
दाशराजयुद्धको नाम प्राय: हामी सबैले सुनेका छौं । ऋग्वेद सातौं मण्डलको १८ औं, ३३ औं तथा तथा ८३ औं सूक्तमा उल्लिखित सो युद्ध सप्तसिन्धु (पञ्जाव) क्षेत्रका राजा सुदास र आसपासका दशवटा कविला राज्यका राजाहरूका बीचमा भएको थियो ।
यसै अर्थमा यसलाई दाशराजयुद्ध भन्ने गरिएको हो । रावी (तत्कालीन नाम परुष्णी) नदीको तटमा भएको उक्त युद्धको कारण प्राय: सप्तसिन्धु क्षेत्रको जलविभाजन र पौरोहित्य विवाद उल्लेख हुने गरेको देखिन्छ तर ती बाह्य कारण मात्र हुन् । मूल कारण अर्कै रहेको पाइएको छ । यस आलेखमा यसैलाई केलाउने प्रयास गरिएको छ ।
करिब ई.पू. १४०० तिर सप्तसिन्धु क्षेत्र र त्यसको आसपासतिर तृत्सुवंशी राजा सुदास र अन्य दशवटा कविला राज्य थिए । तिनमा सुदासको राज्य रावी नदीको दुवै किनारमा थियो । तृत्सु कविलाका सरदार वध्र्यश्वका पुत्र सुदास पाञ्चाल क्षेत्रका राजा दिवोदासको धर्मपुत्र थिए तर भागवतमा व्यासजीले भने दिवोदासको पुत्र भनेर चिनाएका छन् ।
उनी तत्कालीन राजारजौटाबीच अलि बढी नै प्रभावशाली राजन्य मानिन्थे । किनभने पहिलो कुरा त उनको राज्य अरूको भन्दा ठूलो र बलियो थियो । अर्को कुरा वृत्रासुरसँगको युद्धमा उनलाई सघाउन देवजातिका राजा (तकालीन भूगोल अनुसार काश्यपसागर आसपासको भूमि जर्जिया– ककेशसपर्वतमाला तथा पर्शियन क्षेत्रका केही पहाडी क्षेत्र)का राजा इन्द्रसमेत आएकाले उनी आफैं पनि अन्यभन्दा बढी नै जानेमानेमा पर्दथे । तथापि छिमेकी कविलाका राजाले विभिन्न बाहनामा निहुँ झिकी बरोबर दु:ख दिने गरेकाले उनले सुखले बस्न भने पाएका थिएनन् ।
दाशराजयुद्धमा सुदासले तिनै क्षेत्रका राजाहरूको परिसंघलाई हराएका थिए, जसमा अनु, द्रुह्यु, यदु, पूरु, तुर्वसु र अन्य स–साना कविलाका सरदारहरू (आफगानिस्तानको नूरिस्तान क्षेत्रको पूर्वोत्तर इलाकातिरका आलीन, भृगुका वंशज भार्गवगण, अर्को क्षेत्र बोलन दार्रातिरका भालन तथा मत्स्य र पर्शियन क्षेत्रका निवासी परसु एवं दानवराज पणि) आदि पर्दथे ।
महाभारत कालभन्दा अघिको मानिएको यस युद्धमा सुदासको फौजको नेतृत्व सुदास आफैंले गरेका थिए, जसलाई सघाउने काम देवजातिले गरेका थिए भने प्रमुख सल्लाहकारमा उनकै मूल पुरोहित वशिष्ठ रहेका थिए । उता दाशराजाहरूको नेतृत्व भने सुदासको छिमेकी राज्य (हस्तिनापुर)का राजा संवरणले गरेका थिए । उनीहरूका सल्लाहकारमा दाशराजका मूल पुरोहित विश्वामित्र रहेका थिए ।
अब लागौं युद्धको मूल कारण खोज्नतिर । जतिबेला आफ्नै बाहुबलले स्वर्गको राज्य हस्तावलम्बन गर्न पुगेका नहुषलाई देवजातिले अपमानजनक ढङ्गले सत्ताच्युत गरि हटाइदिएका थिए, त्यतिबेला उनका भाइ रजिले यसलाई सहन सकेनन् र स्वर्गमाथि आक्रमण गर्न पुगेका थिए । आक्रमणमा असुरजाति र दैत्यजातिको समेत सहयोग प्राप्त गरेकाले रजिको पल्लाभारी हुन पुग्यो र देवजातिको भागाभाग चल्यो । यसबाट देवजातिमा भयंक संकट निम्तियो । सबैभन्दा बढी आपत सम्राट इन्द्रलाई परेको थियो । त्यसैले उनले पैजवनपुत्र सुदाससित सहयोग माग्ने विचार गरी वशिष्ठलाई पठाएका थिए ।
यसै पनि सुदासले इन्द्रबाट अघि (वृत्तासुरसँग युद्ध हुँदा) प्राप्त गरेका सहयोगलाई बिर्सेका थिएनन् । त्यसमाथि वशिष्ठमार्फत् सहयोग माग भएपछि उनले एउटै तीरले दुई शिकार गर्ने विचार गरे, जसमा पहिलो आफूलाई राजा इन्द्रबाट भएको सहयोगको गुन तिर्नु थियो भने अर्को छिमेकी कविलाहरूसँग बदला लिनु थियो ।
फलत: रावीनदीको तटमा सुदाससहित देवजातिका फौज र मानवजाति रजिको फौजबीच घमासान युद्ध भयो । युद्धमा सुदासलाई देवजाति र केही सहयोगी मित्रहरूले सघाएका थिए भने रजिलाई सघाउन चन्द्रवंशी राजा ययातिका पुत्रहरू यदु, तुर्वसु, अनु, द्रुह्यु तथा पुरुका सन्तान र मनुर्भरतलगायत सारा अनार्यजन आएका थिए । यीबाहेक भार्गवजन, पुरोदास, तथा त्यस क्षेत्रका १० राजा (कविलाका राजा)हरूले पनि साथ दिएका थिए । दानवसम्राट बर्चिनसमेत एक लाख फौज लिएर रजिको सहयोगमा आएका थिए ।
युद्ध चर्किँदै जाँदा रजिका फौजलाई रावी नदी तर्नुपर्ने अवस्था आयो । किनभने सुदास रावी पारीको दुर्गमा बसेर निर्देशन गरिरहेका थिए । त्यसैले नदीमा बाँध बाँधेर दुई भागमा विभक्त गरी पार गर्ने योजना बनाएका थिए तर भइदियो के भने यसको संकेत सुदासले शुरूमै पाएका थिए । जतिबेला उनीहरू नदी तर्न लागेका त्यसैबेला सुदासको फौजले बाँध भत्काइदिए ।
फलत: रजिपक्षका हजारौं सेना नदीमा डुबेर मरे । अनु र द्रुह्युको ६६ सेनानायक तथा हजारौं सेनालाई नदीले बगाएको थियो भने वर्चिनको एक लाख ५०० सेनाको एकै चिहान भएको थियो । यसबाहेक अन्य कैयौं वीरहरू युद्धस्थलमै मारिएका थिए भने कैयौंले सुदासको नेतृत्व स्वीकार गरेका थिए । यसरी सुदासले उनीहरूको दर्जनौं किल्लामाथि कब्जा जमाउने काम गरेका थिए । फलत: भूलोकमा राजा सुदासको एकछत्र सत्ता कायम भएको थियो भने देवलोक देवजातिको अधीनमा पुगेको थियो ।
युद्धको समाप्तिमा सुदासले ठूलो विजयोत्सव मनाए । यथासक्य पुरस्कार दिएर आफ्ना पक्षका सबैलाई सम्मान गरे । परासर, वशिष्ठ तथा भरद्वाज आदि धर्मगुरुहरूलाई प्रशस्त धनसम्पत्ति दान दिएर पठाएका थिए ।
वशिष्ठले यस युद्धमा सुदासलाई निकै ठूलो सहयोग गरेका थिए । सुदासले पनि उनलाई राम्रै सम्मान दिएका थिए तर पछि कुनै कारणवश मनमुटाव भएकाले उनी सुदासलाई छाडेर कुरु प्रदेश हस्तिनापुरका राजा संवरणकहाँ आश्रय लिन पुगे । संवरणलाई सुदासले यसअघिको युद्धमा राम्रै पराजय चखाएका थिए, जुन कुरा उनले बिर्सेका थिएनन् । त्यसैले वशिष्ठको सल्लाहमा उनी सुदासमाथि आक्रमण गर्न पुगेकाले त्यसैको कारण सुदासको मृत्यु भएको थियो ।
यसरी रजिको हठका कारण दाशराज युद्धमा अनावश्यक ठूलो धनजनको क्षति भएको थियो । लाखौं निर्दोषको रगत बगेको थियो भने इतिहासमा कहिल्यै नमेटिने दाग लगाउने कामसमेत गर्यो । यसको अर्थ सबै नराम्रो नै भयो भन्ने होइन, केही राम्रो काम पनि भएको थियो, जसमा एउटा लामो समयसम्म आर्य तथा अनार्यजनमाथि परेको सांस्कृतिक प्रभावलाई लिन सकिन्छ ।