२७ जेठ २०८३, बुधबार

‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

माघ १४, २०८२
काठमाडौं
‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

नेपाली चलचित्र ‘रमिताको पिरती’ को ‘ब्रेकअप स्टोरी’ मा तयार भएको निर्देशक सुदिप्ताले बताएकी छन् ।

चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएपछि आज नेपाल चलचित्र क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक सुदिप्ताले चलचित्रमा रमिता नामक पात्रको ‘ब्रेकअप’ पछिको कथालाई देखाइएको बताएकी हुन् ।

उनले भनिन्, “नेपालमा यस्तो विषयमा चलचित्र बनेको छैन जस्तो लाग्छ । यो एउटा युवतीले प्रेममा ‘ब्रेकअप’ भएपछि के गर्छे वा साँचो प्रेम खोज्दा आउने परिस्थितिमा आधारित रहेर तयार गरिएको चलचित्र हो । मलाई यस्तै कथामा चलचित्र तयार गर्नु थियो, यसको कथासँग अहिलेको नव पुस्ताले जोडिएको महसुस गर्छन् जस्तो लाग्छ ।”

उनले चलचित्रको कथा ‘रमिता’ नामक पात्रकै वरिपरि घुम्ने बताइन् । चलचित्रमा ‘रमिता’ को भूमिका अभिनेत्री आना शर्माले निर्वाह गरेकी छन् । यस चलचित्रमा उनले अभिनयसँगै कार्यकारी निर्मात्रीको रूपमा पनि काम गरेकी छन् ।

“मैले महिला केन्द्रित पहिलो चलचित्रमा काम गर्दैछु । यसको कथासँग अपनत्व महसुस गरेकीले नै कार्यकारी निर्मात्रीको रूपमा जोडिएकी हुँ । हामीले चलचित्रमा नयाँ कथालाई स्थान दिने ऊर्जावान समूहसँग मिलेर काम गरेमा मात्र नयाँ विषय र चलचित्रकर्मीको आगमन हुन्छ । यो चलचित्र नियमितभन्दा फरक भन्ने तथ्यलाई यसको सार्वजनिक प्रचार सामग्रीले प्रस्ट्याउँछ,” अभिनेत्री शर्माले भनिन् ।

यसै चलचित्रमार्फत गायनमा स्थापित भएका गायक समीर श्रेष्ठ अभिनेताको रूपमा प्रस्तुत भएका छन् । प्रायः आफ्नै गीतको श्रव्यदृश्य (म्युजिक भिडिओ) मा देखिने गायक श्रेष्ठले यसपटक अभिनेताको रूपमा नयाँ परिचय थपेका छन् ।

उनले भने, “मैले अभिनय गर्ने सोच बनाएको थिएँ । तर, सही समय र पटकथा पाउन सकेको थिइनँ । मलाई अभिनेता बन्ने प्रस्ताव आउँदा पहिलो कुरा टोली राम्रो लाग्यो अनि विषयवस्तु सबै कुरा भनेजस्तो भएपछि किन पर्खिने भनेर अभिनय यात्रा प्रारम्भ गरेको हुँ ।”

श्रेष्ठले आगामी समयमा गायन र अभिनयलाई सँगै अगाडि बढाउने बताए । उक्त चलचित्रमा धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लामो लगायतका कलाकारले अभिनय गरेका छन् ।

उक्त चलचित्रको पटकथा निर्देशक सुदिप्ताले नै तयार पारेकी हुन् भने शिशिर विशंखेले छायाङ्कन, सुनिल सिवाकोटीले सम्पादन र कृतिका बरालले नृत्य निर्देशन गरेका छन् । उक्त चलचित्र आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्