२६ असार २०८३, शुक्रबार

महिला टी–२० विश्वकप ग्लोबल छनोट : ​जिम्बाब्वेले नेपाललाई दियो १३० रनको लक्ष्य

माघ १०, २०८२
काठमाडौं
महिला टी–२० विश्वकप ग्लोबल छनोट : ​जिम्बाब्वेले नेपाललाई दियो १३० रनको लक्ष्य

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा शनिबार जिम्बाब्वेले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनाएको हो ।

समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा जिम्बाब्वेका लागि चौथो नम्बरमा क्रिज समाल्न आएकी केलिस एनधोलुले अविजित ५२ रनको योगदान गरिन् । उनले ३६ बलको सामना गरी आठ चौका हिकाइन् ।

ओपनर बिलभ्ड बिजाले पनि ३४ रन बनाइन् । उनले ३५ बलमा चार चौका पनि प्रहार गरिन् । मोडेस्टर मुपाचक्वाले १४ रन जोडिन् ।

जिम्बाब्वेले अतिरिक्त रूपमा पनि १० रन पायो । नेपाली टोलीका बलर रिया शर्माले दुई तथा कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुविना क्षेत्रीले एक/एक विकेट लिए ।

जिम्बाब्वेले आफ्नो चौथो र नेपाली टोलीले तेस्रो खेल खेलिरहेको हो । यी दुवै टोलीले हालसम्म एक खेल पनि जित्न सकेका छैनन् ।

जिम्बाब्वेको ‘सुपर–६’ चरणमा पुग्ने र विश्वकप खेल्ने सपना समाप्त भइसकेको छ । नेपाली टोलीको भने अगाडि बढ्ने सम्भावना कायमै छ ।

तर, नेपाली टोलीले प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्दै विश्वकप खेल्ने सपना जीवित राख्न यो खेलमा जिम्बाब्वेलाई हराउनै पर्ने हुन्छ । यो खेलमा पराजित भए नेपाली टोलीको विश्वकप खेल्ने सम्भावना समाप्त हुनेछ ।

समूह ‘बी’ तालिकामा तीन खेलबाट ६ अंक बटुलेको नेदरल्यान्ड्स पहिलो स्थानमा आसीन छ । नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर–६’ चरणमा पनि पुगिसकेको छ ।

तीन खेलबाट चार अंक जोडेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट चार अंक बटुलेको थाइल्यान्ड तेस्रो स्थानमा छ ।

दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको जिम्बाब्वेले भने अंक जोडन सकेका छैनन् । समूह ‘बी’ बाट तीनवटा टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्नेछन् ।

यो प्रतियोगिताबाट चारवटा टोली विश्वकपमा छनोट हुने प्रावधान छ । त्यसैले यो प्रतियोगिता सहभागी १० वटै टोलीका लागि निकै महत्त्वपूर्ण छ ।

salt training

कमेन्ट गर्नुहोस्