
नवलपरासीको सरावल गाउँपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयको नाममा रहेको जग्गाबाट तोकिएको भन्दा बढी माटो उत्खनन् गरेको आरोपमा दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आर्थिक अनियमितता गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरी र सम्झौताकर्ता दिनेश यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरी र रामग्राम नगरपालिका–४ का दिनेश यादवबीच विद्यालयको स्वामित्वमा रहेको कित्ता नं. २९५ को करिब १० कठ्ठा जग्गालाई कृषियोग्य बनाउन माटो उत्खनन् गर्ने सम्झौता भएको थियो । तर, गाउँपालिकाले अनुमति दिएको परिमाणभन्दा बढी माटो उत्खनन् तथा निकासी गरिएको पाइएको आयोगले जनाएको छ ।
अनुसन्धानमा गाउँपालिकाको अनुमति तथा सिफारिसअनुसार मात्र माटो निकासी गर्नुपर्नेमा प्रतिवादीहरूको आपसी मिलेमतोमा तोकिएको परिमाणभन्दा अस्वाभाविक रूपमा बढी माटो उत्खनन् गरी निकासी गरिएको तथ्य सरावल गाउँपालिका र आयोगबाट गरिएको स्थलगत नापजाँचबाट पुष्टि भएको प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् ।
उनका अनुसार यस कार्यबाट चौधरी र यादवले विद्यालय तथा गाउँपालिकालाई हानि नोक्सानी पुर्याई आफूहरूलाई गैरकानूनी लाभ दिलाउने बदनियत देखिएको छ । सोही आधारमा अध्यक्ष चौधरीले पद तथा ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको निष्कर्ष निकालिएको हो।
उक्त कार्यबाट १० लाख ८ हजार ७ सय ३ रूपैयाँ ७४ पैसा बराबरको नोक्सानी भएको भन्दै आयोगले सोही बमोजिमको बिगो कायम गरेको छ । जनही १० लाख ८ हजार ७ सय ३ रूपैयाँ ७४ पैसा बिगो कायम गरेर आरोपपत्र दायर गरिएको प्रवक्ता न्यौपानेले बताए ।