
आईसीसी टी–२० विश्वकपको १० औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
टी–२० पुरुष विश्वकप सन् २००७ देखि शुरू भएको । प्रतियोगिताको पहिलो संस्करण सन् २००७ को सेप्टेम्बर ११ देखि २४ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना भएको थियो ।
टी–२० विश्वकपको १० औं संस्करणमा एउटा निकै रमाइलो संयोग जोडिएको छ । १९ वर्षअघि टी–२० विश्वकपको पहिलो संस्करण खेल्ने एक खेलाडीले १० औं संस्करण पनि खेल्ने भएका छन् ।
टी–२० विश्वकपकै पहिलो संस्करणमार्फत् टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका भारतका रोहित शर्मा र बंगलादेशका सकिब अल हसनले सन् २०२४ को नवौं संस्करण खेलेका थिए ।
तर, यसपटक रोहित भारतीय टोलीमा छैनन् । उनले टी–२० क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । बंगलादेशले त टी–१० विश्वकपको १ ०औं संस्करण बहिष्कार नै गरिसकेको छ ।
यस्तो स्थितिमा विश्वकपको पहिलो र १० औं संस्करण खेल्ने एकमात्र खेलाडी को होलान् त ? ती खेलाडी हुन्, जिम्बाब्वेका ब्रेन्डन टेलर ।
उमेरले ४० औं वर्ष प्रवेशको सँघारमा रहेका ब्रेन्डन टेलरलाई १० औं टी–२० विश्वकपका लागि जिम्बाब्वेले टोलीमा समावेश गरेको छ । उनी फेब्रुअरी ६ तारिखमा ४० औं वर्षमा प्रवेश गर्नेछन् ।
अनुभवी विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन टेलरले सन् २००७ को विश्वकपमा दुई खेल खेलेका थिए । उक्त विश्वकपमा उनले अस्ट्रेलियाविरुद्ध अविजित ६५ रन बनाएका थिए ।
उनकै उत्कृष्ट प्रदर्शनका कारण त्यो खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई हराएको थियो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा जिम्बाब्वेले अस्ट्रेलियालाई हराएको त्यो एकमात्र खेल हो ।
यसैगरी, पहिलो विश्वकपको इङ्ल्यान्डविरुद्धको खेलमा पनि ब्रेन्डन टेलरले ४७ रनको महत्वपूर्ण पाली खेलेका थिए । उनी यसपटक १२ वर्षपछि टी–२० विश्वकपमा फर्किएका हुन् ।
ब्रेन्डन टेलरले अन्तिम पटक सन् २०१४ को टी–२० विश्वकपमा जिम्बाब्वेको प्रतिनिधित्व गरेका थिए । त्यसपछि उनले सन् २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।
तर, सन् २०१७ मा उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास फिर्ता लिएका थिए । निलम्बनमा परेका कारण जिम्बाब्वेले सन् २०२१ को टी–२० विश्वकपमा भाग लिएको थिएन ।
त्यसपछि, सन् २०२२ मा टेलरमाथि साढे तीन वर्षको प्रतिबन्ध लागेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आर्थिक अनियमितताको आरोपमा उनीमाथि प्रतिबन्ध लगाएको थियो ।
अघिल्लो वर्षमात्र उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका थिए । अहिले आएर १२ वर्षपछि उनी फेरि टी–२० विश्वकप खेल्ने तयारीमा छन् । योसँगै उनी ऐतिहासिक खेलाडी बन्नेछन् ।
ब्रेन्डन टेलरले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले ३६ टेस्टमा दुई हजार चार सय तीन रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ७१ रन हो ।
टेस्ट क्रिकेटमा उनले ६ शतक र १२ अर्धशतक बनाएका छन् । टेस्ट क्रिकेटमा उनले ३० वटा क्याच पनि लिएका छन् ।
यसैगरी, उनले दुई सय सात एकदिवसीय अन्तर्राष्ट्रियमा कूल ६ हजार सात सय चार रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित एक सय ४५ रन हो ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ११ शतक र ३९ अर्धशतक प्रहार गरेका छन् । यो ढाँचाको क्रिकेटमा उनले एक सय ३३ क्याच लिएका छन् भने २९ ब्याट्सम्यानलाई स्टम्पिङ गरेका छन् ।
यसैगरी, उनले ५८ टी–२० अन्तर्राष्ट्रियमा कुल एक हजार एक सय ८५ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर एक सय २३ रन हो ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक शतक र ६ अर्धशतक प्रहार गरेका छन् । उनले २७ क्याच लिएका छन् भने दुई ब्याट्सम्यानलाई स्टम्पिङ पनि गरेका छन् ।
दायाँहाते स्पिनरसमेत रहेका ब्रेन्डन टेलरले एकदिवसीय अन्तर्राष्ट्रियमा नौ र टी–२० अन्तर्राष्ट्रियमा एक विकेट पनि लिएका छन् ।