०९ असार २०८३, मंगलबार

६ करोड ७८ लाख अकूत सम्पत्ति आर्जन गरेको भन्दै भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरुद्ध मुद्दा

माघ १३, २०८२
काठमाडौं
६ करोड ७८ लाख अकूत सम्पत्ति आर्जन गरेको भन्दै भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) भरत कुमार आचार्य र उनको श्रीमतीविरुद्ध मुद्दा दायर गरेको छ ।

६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ ९४ पैसा अकूत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आचार्यले इन्जिनियर/राप तृतीय श्रेणी पदमा राष्ट्रसेवक भई सेवामा प्रवेश गरेको मिति २०४८ माघ ६ गतेदेखि उनले आयोगबाट सम्पत्ति विवरण फाराम बुझी लिएको मिति २०८० असार ६ गतेसम्मको अवधिमा उक्त रकमको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगका अनुसार आचार्य र उनको एकाघर परिवार/संगोलमा रहेका व्यक्तिहरूको आम्दानी तथा खर्चको विश्लेषण गर्दा आचार्यको पारिश्रमिक/तलब, दैनिक भ्रमण भत्ता, स्थानीय भत्ता, बैठक भत्ता लगायत अन्य भत्ता बापत बचत रकम, जग्गा बिक्रीबाट प्राप्त आय, उनकी श्रीमती लिली सुवेदीको पारिश्रमिक बचत, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त कर्जा बापतको रकम, घर बहालबाट प्राप्त आय, विभिन्न फर्म/कम्पनीमा गरेको लगानीबाट प्राप्त गरेको नाफा रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम, बैंक तथा वित्तीय संस्थामा रहेको खातामा भएको मौज्दातमा प्राप्त ब्याज आय र विभिन्न व्यक्तिगतबाट बैंकिङ माध्यमबाट प्राप्त रकमसमेत जाँच अवधिमा वैधानिक रूपमा कूल ३ करोड ५१ लाख ८ हजार २१० रूपैयाँ १८ पैसा आर्जन गरेको देखिन्छ ।

तर,  जाँच अवधिमा आचार्य तथा उनका एकाघर परिवारका सदस्यहरूको व्ययतर्फका शीर्षकमा जग्गा खरिद रकम, घर निर्माण, सवारी साधन खरिद बापतको रकम, उनी र श्रीमतीको जीवन बीमा शुल्क भुक्तानी रकम, छोरा छोरीको शैक्षिक खर्च बापतको रकम, बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा तथा ब्याज बातपको रकम, विभिन्न फर्म/कम्पनीमा लगानी बापतको रकम, विभिन्न व्यक्तिलाई बैंकिङ माध्यमबाट भुक्तानी गरेको रकम र आफ्नो तथा एकाघर परिवारका सदस्यको नाममा रहेको बैंक खातामा भएको मौज्दातसमेत गरी कूल १० करोड २९ लाख ९९ हजार २२६ रूपैयाँ र १२ पैसा व्यय देखिएको आयोगले जनाएको छ ।

सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्ति खरिद गरेको देखिँदा आचार्य र उनको श्रीमतीसुवेदी उपर आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ र ९४ पैसा बिगो कायम गरिएको छ भने कैद र जरिवाना गरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुनसमेत मागदाबी लिइएको छ ।

यस्तै, उनकी श्रीमती सुवेदीको हकमा खरिद गरिएका सम्पत्तिहरू प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्