१६ असार २०८३, मंगलबार

गोल्याण ग्रुपको शैक्षिकवृत्ति प्राप्त ३ बालबालिकाको अक्षरारम्भ

माघ १०, २०८२
काठमाडौं
गोल्याण ग्रुपको शैक्षिकवृत्ति प्राप्त ३ बालबालिकाको अक्षरारम्भ

जेनजी आन्दोलनका सहिदका सन्तानको लागि गोल्याण ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत शुक्रबार तीन जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । 

सरस्वती पूजाको अवसरमा काठमाडौं, पोखरा र सिराहा (लहान)मा उनीहरूले शैक्षिक यात्राको पहिलो पाइला शुरू गरेका हुन् ।

गोल्याण ग्रुपले असोज २४ मा सहिदका बालबालिकाका लागि कक्षा १२ सम्मको शैक्षित्रवृत्ति योजना घोषणा गरेको थियो । उक्त योजनामा ३४ जना बालबालिका आवद्ध छन् । 

तीमध्ये विद्यालय भर्ना हुने उमेर पुगेका तीन जनाले शुक्रबार अक्षरारम्भ गरेका हुन् । काठमाडौंको बानियाटारस्थित काठमाडौं यूरो स्कुलमा नेल्शन पराजुली, पोखराको रानीपौवास्थित अर्ली चाइल्डहुड एकाडेमीमा एनिक गुरुङ र सिराहाको लहानस्थित स्कूल अफ स्कलरमा विवांशी चौधरीले अक्षरारम्भ गरेका हुन् । 

काठमाडौं यूरो स्कूलमा आयोजित अक्षरारम्भ समारोहमा गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले बालबालिकाका अभिभावकले देशका लागि दिएको बलिदानीको सम्मान गर्न सामाजिक जिम्मेवारी ग्रहण गरेको बताए । 

‘हाम्रो सहयोग दया वा उपहार होइन, जिम्मेवारी हो । हामी बालबालिकाको शिक्षामा दीर्घकालीन रूपमा साथ दिन चाहन्छौं,’ उनले भने, ‘बालिबालिकाहरू पढेर डाक्टर, इन्जिनियर, शिक्षक, उद्यमी जे बन्न चाहन्छन, त्यो बन्न सकून् । उनीहरूको सफलताले परिवारमात्र होइन, देशलाई बलियो बनाउनेछ ।’ 

अक्षरारम्भ समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्याणले पराजुलीको एक वर्षको शैक्षिकवृत्ति रकम ३ लाख ७६ हजार रूपैयाँको चेक विद्यालयलाई प्रदान गरेका छन् । 

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड जनसम्पर्क प्रमुख ज्योति गैह्रेका अनुसार शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक बालबालिकाको मासिक ४० हजारको दरले अधिकतम वार्षिक ४ लाख ८० हजार रूपैयाँ खर्च व्यहोर्ने गरी सहिद परिवार, सम्बन्धित विद्यालय र गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता भएको छ । 

‘सम्झौताअनुसार बिल–भरपाइ पठाएका विद्यालयहरूलाई शुल्क भुक्तानी पनि भइसकेको छ,’ उनले भनिन्, ‘हामीले प्रतिवद्धताअनुसार शैक्षिकवृत्ति कार्यक्रमलाई कार्यान्वयन गरिरहेका छौं ।’

काठमाडौं यूरो स्कुलका अध्यक्ष प्रमोद पाण्डेले जेनजी आन्दोलनका सहिदका बालबालिकाहरूको शिक्षाको जिम्मेवारी बहन गरेर गोल्याण ग्रुपले‍ समाजप्रतिको आफ्नो दायित्व र जिम्मेवारी अझ फराकिलो बनाएको बताए । 

‘शिक्षा नै सबैभन्दा ठूलो धन हो भन्ने भनाइलाई गोल्याण ग्रुपको परोपकारी मनले आत्मसाथ गरेको छ,’ उनले भने, ‘सहिदहरूको सपना पूरा गर्न हामीले पनि आफ्नो दायित्व र जिम्मेवारी कुशलतापूर्वक बहन गर्नेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्