
आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो औपचारिक अभ्यासमा नेपाली टोलीले बिहीबार क्यानडाको सामना गर्दैछ । नेपाल र क्यानडाबीचको औपचारिक अभ्यास खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, दिउँसो सवा १ बजे शुरू हुनेछ ।
यसअघि, मंगलबार खेलिएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाली टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटको फराकिलो अन्तरले हराएको थियो । उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १७ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ४८ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
नेपाली टोलीको जितमा आरिफ शेखले अविजित ६१ र दीपेन्द्रसिंह ऐरीले अविजित ५० रनको योगदान गरेका थिए । आरिफले केवल ३७ बलमा दुई छक्का र आठ चौका प्रहार गरेका थिए ।
यसैगरी, दीपेन्द्रले केवल ३१ बलमा एक छक्का र चार चौका हिर्काएका थिए । यी दुबै ब्याट्सम्यानले एक सय तीन रनको साझेदारी गरेका थिए ।
नेपाली टोलीका बलर सन्दीपल लामिछाने र करण केसीले दुई–दुई विकेट हात पारेका थिए । दीपेन्द्रसिंह ऐरीले पनि एक विकेट लिएका थिए ।
त्यसैले नेपाली टोली बिहीबारको खेलमा क्यानडालाई हराउँदै उच्च मनोबलसहित विश्वकप यात्रामा होमिने धुनमा छ ।
टी–२० विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ ।
आगामी विश्वकपमा नेपाली टोली समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।
त्यसमध्ये इङ्ल्यान्ड र वेस्ट इन्डिज टी–२० विश्वकपका पूर्वविजेता हुन् । अन्तिम समयमा बंगलादेशले विश्वकप बहिस्कार गरेपछि स्कटल्यान्डले खेल्ने अवसर पाएको हो ।