
अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाइसकेकाले ढुक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिएका छन् ।
आज बेनी पुगेका खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीसँग निर्वाचनको तयारी र जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
“नयाँ र पुराना सबै राजनीतिक दलले सौहार्दपूर्ण र शान्तिपूर्ण तरिकाले चुनावमा भाग लिने वातावरण बनाउनु सरकारको प्रमुख दायित्व हो,” खनालले भने, “स्रोतको अभावले निर्वाचनमा कुनै अवरोध हुँदैन भन्ने विश्वास दिलाउन चाहन्छु ।”
उनले मिथ्या र भ्रामक सूचना प्रवाह रोक्न संवेदनशील हुन आग्रह गरेका छन् । भ्रामक सूचना र भदौ २४ गते लुटिएका हातहतियारलाई सरकारले निर्वाचनका चुनौतीका रूपमा लिई त्यसको सामना गर्न रणनीति बनाएको बताएका छन् ।
मौसमका कारण फागुन २१ गते कुनै स्थानमा मतदानमा समस्या आएमा त्यसबारे निर्वाचन आयोगले तत्काल निर्णय लिने उल्लेख गर्दै खनालले चुनावको मितिमा सरकारले सम्झौता नगर्ने स्पष्ट पारे ।
मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यलगायत सुरक्षा अधिकारीसँग उनले निर्वाचनको तयारीबारे जानकारी लिएका थिए । हालसम्म शान्ति र सौहार्दपूर्ण रूपमा चुनावको तयारी अघि बढेको उनीहरूले जानकारी दिएका छन् ।
जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले अस्थायी मतदाता र निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन भइसकेको जानकारी दिए । छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको छ ।
म्याग्दीमा ११ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार छन् । जिल्लामा ८६ हजार ३९७ मतदाता रहेका छन् । ८२ मतदानस्थल र १२० मतदान केन्द्र रहेका छन् ।