१४ असार २०८३, आइतबार
इलाम-१ को चुनावी विश्लेषण

‘लालकिल्ला’मा नयाँ उम्मेदवारको परीक्षा : खनालले खाली गरेको मैदानमा कसको पल्ला भारी ?

माघ २४, २०८२
विराटनगर
‘लालकिल्ला’मा नयाँ उम्मेदवारको परीक्षा : खनालले खाली गरेको मैदानमा कसको पल्ला भारी ?

‘लालकिल्ला’को उपमा पाएको इलाम–१ पूर्वप्रधानमन्त्री झलनाथ खनालको पाँच दशक लामो राजनीतिक विरासत जोडिएको क्षेत्र हो। कुनै समय खनालको नाम नै जितको ग्यारेन्टी मानिने यो क्षेत्रको अहिलेको अवस्था भने भिन्न छ। खनालको साख जोगाउने संघर्ष र नयाँ उदयको अग्निपरीक्षा यतिबेला चलिरहेको छ।

२०४८ देखि २०७४ सम्मका निर्वाचनमा प्राय: अपराजित खनालका लागि २०७९ को निर्वाचन एउटा दुःखद मोड बन्यो। एमाले विभाजनपछि तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट चुनाव लडेका खनाल आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँग २ हजार ६ सय ६४ मतान्तरले पराजित भए।

त्यसपछि यस क्षेत्रको शक्ति सन्तुलन पूर्णरूपमा बदलिएको छ। यसपालि खनाल उम्मेदवार छैनन्; उनको अनुपस्थितिमा १३ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

सूर्योदय नगरपालिकाको मेयरमा आमने–सामने भएका दुई बलिया सारथिहरू फेरि एकपटक प्रतिनिधिसभाका लागि भिडिरहेका छन्। नेकपा (एमाले)का काजीमान कागते र नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राईबीचको यो भिडन्तलाई धेरैले ‘इलेक्सन रिम्याच’का रूपमा हेरेका छन्।

गत स्थानीय चुनावमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा होमिएका कागतेलाई तत्कालीन पाँच दलीय गठबन्धनको बलमा रणबहादुरले पराजित गरेका थिए। अहिले परिस्थिति फेरिएको छ। यसपटक कुनै पनि ठूला दलबीच औपचारिक चुनावी तालमेल वा गठबन्धन छैन।

राई स्थानीय सरकारको सफल नेतृत्व र विकासको ‘कार्ड’ फाल्दै सिंहदरबार छिर्ने दाउमा छन् भने कागते पुरानो हारको बदला लिँदै एमालेको बलियो विरासत फर्काउन मरिहत्ते गरिरहेका छन्। यी दुवै नेताले विकास र समृद्धिलाई नै आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

यही त्रिकोणात्मक भिडन्तमा नेपाली कांग्रेसले एउटा ठूलो राजनीतिक दाउ खेलेको छ। दुई पुराना र स्थापित हस्तीहरूविरुद्ध कांग्रेसले ३५ वर्षीय युवा निस्कल राईलाई मैदानमा उतारेको छ। कागते र रणबहादुर राई विकासको अनुभव सुनाइरहँदा निस्कलले ‘युवा जोस, नयाँ भिजन र परिवर्तन’ को नारा दिएर मतदाताको मन जित्ने प्रयास गरिरहेका छन्। ३५ वर्षे युवाको यो प्रवेशले पाका नेताहरूको चुनावी गणितलाई निकै चुनौतीपूर्ण बनाइदिएको छ। पहाडी इलाकामा कांग्रेसको संगठन र युवा मतदाताको आकर्षण निस्कलको मुख्य शक्ति हो।

अघिल्लोपटक कांग्रेस, माओवादी र एकीकृत समाजवादीको साथ पाउँदासमेत खनालले हार बेहोरेका थिए भने एमाले एक्लै लडेर जितेको थियो। यसपटक सबै दल आफ्नै खुट्टामा उभिएका छन्। यसले इलाममा कुन दलको वास्तविक जनमत कति छ भन्ने कुरा आगामी नतिजाले देखाउनेछ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ २० हजार ५ सय ६४ मत ल्याएर एमाले पहिलो बनेको थियो। कांग्रेसले १६ हजार ४ सय ५० मत ल्याउँदा एकीकृत समाजवादीले ८ हजार २१ मत पाएको थियो। तत्कालीन नेकपा (माओवादी केन्द्र) ले भने १ हजार ६ सय ४९ मत मात्रै पाएको थियो। तर, यसपटक मतदाताको मनोविज्ञान र नयाँ शक्तिको उदयले यो तथ्याङ्कमा ठूलो हेरफेर ल्याउन सक्ने देखिन्छ।

मैदानमा केवल तीन दल मात्र छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल गदाल र श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूले पनि ठूला दललाई कडा चुनौती दिइरहेका छन्। तराईका सहरहरूमा देखिएको रास्वपाको लहर पहाडी भेगमा कति पस्ला भन्ने चासो सर्वत्र छ। विशेषगरी जनजाति बाहुल्य क्षेत्र भएकाले सबैजसो प्रमुख दलले सोही समुदायका उम्मेदवार उठाएर जातीय र सांस्कृतिक मत तान्ने रणनीति बुनेका छन्। यहाँ हर्क साम्पाङको पार्टीले पनि केही असर पार्ने स्थानीयहरू बताउँछन्।

सन्दकपुरको उच्च पहाडदेखि सूर्योदयको मनमोहक चियाबारी र रोङको फाँटसम्म फैलिएको यो क्षेत्रमा कूल १ लाख १२ हजार ३ सय २० मतदाता छन्। सन्दकपुर, माइजोगमाई, रोङ गाउँपालिका, सूर्योदय नगरपालिका र इलाम तथा माई नगरपालिकाका केही वडाहरू समेटिएको यो निर्वाचन क्षेत्रले आगामी फागुन २१ गते आफ्नो नयाँ प्रतिनिधि छनोट गर्नेछ।

salt training

कमेन्ट गर्नुहोस्