२७ असार २०८३, शनिबार

तान्त्रिकको विवादास्पद भविष्यबाणी: अर्जेन्टिना केप भर्डेसँग पराजित हुँदै बाहिरिने, पोर्चुगलले ट्रफी जित्ने

असार १८, २०८३
काठमाडौं
तान्त्रिकको विवादास्पद भविष्यबाणी: अर्जेन्टिना केप भर्डेसँग पराजित हुँदै बाहिरिने, पोर्चुगलले ट्रफी जित्ने

घानाका चर्चित तथा विवादास्पद तान्त्रिक नाना क्वाकु बोन्सामले साबिक विजेता अर्जेन्टिना चालू फिफा विश्वकप २०२६ बाट बाहिरिने सनसनीपूर्ण दाबी गरेका छन्। आफूलाई आध्यात्मिक व्यक्ति बताउने बोन्सामका अनुसार अर्जेन्टिना आगामी खेलमा केप भर्डेसँग पराजित हुँदै विश्वकपको उपाधि होडबाट बाहिरिने उनको दाबी छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत निकै चर्चा पाइरहेको उनको यो दाबीले फुटबल समर्थकहरूमाझ नयाँ बहस छेडिदिएको छ। भौतिक मैदानको प्रतिस्पर्धा शुरू हुनुअघि नै आध्यात्मिक संसारमा प्रतियोगिताको नतिजा तय भइसकेको जिकिर गर्दै उनले अर्जेन्टिनाको यात्रा समाप्त हुने दाबी गरेका हुन्।

अर्जेन्टिना बाहिरिने भविष्यवाणीसँगै बोन्सामले यसपटकको विश्वकप ट्रफी क्रिस्टियानो रोनाल्डो र पोर्चुगलले जित्ने अर्को ठुलो दाबीसमेत गरेका छन्। 'पोर्चुगलले आध्यात्मिक संसारमा विश्वकप जितिसकेको छ र रोनाल्डोका लागि यसपटक ऐतिहासिक क्षण लेखिएको छ,' बोन्सामले भनेका छन्। रोचक कुरा के छ भने, सन् २०१४ को ब्राजिल विश्वकपअघि उनै रोनाल्डो चोटग्रस्त हुनुमा आफ्नो आध्यात्मिक शक्तिको भूमिका रहेको दाबी गर्ने यिनै बोन्सामले १२ वर्षपछि भने तिनै रोनाल्डोको हातमा विश्वकप ट्रफी देखिरहेको बताएका छन्।

यसअघि चालू विश्वपको समूह चरणमा इङ्ल्यान्डका कप्तान ह्यारी केनलाई लिएर बोन्साम निकै चर्चामा आएका थिए। इङ्ल्यान्ड र घानाबिचको खेलअघि उनले केनलाई रोक्न आफूले ‘कालो जादु’ प्रयोग गरिरहेको दाबी गरेका थिए।

ब्रिटिस सञ्चारमाध्यम डेली स्टारसँगको कुराकानीमा उनले भनेका थिए, 'मैले पहिले पनि म के गर्न सक्छु भनेर देखाइसकेको छु, त्यसैले उनलाई रोक्न के गर्नुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ।' संयोगवश, घानाविरुद्धको उक्त खेलमा इङ्ल्यान्ड गोलरहित बराबरीमा रोकिएको थियो र केनले गोल गर्न सकेनन्, जसका कारण समर्थकबिच बोन्सामको चर्चा एकाएक बढेको थियो।

तर, खेलपछि उनले केनप्रति आफ्नो कथित ‘श्राप’ हटाएको बताएका थिए। केन आफ्नो शत्रु नभएको स्पष्ट पार्दै उनले भनेका थिए, 'ह्यारी केन मेरो शत्रु होइनन्। मेरो एउटा सन्तान जन्मिँदैछ र म उसको नाम उनकै नामबाट (ह्यारी केन) राख्नेछु।' उनले केनलाई आफ्नो आध्यात्मिक प्रभावबाट मुक्त गरिदिएको र अब उनले अर्को खेलमा गोल गर्न सक्ने दाबी गरेका थिए।

को हुन् क्वाकु बोन्साम?
घानाको राजधानी अक्रामा तीनवटा धार्मिक केन्द्र सञ्चालन गर्ने बोन्साम आफूलाई अफ्रिकी परम्परागत पुजारी तथा उपचारकर्ता बताउँछन्। उनले मानिसहरूलाई आध्यात्मिक सल्लाह र जडीबुटीसम्बन्धी उपचार दिने दाबी गर्छन्। फुटबल समर्थकबिच उनको यस्तो दाबी र चर्चा नयाँ भने होइन। यद्यपि, विज्ञान र फुटबल विश्लेषकहरूले भने उनका यस्ता दाबीहरूलाई प्रमाणित तथ्य नभई केवल व्यक्तिगत विश्वास र कपोलकल्पित भविष्यवाणीका रूपमा मात्र लिने गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्