२२ जेठ २०८३, शुक्रबार

एटीआर-७२ जहाजको उडान नियमसम्मत, यस्तो छ व्यावसायिक हवाई उडानको प्रक्रिया

माघ १३, २०८२
काठमाडौं
एटीआर-७२ जहाजको उडान नियमसम्मत, यस्तो छ व्यावसायिक हवाई उडानको प्रक्रिया

नेपालमा व्यावसायिक हवाई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिँदै आएको छ । जुनसुकै जहाज कम्पनीले नेपालमा हवाई उडानका लागि प्राधिकरणबाट परीक्षण उडान अनुमति पाएपछि मात्रै नियमित उडान गर्न पाउँछन् ।

तर, वायुसेवा कम्पनीले कसरी परीक्षण अनुमति लिएर नियमित उडान शुरू गर्छन् त ? यसको जवाफ हो- अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)को मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्ड पूरा गरेर पाइन्छ ।

सबैभन्दा पहिले वायुसेवा कम्पनीले जुन विमानस्थलका लागि हवाई उडान गर्ने हो त्यसका लागि नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ को व्यवस्था अनुसार प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ ।

जहाज प्राविधिक रूपमा पनि स्वस्थ भएको रिपोर्टसँगै चालक दलसम्मको दक्षता र नियमित तालिम लिनेसम्मका मापदण्ड पूरा गरेको हुनुपर्छ । प्राविधिकतर्फ जहाजको भार वहन क्षमता, इन्जिनको क्षमता टेस्ट, लगायतका विषय पर्छन् । यी सबै विषयको विवरणसहित प्राधिकरणमा वायु सेवा कम्पनीले निवेदन दिनुपर्ने हुन्छ ।

प्राधिकरणले निवेदकले पेस गरेको योग्यता प्रमाणपत्र, व्यक्तिगत इजाजत पत्र, रेटिङ तथा प्रमाणपत्र र मापदण्ड अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएको/नभएको हेरेर परीक्षण उडानका लागि अनुमति दिन्छ ।

परीक्षण उडानमा यात्रु बस्न पाउँदैनन् । परीक्षण उडानमा पाइलट, एयरपोर्टका इन्जिनियर, उडान अनुमति दिने व्यक्ति, प्राधिकरणका पाइलट र जहाज कम्पनीका पाइलट लगायत ८/१० जनाको टिम हुन्छ । परीक्षण उडानपछि उक्त परीक्षण उडानको रिपोर्ट आउँछ  । रिपोर्ट नियमित उडान गर्दा के कस्ता समस्या आउन सक्छन् ? लगायतका सम्भावनासहितको आउँछ । 

रिपोर्ट अनुसार सम्बन्धित वायुसेवा कम्पनी र एयरपोर्टले लागू गर्नुपर्ने कुरा लागू गरेर वायु सेवा कम्पनीले गर्नुपर्ने र विमानस्थलले गर्नुपर्ने विषयसहित प्राधिकरणमा नियमित उडानका लागि निवेदन दिन्छ ।  उक्त निवेदनको आधारमा प्राधिकरणले भाडादर तोकेर उडानको अनुमति दिन्छ । प्राधिकरणको अनुमतिपछि मात्रै उक्त स्थानमा नियमित उडान गर्न मिल्छ ।

यदि सानो जहाज उडान भइरहेको विमानस्थलमा ठूलो जहाजका लागि उडान अनुमति लिनुभन्दा पहिले नै एरोनटिकल डाटा लिइएको हुन्छ, जसलाई जियोनेटिक डाटा भनिन्छ । विमानस्थलको वरिपरि कस्तो भूगोल छ ? के कस्ता अवरोध हुन सक्छन् ? हावा कसरी र कहाँबाट चल्छ ? लगायतका सम्पूर्ण विवरण पहिले नै यसमा समावेश गरिएको हुन्छ । यो तथ्यांकलाई प्राधिकरणले आधिकारिकता प्रदान गरिसकेपछि मात्रै वायुसेवा कम्पनीले उडानका लागि प्रक्रिया अगाडि बढाउन पाउँछन् ।

नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले यो सबै प्रक्रिया पूरा गरेर आफ्नो एटीआर–७२ बाट काठमाडौं–भरपुर नियमित उडान भरिरहेको छ । 

यसअघि बुद्धले यो गन्तव्यमा बीच–१९०० र टीआर–४२ बाट उडान भइरहेको थियो । तर, बुद्धले बीच–१९०० लाई बिक्री गरिसकेको छ भने टीआर–४२ जहाजको उडान साइकल पूरा भइसकेको छ । साइकल पूरा भएसँगै टीआर–४२ बेटबाट अलग गरिएको छ । र अहिले प्रधिकरणको नियम अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर बुद्ध एयरले भरतपुरमा एटीआर–७२ मार्फत उडान भरिरहेको छ ।

नेपालमा उडान अनुमति दिइने हवाई उडानहरू

नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ को नियम ५७ मा हवाई उडान सम्बन्धी व्यवस्था गरेको छ । यसका साथै मनोरञ्जनात्मक उड्डयन नियमावली २०६९ मा पनि हवाई उडान सम्बन्धी व्यवस्था गरिएको छ ।

विशेषगरी नेपालमा अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान गरी दुई किसिमले हवाई उडान अनुमति दिइने गरिन्छ । सामान्ययता सेड्युल अर्थात् नियमित र चार्टर उडानका लागि अनुमति दिइने गरिन्छ ।

प्राधिकरणका अनुसार नियमित उडानका लागि ४/४ महिना र ६/६ महिनाको अनुमति दिइने गरिन्छ । जहाँ डोमेस्टिक अर्थात् राष्ट्रिय उडानका लागि ४/४ महिनाको अनुमति दिइन्छ भने अन्तर्राष्ट्रिय उडानका लागि ६/६ महिनाको अनुमति दिइने गरिन्छ ।

तर, चार्टर उडानमा भने प्रत्येक उडान अनुसार अनुमति लिनुपर्ने व्यवस्था छ । यसमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान हुन्छन् ।

यसका साथै पटके अर्थात्  विशेष उडान अनुमति पनि दिइँदै आइएको छ । यो विशेष अवस्थामा दिइने उडान अनुमति हो । यसको उडान अनुमति १५ दिनको हुन्छ । विदेशी नागरिकले गैरव्यावसायिक रूपमा प्याराग्लाइडिङ तथा मनोरञ्जनात्मक उड्डयनका लागि यस्तो अनुमति लिने गर्दछन् । नेपालमा हाल यसरी तीन प्रकारका उडान अनुमति दिइँदै आइरहेको छ ।

यी सबै उडानका लागि उडानको योग्यता प्रमाणपत्र, व्यक्तिगत इजाजत पत्र, रेटिङ तथा प्रमाणपत्र आवश्यक हुन्छ । प्राधिकरणले मापदण्ड अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मात्रै उडानको अनुमति दिने गर्दछ । सानो कुनै पनि कुरा नमिलेमा उडान अनुमति दिइँदैन ।

सबैभन्दा पहिले कुनै पनि जहाज प्राविधिक रूपमा पनि स्वस्थ हुनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्