
लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १०५ जनालाई सम्मान गरिएको हो ।
प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले विजेता प्रत्येक खेलाडीलाई ११ हजार रूपैयाँ, रजत पदक विजेतालाई ९ हजार रूपैयाँ र कास्य पदक विजेतालाई ६ हजार रूपैयाँका दरले नगद पुरस्कार प्रदान गरी सम्मान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले खेलाडीको मनोबल उच्च बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति आभार व्यक्त गरे ।
गत जेठ २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशका खेलाडीले १२ स्वर्ण, १५ रजत र १८ कास्य पदक जित्दै समग्रमा तेस्रो स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दो, उसुलगायत विभिन्न विधामा लुम्बिनीका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।