२८ जेठ २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

मत ‘स्विङ’ भइरहने कास्की-१ मा पासा पल्टाउने रास्वपाको दाउ, यस्तो छ जोडघटाउ

माघ २२, २०८२
पाेखरा
मत ‘स्विङ’ भइरहने कास्की-१ मा पासा पल्टाउने रास्वपाको दाउ, यस्तो छ जोडघटाउ

नतिजा परिवर्तन भइरहने क्षेत्रको रूपमा चिनिन्छ कास्की क्षेत्र नम्बर १ । यद्यपि पछिल्लो दुई प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा नेकपा एमाले विजयी भयो । 

गत निर्वाचनमा एमालेसँगको प्रमुख प्रतिद्वन्द्वी थियो नेपाली कांग्रेस । त्यसअघि पनि यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुँदै आएको थियो । तर, यसपटकको निर्वाचन भने फरक छ ।

पाँच वर्ष पूरा नहुँदै विघटन भएको प्रतिनिधिसभाको निर्वाचनमा नयाँ मानिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मैदानमा छ । विगतका निर्वाचनमा जस्तो यसपटक प्रतिस्पर्धा उही पुरानो दलमा सीमित भने देखिँदैन ।

यसपटक कास्की-१ मा आफ्नो पोल्टामा नतिजा पार्नका लागि दाबेदारको रूपमा खडा भएको छ रास्वपा पनि । उसो त यस क्षेत्रबाट कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका उम्मेदवार पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रस्ताव गर्दै चुनावमा होमिएको रास्वपाले मत तान्ने कसरत गरिरहेको छ । संसदीय गणितमा बहुमत ल्याएर प्रधानमन्त्री को बन्ला त्यो चुनावको नतिजाले देखाउला । तर, संयोग के भने बालेन झापा-५ बाट उम्मेदवारी दिँदै गर्दा कास्की-१ मा उनका दौँतरी खडकराज पौडेल (गनेस)ले मैदानमा होमिए । 

यी दौँतरी उनै हुन् जसले स्थानीय तह निर्वाचन २०७९ मा आ-आफ्नो स्थानबाट अटेरी अभियान शुरू गरेका थिए । काठमाडौंबाट बालेन लौरो लिएर स्वतन्त्र उम्मेदवार हुँदा पोखरामा लौरो चुनाव चिन्ह लिएर गनेस निर्वाचनमा होमिए । काठमाडौंको मेयरमा बालेन निर्वाचित हुँदा पोखरामा गनेसले जम्मा ३ हजार ३० मत ल्याएका थिए ।

लेखक समेत रहेका गनेस यसपटक प्रतिनिधिसभाको उम्मेदवार छन् । जुन स्थानमा प्रमुख प्रतिद्वन्द्वी उही पुराना दल छन् । चुनाव नजिकिँदै गर्दा सबै दल प्रचारप्रसारमा व्यस्त छन् । कांग्रेस-एमालेले परम्परागत शैलीमा प्रचार थाल्दा रास्वपाले ‘स्थानीयसँग संवाद यात्रा’ शुरू गरेर फरक खालको चुनाव प्रचारप्रसार गरिरहेको छ । 

माघ २१ मा संवाद यात्रा गर्दै रूपा गाउँपालिका पुगेका उम्मेदवार गनेसले आफू राजनीतिमा देशको अवस्था सुधार्न आएको बताएका थिए । साथै, नागरिकको अनुहारमा मुस्कान ल्याउन राजनीति गर्नुपर्ने भनाइ राखे ।

‘म राजनीतिमा पदका लागि होइन, देशको अवस्था सुधार्न आएको हुँ । जनताको अनुहारमा मुस्कान ल्याउने राजनीति गर्नुपर्छ । देशको मुहार हाँस्न जनताको विश्वास जित्नु पहिलो सर्त हो’, पौडेलले संवाद यात्रामा भनेका थिए ।

पौडेलसँग मैदानमा उत्रिएका छन् एमालेबाट बैनबहादुर क्षेत्री । लगातार दुई निर्वाचनसम्म एमालेले धानेको विरासत जोगाउने जिम्मा उनको काँधमा छ । मैदानमा उत्रिएका क्षेत्री नागरिकको भावना अनुसार काम गर्ने प्रतिबद्धता जाहेर गर्दै घरदैलोमा व्यस्त छन् । 

कांग्रेस पनि ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’को नारा लिएर चुनावमा होमिएको छ । यस क्षेत्रबाट कांग्रेसको उम्मेदवार तिलक रानाभाट छन् । 

पछिल्ला केही निर्वाचनको नतिजा हेर्दा यस क्षेत्रले पटकपटक आफ्नो प्रतिनिधि बदलेको देखिन्छ । २०७४ मा खगराज अधिकारी एमालेबाट ३९ हजार २४२ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत ल्याएका थिए ।

२०७९ मा निर्वाचनमा यस क्षेत्रबाट पुन: एमालेका उम्मेदवार मनबहादुर गुरुङले २५ हजार ७०८ मत ल्याउँदै नजिकका प्रतिस्पर्धी किशोरदत्त बराललाई हराएका थिए । कांग्रेस उम्मेदवार बरालले २३ हजार १८९ मत ल्याएका थिए ।

बहुदल आएपछि यस क्षेत्रबाट कांग्रेसका तारानाथ रानाभाट र खगराज अधिकारी प्रतिस्पर्धामा थिए । २०४८ सालको निर्वाचनमा एमालेका अधिकारीलाई हराउँदै तारानाथ निर्वाचित बनेर सभामुख बनेका थिए । तर, २०५१ सालमा उनै दुई प्रतिस्पर्धी निर्वाचनमा होमिए । 

अघिल्लो पटकको मतलाई अधिकारीले उल्टाउँदै जित हासिल गरेका थिए । २०५६ सालमा भएको निर्वाचनमा पुन: उनै रानाभाट चुनिएका थिए । तर, २०६४ सालमा भने यस क्षेत्रबाट जितको पोल्टा तत्कालीन नेकपा माओवादीले आफ्नो पोल्टामा पार्‍यो ।

पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका देव गुरुङ विजयी बने । उनीसँग उम्मेदवार रहेका कांग्रेसका यज्ञबहादुर थापा र एमालेका खगराज अधिकारी पराजित बने । उपनिर्वाचन २०६५ मा समेत माओवादीका उम्मेदवार कृष्णबहादुर गुरुङ विजयी भएका थिए ।

अघिल्लो पटक हार बेहोरेका कांग्रेसका यज्ञबहादुर थापाले २०७० सालको संविधानसभामा जित हासिल गरे । त्यसपछि भएका दुईवटा निर्वाचनमा लगातार एमालेले जित हासिल गर्‍यो । यसपटकको निर्वाचनमा उही पुरानो दलबीचको प्रतिस्पर्धामा रास्वपाले ब्रेक लगाउने कसरत गरिरहेको छ ।

गत निर्वाचनमा गण्डकी प्रदेशबाट समानुपातिकतर्फ एमालेले ३ लाख २४ हजार ८८२ मत ल्याएको थियो । दोस्रोमा रहेको कांग्रेसले ३ लाख १२ हजार ७२० ल्याउँदा रास्वपाले १ लाख ७७ हजार ०२५ मत ल्याएर तेस्रो बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्