
चीनको सांघाईमा सार्वजनिक गरिएको ‘मोया’ नामको नयाँ रोबोट यतिबेला चर्चामा छ । कारण केवल यो हिँडडुल गर्न सक्ने रोबोट हुनु मात्र नभइ मानिसजस्तै देखिने र व्यवहार गर्ने गरी विकास गरिएको हो ।
पहिलो नजरमै यो मेसिनभन्दा बढी मानवीय पुतलाजस्तै देखिन्छ । आँखाको चाल, टाउको हल्लाउने तरिका र हल्का मुस्कानजस्ता गतिविधिले यसलाई अन्य रोबोटभन्दा फरक बनाएको छ ।
मोयालाई अगाडि उभिएको व्यक्तिलाई यो मेसिन जस्तो महसुस नहोस् भन्ने गरी डिजाइन गरिएको छ । यसको छालालाई हल्का न्यानो बनाइएको छ, जसले छुँदा मानवीय अनुभूति दिन्छ । कसैले नजिक उभिएर कुरा गरेपछि रोबोटले आँखामा आँखा मिलाउँछ र अगाडि रहेको व्यक्तितर्फ ध्यान दिन्छ ।
यिनै साना–साना व्यवहारले मानिसहरूलाई अचम्मित बनाइरहेका छन् । सामान्यतया रोबोटमा यस्तो व्यवहार देखिँदैन । यस रोबोटभित्र क्यामेरा र सेन्सर जडान गरिएको छ । यसले अगाडि रहेको व्यक्तिको अनुहार र हाउभाउ पहिचान गर्छ । यही कारण यसलाई बायोमेट्रिक–आधारित रोबोटसमेत भनिँदै आएको छ । सेन्सरमार्फत प्राप्त सूचनालाई एआई प्रणालीले प्रशोधन गरेर रोबोटका आँखा, अनुहार र शरीरको चाल निर्धारण गर्छ ।
बाहिरबाट हेर्दा यी सबै गतिविधि स्वाभाविक देखिए पनि वास्तवमा यो पहिल्यै सेट गरिएका ढाँचाअनुसार सञ्चालन हुन्छ । रोबोटले आफैँ केही महसुस गर्दैन, डाटाका आधारमा मात्र प्रतिक्रिया जनाउँछ ।
यस्तै मानवीय व्यवहारकै कारण नयाँ बहस सुरु भएको छ । धेरैले यसलाई ज्येष्ठ नागरिकको हेरचाह, अस्पताल वा ग्राहक सेवाजस्ता क्षेत्रमा उपयोगी हुन सक्ने बताएका छन् । त्यस्ता ठाउँमा मेसिन मानिसजस्तै देखियो भने सेवाग्राहीलाई सहज महसुस हुन सक्छ ।
रोबोट पार्टनर वा कम्प्यानियन ?
तर सामाजिक सञ्जालमा केहीले यसलाई कम्प्यानियन रोबोटको रूपमा हेर्न थालेका छन् । रोबोटको छाला न्यानो हुनु र मानिसझैं हेर्नु तथा प्रतिक्रिया दिनुले अपनत्वको अनुभूति दिलाउन सक्छ । के हामी मेसिनसँग भावनात्मक सम्बन्ध गाँस्ने दिशातर्फ बढिरहेका छौँ भन्ने प्रश्न उठेको छ ।
प्रविधिको दृष्टिले हेर्दा मोया अझै मानवीय सोचको नजिक पुगेको छैन । यसले अनुहारको हाउभाउ र आवाजको टोन पहिचान गर्न सक्छ । तर सन्दर्भ र भावनालाई गहिरो रूपमा बुझ्नु मेसिनका लागि अझै चुनौतीपूर्ण छ ।
कसैको उदासी, रिस वा खुशी केवल अनुहार हेरेर बुझ्नु सजिलो हुँदैन । त्यसैले यस्ता रोबोटहरू हाल सीमित अवस्थामै प्रभावकारी रूपमा काम गर्न सक्छन् ।
यस किसिमका ह्युमानोइड रोबोटहरू सामान्य घरघरमा पुग्नु अहिलेको अवस्थामा टाढाको कुरा हो । यस्ता रोबोट निर्माण महँगो पर्छ । यसका लागि विशेष हार्डवेयर, सेन्सर र एआई प्रणाली आवश्यक पर्छ ।
सुरुमा यिनको प्रयोग अनुसन्धान, अस्पताल वा विशेष सेवा क्षेत्रमा बढी देखिन सक्छ । प्रविधि क्रमशः सस्तो बन्दै गएपछि मात्र सर्वसाधारणसम्म पुग्ने अपेक्षा गर्न सकिन्छ ।
मोयाजस्ता मेसिनहरूले रोबोटिक्स अब कारखाना र गोदाममा मात्र सीमित नरहेको स्पष्ट देखाउँछन् । मेसिनहरू अब मानवीय स्थानमा प्रवेश गरिरहेका छन् । यो परिवर्तन ठूलो हो, तर यससँगै धेरै प्रश्न पनि जोडिएका छन् । के मानिसजस्तै देखिने मेसिनले हाम्रो जीवन सहज बनाउनेछ ? वा हामी प्रविधिलाई त्यस्तो दिशामा लैजाँदैछौं जहाँ मानवीय सम्बन्धको स्थान मेसिनले लिन थाल्नेछ ? यस विषयमा बहस भने अहिले मात्रै सुरु भएको छ ।