
जापानमा आइतबार सम्पन्न मध्यावधि निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) ले जित हासिल गर्ने देखिएको छ।
एक्जिट पोलहरूका अनुसार ताकाइचीको गठबन्धनले तल्लो सदनको कुल ४६५ सिटमध्ये ३६६ सिटसम्म जित्न सक्ने प्रक्षेपण गरिएको छ। जापानको पहिलो महिला प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको चार महिनामै ताकाइचीले जनताबाट स्पष्ट जनमत प्राप्त गर्ने देखिएको हो।
यो जित उनका दुई पूर्ववर्ती प्रधानमन्त्रीहरूको तुलनामा निकै उत्साहजनक मानिएको छ। निर्वाचनको परिणामलाई ताकाइचीको व्यक्तिगत लोकप्रियता र उनको 'पपुलिस्ट' कार्यशैलीको परिणामका रूपमा हेरिएको छ।
करिब ७० प्रतिशतको उच्च एप्रुभल रेटिङ कायम राख्न सफल प्रधानमन्त्रीले चुनावअघि आफ्नो पार्टीले बहुमत नल्याएमा राजीनामा दिने घोषणा गरेकी थिइन्। ३६ वर्षपछि पहिलो पटक हिउँदको समयमा भएको यस निर्वाचनमा टोकियो लगायतका क्षेत्रमा भारी हिमपात र यातायात अवरुद्ध भए तापनि मतदाताहरूको उत्साहजनक सहभागिता रह्यो।
विशेष गरी सामाजिक सञ्जालमा सक्रिय ताकाइचीले युवा मतदाताहरूलाई आकर्षित गर्न सफल भएको देखिन्छ। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग ड्रम बजाएको उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो, जसले उनलाई युवा पुस्तामाझ लोकप्रिय बनाउन मद्दत पुर्याएको बीबीसीको समाचारमा उल्लेख छ ।
आफ्नो चुनावी अभियानका क्रममा ताकाइचीले राष्ट्रिय सुरक्षा, खर्च वृद्धि र कर कटौती जस्ता एजेन्डाहरूलाई प्राथमिकता दिएकी थिइन्।
उनले अध्यागमन प्रणालीमा कडाइ गर्ने र विदेशीहरूको भूमि स्वामित्वमाथि पुनरावलोकन गर्ने जस्ता राष्ट्रवादी नीतिहरू अघि सारेकी छन्।
यद्यपि, आलोचकहरूले भने उनका यस्ता नीतिले समाजमा विभाजन ल्याउन सक्ने र थप ऋणमा रहेको जापानी अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
विशेष गरी चीनसँगको सम्बन्धमा उनले लिएको कडा अडान र ताइवान मामिलामा सैन्य हस्तक्षेपको सम्भावनाबारे दिएको अभिव्यक्तिले भविष्यमा कूटनीतिक चुनौती थप्ने आकलन गरिएको छ।
मतदाताहरूले रक्षा बजेट र दैनिक जीवनयापनको लागतबीच सन्तुलन मिलाउनुपर्ने चुनौतीका बावजुद ताकाइचीको नेतृत्वमाथि विश्वास देखाएका छन्।