
एभोकाडो र अम्बा दुवै पौष्टिक तत्वले भरिपूर्ण फलफूल हुन् । अम्बा फाइबर, एन्टिअक्सिडेन्ट र भिटामिन सीले भरिपूर्ण फल हो । अर्कोतर्फ एभोकाडोमा स्वस्थ बोसो, पोटासियम, म्याग्नेसियम र भिटामिन ई हुन्छ । एभोकाडो महँगो हुन्छ भने अम्बा सजिलै उपलब्ध हुनुका साथै कम मूल्यमा पनि पाइन्छ ।
पोषणको हिसाबले कुन राम्रो ?
१०० ग्राम अम्बाको एक भागमा करिब ६८ क्यालोरी हुन्छ र यसले दैनिक सिफारिस गरिएको मात्रा भन्दा बढी भिटामिन सी प्रदान गर्दछ । अम्बामा फाइबर, भिटामिन ए, फोलेट, पोटासियम र लाइकोपीन जस्ता एन्टिअक्सिडेन्ट पनि हुन्छन् । अम्बाले पाचन सुधार गर्छ, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ र शरीरलाई फ्री रेडिकलबाट बचाउँछ ।
यस्तै १०० ग्राम एभोकाडोमा करिब १६० क्यालोरी हुन्छ । एभोकाडोमा पाइने स्वस्थ बोसोले सूजन कम गर्न र मुटुको स्वास्थ्यलाई बढावा दिन मद्दत गर्छ । एभोकाडो एक पोषक तत्वले भरिपूर्ण सुपरफूड हो । यसमा पोटासियम, म्याग्नेसियम, भिटामिन के, ई, र बी–कम्प्लेक्सले भरिपूर्ण हुन्छ । साथै एभोकाडो स्वस्थ बोसो र फाइबरको पनि ठूलो स्रोत हो ।
तौल घटाउनका लागि कुन फल फाइदाजनक छ ?
तौल घटाउका लागि अम्बा विशेष गरी फाइदाजनक छ । यसमा क्यालोरी कम हुन्छ र फाइबर प्रशस्त हुन्छ । यसलाई खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । यसले गर्दा धेरै खानबाट बच्न सकिन्छ भने तौल घटाउनमा फाइदा गर्छ । यसको प्राकृतिक चिनीको मात्राले रगतमा चिनीको मात्रा द्रुत रूपमा बढाउँदैन । यसले गर्दा यो मधुमेह भएका मानिसका लागि स्वस्थ विकल्प हो ।
एभोकाडो पक्कै पनि स्वस्थकर हुन्छ, तर यसमा अम्बाभन्दा बढी क्यालोरी हुन्छ ।
राम्रो रोग प्रतिरोधात्मक क्षमता र चम्किलो छालाका लागि के खाने ?
अम्बामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र कोलाजेन निर्माण गर्न मद्दत गर्छ । यसको एन्टिअक्सिडेन्टले सूजन कम गर्छ र छालाको बुढ्यौली प्रक्रियालाई ढिलो बनाउँछ ।
एभोकाडोमा रहेको भिटामिन ईले छालालाई हानिकारक फ्री रेडिकलबाट बचाउँछ । यसको स्वस्थ बोसोले छालालाई भित्रबाट पोषण दिन्छ । यसलाई नरम र चम्किलो राख्छ । एभोकाडोले सुख्खापन र फुट्ने समस्या कम गर्न पनि मद्दत गर्छ ।
कुन खानु राम्रो हुन्छ ?
अम्बा र एभोकाडो दुवै स्वस्थ फलफूल हुन् । यसका आफ्नै फाइदाहरू छन् । तौल घटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन वा पाचन सुधार गर्न भिटामिन सीले भरिपूर्ण अम्बा एक उत्कृष्ट विकल्प हो ।
मुटुको स्वास्थ्य, चम्किलो छाला र स्वस्थ बोसोका लागि एभोकाडो राम्रो मानिन्छ ।
अम्बा र एभोकाडोका आफ्नै फाइदाहरू छन् । त्यसैले दुवैलाई आफ्नो दैनिक आहारमा बनाउन सकिन्छ । बिहान वा मध्य–बिहान अम्बा खानुहोस् भने दिउँसोको खाना वा खाजामा एभोकाडो खानुहोस् ।