
रिलेशनशिप एङ्जायटी यस्तो अवस्था हो, जहाँ व्यक्ति आफ्नै सम्बन्धलाई लिएर निरन्तर असुरक्षित, तनावग्रस्त वा दुःखी महसुस गर्छ ।
सम्बन्धप्रति कहिलेकाहीँ चिन्ता हुनु सामान्य हो । तर यही चिन्ताले मानसिक शान्ति र सम्बन्धमा दरार ल्याउन थालेपछि गम्भीर रूपमा लिन आवश्यक हुन्छ । यहाँ रिलेशनशिप एङ्जायटीका लक्षण कसरी चिन्न सकिन्छ र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे चर्चा गरिएको छ ।
रिलेशनशिप एङ्जायटी लक्षण
लगातार असुरक्षा– पार्टनरले छोडिदिनेछ कि अब माया गर्दैन भन्ने डरले सताइरहनु ।
अत्यधिक सोचाइ (ओभर–थिंकिङ)– पार्टनरको सन्देश ढिलो आएपछि उनी रिसाएका छन् वा कसै अरूसँग छन् भन्ने अनुमान गर्नु ।
बारम्बार आश्वासन खोज्नु– ‘के तिमी साँच्चै मलाई माया गर्छौ ?’ वा ‘तिमी मलाई छोड्दैनौ नि ?’ जस्ता प्रश्नहरू बारम्बार सोध्नु, जसले सम्बन्धमा असुरक्षालाई देखाउँछ ।
आफूलाई परिवर्तन गर्नु – पार्टनरलाई खुसी पार्न आफ्नै चाहना र व्यक्तित्वलाई दबाउनु ।
पार्टनरमाथि निगरानी राख्नु – फोन, सामाजिक सञ्जाल वा हरेक गतिविधिमा शंकाको दृष्टिले हेर्नु ।
रिलेशनशिप एङ्जायटी किन हुन्छ ?
अघिल्ला अनुभवहरू – अघिल्लो सम्बन्धमा धोका पाएको अनुभव भए नयाँ सम्बन्धमा विश्वास गर्न गाह्रो हुन सक्छ ।
बाल्यकालका अनुभव – बाल्यकालमा आमाबुबाबाट पर्याप्त माया वा सुरक्षा नपाएमा, व्यक्ति ठूला भएपछि रोमान्टिक सम्बन्धमा पनि निरन्तर माया र सुरक्षाको खोजीमा रहन सक्छ ।
कम आत्मविश्वास – आफूलाई माया पाउन लायक छैन भन्ने भावना हुँदा पार्टनरले जुनसुकै बेला छोड्न सक्छ भन्ने डर पैदा हुन्छ ।
रिलेशनशिप एङ्जायटीसँग कसरी जुध्ने ?
आफ्ना भावनालाई स्वीकार गर्नुहोस् – सबैभन्दा पहिले आफूलाई एङ्जायटी भइरहेको छ भन्ने कुरा चिन्नुहोस् । डर वा घबराहट दबाउने होइन, स्वीकार गर्नुहोस् । यी केवल विचार हुन्, वास्तविकता होइनन् भन्ने बुझिन्छ । आधा समस्या त्यत्तिकै समाधान हुन्छ ।
खुला संवाद गर्नुहोस् – पार्टनरसँग खुलेर कुरा गर्नुहोस् । आरोप लगाउने शैलीमा नभई आफ्ना भावना व्यक्त गर्नुहोस् । जस्तै, ‘तिमी बिना बताए ढिलो हुँदा मलाई घबराहट हुन्छ’ भन्नु, ‘तिमी सधैं मलाई बेवास्ता गर्छौ’ भन्नुभन्दा प्रभावकारी हुन्छ । यसले पार्टनरलाई रक्षात्मक नबनाई तपाईंको कुरा सुन्न मद्दत गर्छ ।
आफूमा ध्यान दिनुहोस् – आफ्नो सम्पूर्ण संसार पार्टनरमै सीमित नराख्नुहोस् । आफ्ना रुचि, साथीहरू र करियरमा ध्यान दिनुहोस् । आफ्नै जीवनमा सन्तुष्ट हुँदा सम्बन्धप्रतिको अत्यधिक निर्भरता र त्यसबाट उत्पन्न एङ्जायटी कम हुन्छ ।
माइन्डफुलनेस अभ्यास गर्नुहोस् – एङ्जायटी प्रायः भविष्यको डरबाट उत्पन्न हुन्छ । वर्तमानमा बाँच्न सिक्नुहोस् । ध्यान, मेडिटेसन र गहिरो सास फेर्ने अभ्यासले मन शान्त राख्न सहयोग पुर्याउँछ ।
व्यावसायिक सहयोग लिनुहोस् – एङ्जायटी नियन्त्रण बाहिर गइरहेको छ भने थेरापिस्ट वा काउन्सेलरसँग कुरा गर्न नहिचकिचाउनुहोस् । थेरापीले डरको जडसम्म पुग्न र समाधान खोज्न सहयोग गर्छ ।