
संघीय एजेन्टहरूको गोली प्रहारबाट दुई अमेरिकी नागरिकको मृत्यु भएपछि मिनेसोटामा तनाव चुलिएको छ। तनावकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारले राज्यमा आफ्नो सक्रियतालाई केही हदसम्म कम गर्ने घोषणा गरेका छन्। तर, डेमोक्र्याटिक सांसद इल्हान ओमारमाथि एक सार्वजनिक कार्यक्रममै आक्रमण हुन पुगेको छ । यसले अमेरिकामा सुरक्षा चिन्ता र राजनीतिक आक्रोश झन् बढेको छ।
मिनेयापोलिसमा शनिबार ३७ वर्षीय एलेक्स प्रेटीको बोर्डर पेट्रोल एजेन्टहरूद्वारा गोली हानी हत्या गरिएको थियो। त्यसको केही हप्ता अघि मात्रै अर्का अमेरिकी नागरिक रेनी गुडको पनि अध्यागमन अधिकारीको गोली लागेर मृत्यु भएको थियो। यी घटनाहरूलाई भयानक संज्ञा दिँदै राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा आफ्नो प्रशासनले अब केही नरम नीति अपनाउने संकेत दिएका छन्।
यद्यपि उनले मिनेसोटामा स्थलगत अपरेशनको नेतृत्व गर्नका लागि आफ्नो 'बोर्डर जार' टोम होमानलाई पठाउने निर्णय समेत गरेका छन्।
तनावपूर्ण वातावरणका बीच उत्तर मिनेयापोलिसमा आयोजित एक टाउन हल कार्यक्रममा सांसद इल्हान ओमारमाथि एक अज्ञात व्यक्तिले आक्रमण गरेका हुन्। ओमारले सम्बोधन गरिरहेका बेला एक व्यक्तिले उनीतिर दौडिएर कुनै अज्ञात तरल पदार्थ छ्यापेका थिए।
सुरक्षाकर्मीहरूले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएर बाहिर निकालेका थिए भने ओमारले विचलित नभई कार्यक्रम जारी राखेकी थिइन्। बीबीसीका अनुसार उनले आफूहरू नडराउने र 'मिनेसोटा स्ट्रङ्ग' रहेको सन्देश दिएकी छन्।
यसैबीच, एलेक्स प्रेटीको हत्याको विषयमा भन्सार तथा सीमा सुरक्षाको एक प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ । जसले सरकारी अधिकारीहरूको पुरानो दाबीलाई चुनौती दिएको छ। सुरुमा गृह सुरक्षा सचिव क्रिस्टी नोम र अन्य अधिकारीहरूले प्रेटीले बन्दुक लिएर एजेन्टहरूमाथि आक्रमण गर्न खोजेको बताएका थिए।
तर, नयाँ रिपोर्टमा प्रेटीले बन्दुक निकाल्न खोजेको वा एजेन्टहरूतिर सोझ्याएको कुनै उल्लेख छैन। रिपोर्टका अनुसार एजेन्टहरूले 'उसँग बन्दुक छ' भन्दै कराएको पाँच सेकेन्डभित्रै गोली चलाएका थिए।
यस घटनापछि गृह सुरक्षा सचिव क्रिस्टी नोमको राजीनामा माग्नेहरूको संख्या बढ्दै गएको छ। डेमोक्र्याट नेता हाकिम जेफ्रीजले राष्ट्रपतिले नोमलाई पदबाट नहटाए आफूले महाभियोगको प्रक्रिया सुरु गर्ने चेतावनी दिएका छन्। रिपब्लिकन पार्टीभित्रैबाट पनि नोमको आलोचना सुरु भएको छ।
अलास्काकी सिनेटर लिसा मुर्कोव्स्की र नर्थ क्यारोलिनाका सिनेटर थम टिलिसले नोमको नेतृत्वमाथि विश्वास नरहेको भन्दै उनको राजीनामा माग गरेका छन्। नोमले मृतक प्रेटीलाई 'घरेलु आतंकवादी' भनेकोमा समेत चर्को विरोध भइरहेको छ।
कानुनी मोर्चामा पनि संघीय सरकारले धक्का बेहोर्नु परेको छ। मिनेसोटाका एक मुख्य न्यायाधीशले अदालतको आदेश अटेर गरेको भन्दै अध्यागमन एजेन्सीका निर्देशकलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि हिरासतमा रहेका एक इक्वेडोरका नागरिकलाई रिहा गरिएको छ।
मिनेसोटामा विरोध प्रदर्शनहरू जारी रहँदा जनमत भने विभाजित देखिएको छ। केही बासिन्दाहरूले संघीय हस्तक्षेपको कडा विरोध गरिरहेका छन् भने कतिपयले गैरकानुनी आप्रवासी हटाउने अभियानको समर्थन गरेका छन्। यस्तो अस्थिरताका बीच राष्ट्रपति ट्रम्पले आयोवामा चुनावी शैलीको भाषण दिए पनि मिनेसोटाको घटनाबारे त्यहाँ कुनै विशेष टिप्पणी गरेनन्।
एरिजोनामा पनि बोर्डर पेट्रोल मुछिएको अर्को गोलीकाण्ड भएपछि अमेरिकामा अध्यागमन प्रवर्तन र सुरक्षा बलको प्रयोगबारे राष्ट्रिय बहस चर्किएको समाचारमा उल्लेख छ।
बीबीसीबाट