२६ जेठ २०८३, मंगलबार

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण चैत १३ देखि १५ सम्म

माघ २४, २०८२
काठमाडौं
टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण चैत १३ देखि १५ सम्म

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण आउँदो चैत १३ देखि १५ गतेसम्म हुने भएको छ । 

स्थापनाकालदेखि नै ‘साहित्यमार्फत् सामाजिक सद्‌भाव’को नारा बोकेको टीकापुर साहित्य समाजले तेस्रो संस्करणको घोषणा गरेको हो ।

शनिबार पत्रकार सम्मेलनमार्फत त्रिदिवसीय साहित्य महोत्सवको मिति र समयतालिका सार्वजनिक गरिएको महोत्सवका संस्थापक संयोजक साहित्यकार महेशविक्रम शाहले जानकारी दिए ।

महोत्सवको तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेष हुनेछ । जम्मा २१ बहस सत्र रहने महोत्सवमा प्रत्येक दिन सात बहस सत्र सञ्चालन हुनेछन् । हरेक बहस सत्र १/१ घण्टाको हुने शाहले बताए । 

महोत्सव चैत १३ गते भाषाविद् तथा नेपाली र अन्य ६० भाषाका वर्णमालाका निर्माता माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचनबाट आरम्भ हुनेछ।

विशेषगरी नेपालमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ (देउखुरी)मा थारू समुदायको बाहूल्य छ । थारू भाषा, थारू लोक साहित्य तथा संस्कृति नेपालको विशिष्ट मौलिक सांस्कृतिक परम्परा र पहिचान भएकोले महोत्सवले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यर लिएको संयोजक शाहले जानकारी दिए । 

‘हाम्रा रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रुपमा विकास गर्दै भावी पुस्ताका लागि जोगाएर राख्न र यसको गरिमा र महत्त्वलाई नयाँ पुस्तासम्म पुस्तान्तरण गर्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू महत्त्वपूर्ण माध्यम हुन्,’ संयोजक शाहको भनाइ छ ।

null

यसबाहेक महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति, विकासलगायत विधाका अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी र आम नागरिकहरूबीच छलफल हुनेछन् ।

महोत्सवको महत्त्वपूर्ण कार्यक्रमका रूपमा सुदूरपश्चिम प्रदेशका सर्जकका लागि सुदूरपश्चिम कविता महोत्सव रहने छ।

कविता महोत्सवमा प्रथम हुने कवितालाई १५ हजार‚ द्वितीयलाई १० हजार र तृतीयलाई पाँच हजार रूपैयाँ  पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । 

सान्त्वनास्वरूप दुईजनालाई प्रमाणपत्र प्रदान गरिने छ । महोत्सवमा सहभागी उत्कृष्ट कविताहरूको सङ्ग्रह पनि प्रकाशन गरिने आयोजकले जनाएको छ ।

अतिथि आगमनको दिन सहभागीहरूलाई महोत्सवको नारा ‘उडेर, गुडेर, तैरिएर टीकापुर’लाई सार्थकता दिन र टीकापुर भेगको पर्यटन प्रवर्द्धन गर्न कर्णाली नदीमा जलविहार गराइने छ ।

त्यहीँ साँझ थारू संस्कृतिको प्रवर्द्धन गर्ने हेतुले ‘थारू सांस्कृतिक साँझ’ आयोजन गरिनेछ । महोत्सव अवधिभर पुस्तक प्रदर्शनीसमेत हुनेछ । टीकापुर साहित्य समाजले हरेक वर्ष साहित्य महोत्सव गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्