
हिन्दूपुराणमाहरूमा उल्लेख भएका कतिपय प्रसङ्ग बाइबल, कुरान तथा युनानी र अमेरिकी कथाहरूमा समेत भेटिन्छ । यसबाहेक इण्डोनेशिया, जावा, मलया, श्रीलङ्का तथा बेबिलोन आदि क्षेत्रका लोकगीत तथा लोकजीवनमा समेत गुनगुन एवं ध्वन्यात्मक सङ्केत पाउन सकिन्छ । मात्र फरक कतिपय प्रसङ्ग हिन्दूराणको जस्ताकोतस्तै देखिएका छन् भने कतिपय प्रसङ्गमा साङ्केतिक उल्लेख हुने गरेको पाइन्छ । उदाहरणका लागि यहाँ यस्तै एउटा जबरदस्त घटना प्रस्तुत गर्न चाहन्छु ।
हिन्दूपुराणका अनुसार चाक्षुषमन्वन्तरको अन्त्यमा एउटा भयानक जलप्रलय भएको थियो । त्यतिबेला सातदिन सातारातसम्म यस्तो आरीघोप्टे पानी परेको थियो कि यसैका कारण समुद्रको जलस्तर बढेर पृथिवीका तत्कालीन सबै मानवबस्तीलाई डुबाएको थियो । त्यतिबेला भगवान्ले मत्स्यअवतार लिएर त्यस मन्वन्तरका राजा सत्यव्रत तथा सप्तर्षि र सप्तधान्यादिको बिऊबिजनलाई डुङ्गामा राखेर बचाएका थिए । (भागवत ८।२४।३४) जब प्रलयको जल सुक्यो त्यसपछि उनै सत्यव्रत नै सूर्यपुत्र सातौँ वैवस्वत मनुका नामले चिनिएका थिए भने पछि उनैबाट वर्तमान मन्वन्तरको सृष्टिप्रक्रिया अघि बढेको थियो । (भागवत ९।१।११–१२)
यस्तै घटनाको उल्लेख बाइबलमा पनि भएको पाइन्छ । बाइबलको उत्पत्तिको पुस्तकमा उल्लेख भएअनुसार परमेश्वरले पृथिवीमा पाप बढ्दै गएपछि ४० दिनसम्म निरन्तर मुसलधारे पानी वर्षाएर एउटा भयङ्कर जल प्रलय गराएका थिए । नूहको प्रलय भन्ने गरिएको यस प्रलयको बेला उनले आदमका सन्तान तथा अब्राहमका पूर्वज नोआ तथा उनका पत्नी, सन्तान र केही पशुपक्षी एवं बिऊबिजनलाई विशाल जहाजमा राखेर बचाएका थिए । नोआलाई सो जहाज बनाउन करिब ४०/५० वर्ष लागेको थियो । तीन तले सो जहाजको लम्बाइ १४० मिटर थियो भने चौडाइ २३ मिटर र उचाइ १४ मिटर थियो । (उत्पत्ति ६:१५)
जब पानीको कारण समुद्रको पानी बढदै गयो तब जहाज पनि माथिमाथि उत्रँदै गयो र पानी परुञ्जेल समुद्रमाथि तैरिरह्यो । १५० दिनसम्म पृथिवीलाई डुबाएको प्रलयको पानी त्यतिबेला अग्लाअग्ला पर्वतहरूभन्दा सात मिटरमाथिसम्म पुगेको थियो । (उत्पत्ति ७: २०) जब पानी पर्न बन्द भयो तब जहाज आरारातका पहाडहरू (हालको टर्की) मा अडियो । (उत्पत्ति ८: ४) पानी पर्न बन्द हुनासाथ परमेश्वरले पानी सुकाउन तीव्र वायु चलाएका थिए ।
वायुका कारण बिस्तारै पानी सुक्दै गएकाले क्रमश: पर्वतका टाकुराहरू देखिँदै गए र पूरा पानी सुकेपछि उनीहरूकै कारण त्यसपछिका सृष्टि प्रक्रिया अघि बढेको थियो । (उत्पत्ति ९: ७)
यस्तै घटनाको उल्लेख कुरआनमा पनि भएको पाइन्छ । कुरान मजिदमा उल्लेख भएअनुसार अल्लाहको आदेशानुसार नूहले आफैँले बनाएको डुङ्गामा राखेर प्रलयको बेला परिवारलाई बचाएका थिए । कुरआन.मजिद, ११ औँ सूरह हुद (अध्याय) नेपाली अनुवाद, छैटौँ संस्करण, २०७८, इस्लामी सङ्घ नेपाल)
यसको उल्लेख युनानी तथा बोबिलोन र अमेरिकी लोककथाहरूमा पनि पाइन्छ । यसबाहेक इण्डोनेशिया, जावा, मलेशिया, श्रीलङ्का, बेबिलोन आदि क्षेत्रमा समेत यस कथालाई लोकपरम्परा तथा लोकगीतआदिले अहिलेसम्म पनि जीवित राखेका थिए भन्ने कुरा माथि नै आइसकेको छ । (अनिरुद्ध जोशी शतायु, इन्टरनेट)
कतिपय विद्वान्ले बाइबलको हजरत नूह र हिन्दूपुराणको मनु एउटै व्यक्ति रहेको अनुमान गरेका छन् । (अनिरुद्ध जोशी शतायु, राजा मनु और नूह हिन्दी वेवदुनिया. कम, सन् २०२६) यस्तै कुराको उल्लेख २०२४ अगष्ट ५ मा एकईश्वर . इनमा पकाशित क्या मनु ही नूह थे ? शीर्षकको लेखमा पनि भएको पाइन्छ । हिन्दूपुराणका मनु भनेका मानवका पुर्खा हु्न् भने बाइबलको नूह भनेका यदूदी, ईसाई र इस्लामका प्यागम्बर हुन तर समयको बारेमा भने व्यापक मतभेद रहेको देखिन्छ । हिन्दुपुराणदिमा यसलाई यति बढी बढाईचढाई प्रस्तुत गरिएको छ कि व्यासवचन मानेर श्रद्धा गर्न सकिए पनि विश्वास गर्न गाह्रो पर्छ । किनभने हिन्दुपुराणका अनुसार हाल वर्तमान मन्वन्तरको २८ औँ चतुर्युगीको समय चल्दैछ । यसको अर्थ हो २७ वटासम्म चतुर्युगीको समय यसअघि व्यतीत भइसकेको छ ।
स्मरणीय के छ भने एक चतुर्युगीमा ४३ लाख २० हजार वर्षको हुने गर्दछ । त्यस्ता २७ चतुर्युगी बितिसकेकाले कति वर्ष बितिसकेका होलान् अनुमानै गर्न सकिन्न । वर्तमान चतुयुर्गीकै कुरा गर्ने हो भने पनि हाल कलि युगको समय चलिरहेकाले यस अघि व्यतीत भएका सत्य, त्रेता, द्वापर युगका वर्षमानको कुरा त बाँकी नै छ । तथापि एच बी राय आदि केही विद्वान्ले ई. पू. ३२१२ देखि २७९८ को बीचमा भएको अनुृमान गरेका छन् ।
बाइबलकै कुरा गर्ने हो भने पनि सो प्रलय कहिले भएको थियो भन्नेबारे यसै भन्न सकिन्न । बाइबलमा नोआको उमेर छसय वर्ष दुई महिना सत्र दिन पुगेको दिन सो प्रशलय शुरू भएको उल्लेखबाहेक केही भेटिन्न । (उत्पत्ति ७: ११) कतिपय विद्वान्ले ई. पू.३४०२ देखि ई. पू. २४६२ को बीचमा भएको अनुमान गरेका छन् भने आचार्य चतुरसेनले ई. पू.३२ सय वर्ष अघि भएको उल्लेख गरेका छन् ।
स्थानका बारेमा पनि त्यस्तै मतभेद पाइन्छ । हिन्दूपुराणादिमा सो प्रलय द्रविणदेशमा भएको उल्लेख पाइन्छ । (भागवत ८।२४।१३) द्रविण देश भन्नाले द्रविणभाषा बोल्नेहरूको देश भन्ने अनुमान गर्न सकिए पनि द्रविण देश आफैँमा कहाँ थियो भन्नेबारे यसै भन्न सकिन्न । हो, दक्षिणभारतमा द्रविण भाषा बोल्ने जनसमुदायको बाहुल्य रहेकाले त्यतैतिर हो कि भन्ने अनुमानसम्म चाहिँ लगाउन सकिन्छ तर, यस भाषालाई ई.पू. तेस्रो वा चौथो शताब्दीतिर ईरानी पठारतिरबाट आएका जातिले ल्याएको पाइएकाले त्यतैरित पो हो कि भन्नुपर्ने अवस्था छ । त्यस्तै, आचार्य चतुरसेनले सो प्रलय पर्शियन क्षेत्रमा भएको उल्लेख गरेका छन् भने बाइबलको भनाइअनुसार पनि त्यतै भएको बुझिन्छ । किनभने प्रलयको बेला समुद्रमाथि तैरिरहेको जहाज वर्षा बन्द हुँदा जुन स्थानमा पुगेर रोकिएको थियो सो स्थान हालको भूगोलअनुसार टर्कीमा पर्दछ ।
आखिर जहाँ भएको भए पनि र जहिले भएको भए पनि पछिल्लो जलप्रलयको बारेमा भने सबैले उल्लेख गरेका छन् र सबैको भनाइमा केही न केही समानता पाउन सकिन्छ । त्यसैले त्यतिबेला पात्र एउटै रहेको अनुमान लगाउन सकिने स्थान भने भेटिन्छ ।