
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ पनि ‘हेभी वेट’ प्रतिस्पर्धाका कारण चर्चामा छ ।
विशेष गरी नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको उम्मेदवारीले यो क्षेत्रलाई चर्चाको केन्द्रमा राखेको हो ।
कांग्रेसको आन्तरिक समीकरण र विशेष महाधिवेशनपछिको अवस्थामा डा. कोइराला अहिले पार्टीभित्र सिनियर नेताका रूपमा चुनावी मैदानमा छन् ।
शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत अन्य शीर्ष नेताहरू यसपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा नरहेको अवस्थामा कोइरालाको उपस्थिति संसद् र नीति निर्माण तहमा अनुभवी नेतृत्वको सुनिश्चितताका लागि महत्त्वपूर्ण मानिएको यस क्षेत्रका मतदाताहरू बताउँछन् ।
पछिल्लो समय नयाँ पुस्ता (जेन–जी)ले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण र राज्यका निकायहरूको जवाफदेहिताको मुद्दालाई डा. कोइरालाले वर्षौंदेखि आफ्नो राजनीतिक मार्गचित्रका रूपमा उठाउँदै आएका छन् ।
युवाले उठाएका विषय नेता कोइरालाले पहिलेदेखि नै अगाडि बढाउँदै आएको कांग्रेस विराटनगरका सभापति दीपक चापागाईं बताउँछन् ।
‘अहिलेको युवा पुस्ताले सुशासनको मुद्दालाई आन्दोलनकै रूपमा अगाडि बढाउनुभन्दा धेरै अघिदेखि नै शेखर दाइले यो विषयलाई प्रखर रूपमा उठाइरहनुभएको थियो । उहाँको राजनीति सधैँ विधिको शासन र पारदर्शिताको वरिपरि घुमेको छ । त्यसैले पनि सचेत युवाहरूले उहाँलाई आफ्नो आदर्शको रूपमा स्वीकार गर्छन्,’ चापागाईंले भने ।

मनोनयन दर्तापछि डा. कोइरालाले आफ्नो चुनावी अभियानलाई निकै व्यवस्थित र रणनीतिक ढंगले अगाडि बढाएका छन् । उनले समाजका प्रबुद्ध र बौद्धिक वर्गलाई समेत अभियानमा जोड्ने प्रयास गरिरहेका छन् ।
कोइरालाको सचिवालयका अनुसार उनले हालसम्म विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र सुन्दरहरैँचा नगरपालिकाका वडा तहका पदाधिकारीहरूसँग छुट्टा–छुट्टै बैठक गरिसकेका छन् ।
यसका साथै प्राध्यापक, चिकित्सक, कानून व्यवसायी जस्ता बौद्धिक समुदायसँगको अन्तरक्रिया र कुनै पनि दलमा आबद्ध नभएका लोकतन्त्रवादी युवा विद्यार्थीहरूसँगको छलफललाई उनले तीव्रता दिएका छन् ।
पछिल्लो समय राजनीतिमा देखिएको ‘स्वतन्त्र’को लहर र असन्तुष्टिको स्वरलाई चिर्न कोइरालाले युवा पुस्तालाई विश्वासमा लिने विशेष रणनीति अपनाएका देखिन्छन् ।
यो क्षेत्रमा डा. कोइराला र नेकपा एमालेका विनोद ढकालबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । ठीक १७ वर्षअघि २०६४ सालको संविधान सभा निर्वाचनमा पनि यी दुई नेताबीच यही भूगोलमा प्रतिस्पर्धा भएको थियो, जसमा कोइराला विजयी भएका थिए । १७ वर्षपछि पुन: एमालेले ढकाललाई कोइरालाविरुद्ध मैदानमा उतारेको छ ।
२०६४ यता भएका पाँचवटा निर्वाचनमा लगातार उम्मेदवार बनेका कोइरालाले तीनपटक जित हासिल गरी यस क्षेत्रमा आफ्नो बलियो पकड बनाइसकेका छन् ।
२०७९ को निर्वाचनमा उनले एमाले नेता लालबाबु पण्डितलाई १२ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।
यसपटक एमालेले पूर्वमन्त्री पण्डितलाई निर्वाचन कमान्डर तोकेर विनोद ढकालको पक्षमा माहोल बनाउन टोलस्तर सम्म परिचालन कमिटीहरू गठन गरिरहेको छ ।

एमालेका जिल्ला उपाध्यक्ष सागर थापाका अनुसार पार्टीले आफ्नो सांगठनिक सञ्जाललाई पूर्णरूपमा सक्रिय बनाएको छ ।
यता नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्रकुमार रायले पनि १ हजार १ सदस्यीय विशाल परिचालन कमिटी बनाएर विशेष गरी मजदुर र किसानहरूको मत तान्ने प्रयास गरिरहेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य नयाँ अनुहारका रूपमा युवा मतदाताहरूलाई आकर्षित गर्ने एजेन्डासहित घरदैलोमा व्यस्त छिन् । उनी यो क्षेत्रका लागि परिचित अनुहार होइनन् ।
बालेन शाह समूहबाट टिकट पाएकी आचार्य युवा पुस्ताको भोट तान्ने रणनीतिमा छिन् । रास्वपाप्रतिको लहर देशैभरि रहेकाले त्यसको प्रभाव यो क्षेत्रमा पनि पर्ने नेताहरू बताउँछन् ।

मोरङ क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाका ७ वटा वडा, बुढीगंगा गाउँपालिकाका ७ वटा वडा र सुन्दरहरैँचा नगरपालिकाका ६ वटा वडा गरी कुल २० वटा वडा पर्दछन् ।
१ लाख ३७ हजार ७३२ मतदाता रहेको यस क्षेत्रमा कांग्रेसको पुरानो विरासत जोगाउने दाउमा कोइराला छन् भने एमाले र नयाँ शक्तिहरू आफ्नो प्रभाव विस्तार गर्ने दाउमा देखिन्छन् ।