषण गरेर उनी एमाले प्रवेश गरे । काठमाडौं गएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माघ १ गते पार्टी प्रवेश र कपिलवस्तु– ३ बाट टिकट ल्याएर ६ गते एमालेबाट उम्मेदवार बने ।

२०७४ मा कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित उनी २०७९ मा सोही क्षेत्रबाट पराजित हुन पुगे । उखु उद्योगी कानोडियालाई किसानको रकम भुक्तानी नदिएको आरोप समेत लाग्दै आएको छ ।
उनीहरू मात्र होइन, लुम्बिनी प्रदेशमा दर्जनौं नेता पार्टी परिवर्तन गर्दै संघीय सांसदको उम्मेदवार बनेका छन् । आफ्नो कार्यकाल पूरा नगरी संघीय सांसद बन्ने भोक जागेपछि चुनावी दौडमा निस्किएका छन् ।
नेता मात्र होइन, प्रदेशसभाका सांसदहरू धमाधम राजीनामा दिएर उम्मेदवार बनिरहेका छन् । बर्दियाबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद धर्मबहादुर चौधरीले सांसद पद छाडेर उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका छन् ।
प्रदेशको सांसद पद त्यागेर कुलमान घिसिङ नेतृत्वको उनेपाको महासचिव समेत बनेका उनी यसअघि बर्दिया २ (२) का प्रदेशसभा सदस्य थिए । पार्टीले उम्मेदवार बनाएपछि प्रदेश छाडेको उनको भनाइ छ ।
तत्कालीन नेकपा माओवादी केन्द्र बाँके–१ (१) का लुम्बिनी प्रदेशसभा सदस्य रहेकी कृष्णा केसी (नमूना) ले पनि प्रदेशसभाबाट राजनीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बाँके– १ मा उम्मेदवारी दिएकी छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रुपन्देही–४ (१) का प्रदेशसभा सदस्य कन्हैया बनियाँले पनि प्रदेशसभाबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही–४ मा उम्मेदवारी दिएका छन् । उनी आफ्नो प्रदेशसभामा ५ वर्ष कार्यकाल पूरा नगरी बीचैमा छाडेर केन्द्रीय संसदीय यात्रा शुरू गर्ने बाटोमा लागेका हुन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल चुनावको सम्मुखमा पार्टी छाडेर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा रास्वपाबाट उम्मेवार बनेका छन् । गएको निर्वाचनमा उनलाई कांग्रेस उम्मेदवार विनोद चौधरीलाई हराउन भूमिका खेलको आरोपमा पार्टीले कारबाही गरेको थियो । कारबाही फुकुवा भए पनि उनी पार्टीमा नबसी रास्वपाबाट उम्मेदवार बनेका हुन् ।
यस्तै, २०४८ देखि नवलपरासीमा उम्मेदवार रहेका हृदयेश त्रिपाठी योपटक जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका छन् ।
आफ्नै नेतृत्वको जनता प्रगतिशील पार्टी छाडेर उनी अहिले जसपाबाट उम्मेदवार बनेका छन् । उनी नवलपरासीबाट कहिले तमलोपा, कहिले एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लड्दै आएका नेता हुन् ।
यस्तै, कपिलवस्तु–४ बाट चुनाव जित्दै आएका वृजेशकुमार गुप्ता गत निर्वाचनमा एमाले प्रवेश गरेर चुनावी प्रतिस्पर्धा गरे पनि पराजित भए । योपटक एमालेले टिकट दिने अवस्था नदेखेपछि उनी नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेर सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

यस्तै, पूर्व एसएसपी विक्रमसिंह थापा कांग्रेस छाडेर रास्वपाबाट कपिलवस्तु– २ मा उम्मेदवार बनेका छन् । थापा गत निर्वाचनमा कांग्रेसबाट प्रदेशसभामा झिनो मतान्तरले पराजित भएका थिए ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष ओमप्रकाश यादव (गुञ्जारी)ले जनमत पार्टीबाट रुपन्देही– ५ मा उम्मेदवारी दिएका छन् ।
रुपन्देही– १ बाट रास्वपा छाडेर प्रलोपाबाट डा. श्रीबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । पदका लागि अन्तिम समयमा दल बदलेर उम्मेदवारहरूले विचार, सिद्धान्त र निष्ठा कमजोर बनाउँदै लगेको देखिन्छ ।
पार्टीमा सक्रिय नेताहरू व्यक्तिगत स्वार्थ, टिकट नपाएको असन्तुष्टि र राजनीतिक समीकरण परिवर्तनको कारण देखाउँदै दल परिवर्तन गर्ने क्रम चलिरहेको छ । पार्टी परिवर्तन गरी उम्मेदवार बन्ने नेताहरूको प्रवृत्तिले राजनीतिक नैतिकता र दलगत अनुशासनमाथि प्रश्न उठाएको छ । यसले मतदातामा भ्रम सिर्जना गर्नुका साथै राजनीतिक स्थायित्वमा समेत असर पार्ने देखिन्छ ।
विश्लेषक लक्ष्मण श्रेष्ठले दलीय प्रतिबद्धतासहितको राजनीतिक संस्कार हराउँदै जाँदा यस्तो प्रवृत्ति देखिन थालेको बताए । ‘नेपालको राजनीति तरल अवस्थामा आइपुगेको छ,’ श्रेष्ठले भने, ‘यस्ता उम्मेदवार र नेताले जनताको आवश्यकता सम्बोधन गर्न सक्दैनन् । लोकप्रियतावादले जनता र नागरिकका माग तथा मुद्दा उठाउन एवं सम्बोधन गर्न सक्दैनन् ।’