१९ असार २०८३, शुक्रबार

एपस्टिनकी दोस्रो पीडितको खुलासा- राजकुमारसँग यौन सम्पर्कका लागि बेलायत पठाइएको थियो

माघ १८, २०८२
काठमाडौं
एपस्टिनकी दोस्रो पीडितको खुलासा- राजकुमारसँग यौन सम्पर्कका लागि बेलायत पठाइएको थियो

जेफ्री एपस्टिनकी दोस्रो एक पीडित महिलाले आफूलाई बेलायत पठाएर राजकुमार एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग यौन सम्पर्क गराइएको दाबी गरेकी छन् । 

ती महिलाका वकिलले बीबीसीलाई दिएको जानकारीअनुसार उक्त घटना सन् २०१० मा भएको हो ।

ती महिलाका अनुसार उक्त यौन सम्पर्क एन्ड्र्युको निवास रोयल लजमा भएको थियो । ती महिला बेलायती नागरिक होइनन् र घटनाका बेला उनी २० वर्षको उमेर समूहमा थिइन् ।

ती महिलाका वकिल, अमेरिकी कानूनी फर्म एडवर्ड्स हेन्डरसनका ब्राड एडवर्ड्सले एन्ड्र्युसँग रात बिताएपछि उनलाई बकिङ्घम दरबारको भ्रमण गराइएको र चिया पनि खुवाइएको दाबी गरे ।

एडवर्ड्सले भने, ‘हामी कम्तीमा पनि एक महिलाको कुरा गरिरहेका छौं, जसलाई जेफ्री एपस्टिनले प्रिन्स एन्ड्र्युसँग पठाएका थिए । र उनले प्रिन्स एन्ड्र्युसँग रात बिताएपछि बकिङ्घम दरबारको भ्रमण पनि गरिन् ।’

बीबीसी न्युजले यसबारे एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग प्रतिक्रिया मागेको भए पनि अहिलेसम्म उनले यी आरोपहरूबारे कुनै जवाफ दिएका छैनन् ।

बकिङ्घम दरबारले सामान्यतया भ्रमणमा जाने पाहुनाहरूको नाम दर्ता गर्ने गरे पनि ती महिलाको पहिचान सार्वजनिक नगरी उनको भ्रमण पुष्टि गर्न बीबीसीका लागि सम्भव नभएको जनाएको छ ।

एन्ड्र्युको निवासमा रात बिताएको दाबी गर्ने यो घटना कुनै एपस्टिन पीडितले शाही निवासमै यौन सम्पर्क भएको आरोप लगाएको पहिलो घटना भएको वकिल एडवर्ड्सले बताएका छन् ।

एडवर्ड्स विश्वभरका २०० भन्दा बढी एपस्टिन पीडितहरूको प्रतिनिधित्व गर्छन् । उनी भर्जिनिया जिउफ्रेका पनि वकिल थिए । जिउफ्रेले सन् २००१ मा आफू १७ वर्षको हुँदा एन्ड्र्युसँग यौन सम्पर्कका लागि लन्डन ल्याइएको दाबी गरेकी थिइन् ।

जिउफ्रेका अनुसार सन् २००१ देखि २००२ बीच एन्ड्र्युले उनलाई थप दुईपटक यौन सम्पर्क गर्न बाध्य पारेका थिए- एकपटक न्युयोर्कमा र अर्को पटक एपस्टिनको निजी क्यारेबियन टापुमा ।

जेफ्री एपस्टिन सन् २००८ मा फ्लोरिडामा १४ वर्षीया बालिकासँग यौन सम्पर्कका लागि प्रलोभन दिएको अभियोगमा दोषी ठहरिएका थिए । उनले जुलाई २०१० मा सजाय पूरा गरेका थिए ।

फ्लोरिडामा आधारित वकिल एडवर्ड्सका अनुसार, ती महिलाले एन्ड्र्युसँग रात बिताउनु अघि उनीहरूबीच केही सञ्चारसम्बन्धी प्रमाणहरू पनि रहेका छन् ।

एडवर्ड्सले अमेरिकामा एन्ड्र्युका ‘केही कानुनी सल्लाहकार’सँग सम्पर्कमा रहेको बताए पनि एन्ड्र्यु ‘आफ्ना वकिलहरूबाट अलगिएको जस्तो देखिएको’ उल्लेख गरे ।

उनका अनुसार, राजा चार्ल्सले औपचारिक रूपमा एन्ड्र्युको ‘शैली, पदवी र सम्मान’ हटाएपछि ती सञ्चारहरू बन्द भएका थिए । गत वर्ष अक्टोबरमा भर्जिनिया जिउफ्रेको मृत्युपछि प्रकाशित संस्मरण सार्वजनिक भएपछि एन्ड्र्युबाट शाही उपाधि खोसिएको थियो । साथै, सन् २००४ देखि बसोबास गर्दै आएका विन्डसर एस्टेटको रोयल लज पनि छोड्ने घोषणा गरिएको थियो ।

उपाधि हटाउने घोषणामा दरबारले भनेको थियो, ‘यी आरोपहरूलाई उनले निरन्तर अस्वीकार गरिरहे पनि यस्ता दण्ड आवश्यक ठानिएका हुन् ।’

एडवर्ड्सका अनुसार, एन्ड्र्युको उपाधि खोसिँदा उनले आफूसँग कुनै पैसा छैन र क्षतिपूर्ति दिन सक्ने अवस्थामा छैन भन्ने दाबी गर्न सहज भएको छ, जसले ‘यी महिलाहरूलाई पीडा भोगिरहन बाध्य बनाएको’ छ।

उनले भने, ‘शाही परिवारले पीडितप्रति चासो राख्यो र समस्या समाधान गर्न चाह्यो भन्ने दाबी गरेको छ । तर प्रिन्स एन्ड्र्युको उपाधि मात्र खोसेर अरू केही नगर्दा उनीहरूले भनेको उद्देश्यको ठीक उल्टो प्रभाव परेको छ ।’

बीबीसीको अनुसन्धानअनुसार एपस्टिनले व्यावसायिक उडान र आफ्ना निजी जेटमार्फत धेरै महिलालाई बेलायतमा मानव तस्करी गरेका थिए ।

गत अक्टोबरमा बकिङ्घम दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘उहाँहरूको विचार र गहिरो सहानुभूति सबै प्रकारका दुर्व्यवहारका पीडित र जीवित बाँचेकाहरूसँग सधैं रहनेछ ।’

वकिल एडवर्ड्सले ती महिलाको तर्फबाट पूर्व प्रिन्स एन्ड्र्युविरुद्ध दीवानी मुद्दा दायर गर्नेबारे अहिले विचार गरिरहेको बताए ।

भर्जिनिया जिउफ्रेले सन् २०२१ मा अमेरिकामा एन्ड्र्युविरुद्ध दीवानी मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दा फेब्रुअरी २०२२ मा करिब १ करोड २० लाख पाउन्डमा मिलापत्र भएको थियो । जिउफ्रेले गत वर्ष आत्महत्या गरेकी थिइन् ।

एन्ड्र्युले जिउफ्रेका सबै आरोपहरू सधैं अस्वीकार गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्