
बलिउडका दुई दिग्गज अभिनेता सनी देओल र अक्षय खन्ना एकपटक फेरि सँगै पर्दामा देखिने भएका छन् । हालै नेटफ्लिक्सले फिल्म ‘इक्का’को टीजर सार्वजनिक गरेको छ । यसले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ । टीजर हेरेपछि फ्यानहरू निकै उत्साहित भएका छन् ।
फ्यानहरू उत्साहित हुनुको अर्को कारण भनेको सनी देओल र अक्षय खन्ना करिब २९ वर्षपछि एउटै स्क्रिनमा देखिन लागेका हुन् । यसअघि उनीहरू सन् १९९७ को ब्लकबस्टर फिल्म ‘बोर्डर’मा सँगै देखिएका थिए । टीजरमा सनी देओलको परिचित आक्रामक अवतार र अक्षय खन्नाको सन्तुलित तथा प्रभावशाली अभिनयले दर्शकको उत्सुकता अझ बढाएको छ ।
कोर्टरूममा सनीको आक्रोश, अक्षयको प्रभाव
फिल्म ‘इक्का’को टीजरले शक्तिशाली कोर्टरूम ड्रामाको झलक दिन्छ । यसमा एक चकित पार्ने र रोमाञ्चक दृश्य छ, जहाँ सनी देओल आक्रोशमा अक्षय खन्नामाथि हात उठाएको देखिन्छ । वकिलको पोसाकमा देखिएका सनी देओललाई देख्दा उनका फ्यानलाई सुपरहिट फिल्म ‘दामिनी’को सम्झना आएको छ । अर्कोतर्फ, हालै ‘रहमान डकैत’को भूमिकामार्फत दर्शकको मन जितिसकेका अक्षय खन्ना यस फिल्ममा पनि निकै आकर्षक देखिएका छन् ।
२९ वर्षपछि ताजा हुने पुराना सम्झना
सनी देओल र अक्षय खन्नाको जोडीलाई पुनः सँगै हेर्न फ्यानहरू निकै उत्साहित छन् । ‘बोर्डर’ फिल्ममा देखिएको उनीहरूको केमिस्ट्रीले त्यतिबेला दर्शकलाई भावुक बनाएको थियो । यति लामो समयपछि उनीहरूलाई फेरि एउटै फिल्ममा देख्नु पुराना सम्झनालाई ताजा गराउने जस्तै भएको छ । जहाँ अक्षय खन्ना सूक्ष्म र गहिरो अभिनयका लागि चिनिन्छन्, त्यहीं सनी देओल दमदार संवाद र शक्तिशाली एक्सनका लागि प्रसिद्ध छन् । टीजर हेर्दा नै यो फिल्म ओटीटीमा ठूलो प्रभाव छोड्न तयार रहेको अनुमान गर्न सकिन्छ ।
नेटफ्लिक्सले सार्वजनिक गर्यो टीजर
नेटफ्लिक्सले आफ्नो आधिकारिक अकाउन्टमार्फत टीजर सार्वजनिक गर्दै लेखेको छ, ‘कानुन वा रगतको नाता, कसको हातमा छ यो खेलको इक्का ? इक्का हेर्नुहोस्, चाँडै आउँदैछ, केवल नेटफ्लिक्समा ।’ यद्यपि, फिल्म कहिलेदेखि स्ट्रिम हुनेछ भन्ने मिति भने सार्वजनिक गरिएको छैन । यस कोर्टरूम ड्रामालाई सिद्धार्थ पी. मल्होत्राले निर्देशन गरेका हुन् । फिल्ममा सनी देओल, अक्षय खन्नाका साथै दीया मिर्जा, तिलोत्तमा शोम, संजीदा शेख, शिशिर शर्मा र आकांक्षा रंजनको पनि अभिनय रहेको छ ।
अक्षय–सनी देओलको दमदार पुनरागमन
अहिले सनी देओल र अक्षय खन्ना दुवैको कामको व्यापक प्रशंसा भइरहेको छ । एकातर्फ सनी देओलले ‘बोर्डर २’मार्फत सन् २०२६ को धमाकेदार सुरुवात गरेका छन् भने अर्कोतर्फ सन् २०२५ अक्षय खन्नाको नाममा गएको मानिन्छ । ‘रहमान डकैत’को लुक र अभिनयले उनलाई पुनः लाइमलाइटमा ल्याएको छ र चारैतिर उनकै चर्चा भइरहेको छ ।
अब ‘इक्का’मार्फत अक्षय खन्नाले फेरि एकपटक आफू किन बलिउडका सबैभन्दा अन्डररेटेड तर उत्कृष्ट अभिनेता मानिन्छन् भन्ने कुरा प्रमाणित गर्ने अपेक्षा गरिएको छ । सनी देओलसँगको उनको यो टक्कर ओटीटीमा कस्तो कमाल देखाउनेछ, त्यो हेर्नु रोचक हुनेछ ।