१५ असार २०८३, सोमबार

एपस्टीन फाइल्समा अनिल अम्बानीसँगको संवाद सार्वजनिक भएको दाबी

माघ २४, २०८२
काठमाडौं
एपस्टीन फाइल्समा अनिल अम्बानीसँगको संवाद सार्वजनिक भएको दाबी

अमेरिकी न्याय विभागले सार्वजनिक गरेका यौन अपराधी जेफ्री एपस्टीनसम्बन्धी कागजातमा भारतीय उद्योगपति अनिल अम्बानीसँग सम्बन्धित संवादसमेत समावेश भएको दाबी गरिएको छ। सन् २०१७ देखि २०१९ बीच एपस्टीन र अंबानीबीच भएको भनिएको इमेल तथा च्याट संवाद सार्वजनिक भएपछि नयाँ विवाद उत्पन्न भएको छ।

ब्लूमबर्गको रिपोर्टअनुसार दुवैबीच कारोबार, अन्तर्राष्ट्रिय विषय र व्यक्तिगत भेटघाटका सन्दर्भमा कुराकानी भएको देखिन्छ। सन् २०१७ मार्च ९ मा भएको एक संवादमा भेटलाई “रमाइलो” बनाउन स्वीडेनकी सुनौलो कपाल भएकी महिलाको व्यवस्था गर्न सकिने सुझाव एपस्टीनले दिएको उल्लेख छ। त्यसको जवाफमा अंबानीले “व्यवस्था गर” भनेको दाबी गरिएको छ।

रेकर्डअनुसार पेरिस र न्यूयोर्कमा भेटघाटको योजना बनेको थियो। सन् २०१९ मे महिनामा अंबानी न्यूयोर्क भ्रमणमा रहेका बेला एपस्टीनले म्यानह्याटनस्थित आफ्नो निवासमा बोलाएको र त्यहाँ भेट भएको उल्लेख गरिएको छ। अन्य इमेलमा अन्तर्राष्ट्रिय यात्रा, व्यापारिक भेटघाट र वर्ल्ड इकोनोमिक फोरमसँग सम्बन्धित सम्भावित भेटबारे पनि संवाद भएको देखिन्छ।

च्याटमा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हलिउडसँग सम्बन्धित प्रसंग पनि समेटिएको जनाइएको छ। एक संवादमा मनपर्ने अभिनेत्रीबारे सोधिएको प्रश्नमा अम्बानीले स्कारलेट जोहानसनको नाम उल्लेख गरेको बताइएको छ। त्यतिबेला रिलायन्स इन्टरटेनमेन्ट जोहानसन अभिनीत फिल्म ‘घोस्ट इन द शेल’को सह–निर्माता रहेको उल्लेख छ। अंबानीका प्रतिनिधिले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको बताइएको छ।

कागजातमा भारतीय तथा भारतीय मूलका अन्य केही चर्चित व्यक्तिहरूसँग एपस्टीनको सामाजिक वा व्यावसायिक सम्पर्क रहेको उल्लेख भए पनि त्यस्ता नाम समावेश हुनु अपराधको प्रमाण नभएको स्पष्ट पारिएको छ।

एपस्टीन न्यूयोर्कका धनी वित्तीय व्यवसायी थिए, जसको राजनीतिक तथा मनोरञ्जन क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध रहेको भनिन्छ। सन् २००८ मा नाबालिगसँग सम्बन्धित यौन अपराधमा दोषी ठहर भई उनले १३ महिना जेल सजाय भोगेका थिए। सन् २०१९ मा सेक्स ट्राफिकिङ आरोपमा पुनः पक्राउ परेका एपस्टीनको मुद्दा सुरु हुनुअघि नै जेलमा मृत्यु भएको थियो, जसलाई आधिकारिक रूपमा आत्महत्या भनिएको छ।

उनकी सहयोगी गिस्लीन म्याक्सवेललाई सन् २०२१ मा मानव तस्करीसम्बन्धी अपराधमा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाइएको थियो। एपस्टीन प्रकरण सार्वजनिक भएपछि विश्वभर उनका सम्पर्क सञ्जाल र गतिविधिबारे अनुसन्धान र बहस तीव्र बनेको थियो।

salt training

कमेन्ट गर्नुहोस्