
बलिउड अभिनेता राजपाल यादवले चेक बाउन्ससम्बन्धी मुद्दामा गत साता बिहीबार तिहाड जेलमा आत्मसमर्पण गरेका छन् ।
उनको आर्थिक संकटबारे सञ्चारमाध्यममा आएका रिपोर्टपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । यसैबीच केही व्यक्तिहरूले उनलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
मंगलबार बलिउड अभिनेता सोनु सूदले आफ्ना आगामी प्रोजेक्टका लागि राजपाल यादवलाई साइनिङ अमाउन्ट दिने जानकारी दिएका छन् । त्यस्तै, लालु यादवका छोरा तथा जन शक्ति जनता दलका नेता तेज प्रताप यादवले पनि आर्थिक सहयोगको घोषणा गरेका छन् ।
दिल्ली उच्च अदालतले राजपाल यादवलाई फेब्रुअरी ४ सम्म आत्मसमर्पण गर्न समय दिएको थियो । तर उनी फेब्रुअरी ५ मा तिहाड जेल पुगेका थिए ।
दिल्ली उच्च अदालतले भनेको थियो,‘अदालतका निर्देशनहरूको अवहेलना गर्नु भनेको कानूनप्रति सम्मानको कमी देखिनु हो । अभिनेता वा फिल्म उद्योगसँग आबद्ध भएको आधारमा कुनै विशेष छुट दिन सकिँदैन ।’
मिडिया रिपोर्टका अनुसार जेलमा आत्मसमर्पण गर्नुअघि राजपाल यादव भावुक भएका थिए ।
यसपछि फिल्म उद्योगसँग सम्बन्धित धेरै व्यक्तिहरूले उनको सहयोगका लागि आह्वान गरेका छन् ।
बलिउड अभिनेता सोनु सूदले राजपाल यादवलाई ‘प्रतिभाशाली अभिनेता, जसले वर्षौंसम्म फिल्म उद्योगलाई यादगार काम दिएका छन्’ भनेर प्रशंसा गरेका छन्।
एक्स (पूर्व ट्विटर)मा उनले लेखेका छन्, ‘कहिलेकाहीँ चीजहरू गलत दिशातर्फ मोडिन्छन् । यो प्रतिभाको कमीका कारण होइन, समयको कठोरताका कारण हुन्छ । राजपाल यादव मेरो फिल्मको हिस्सा हुनेछन् । यो त्यो क्षण हो जब निर्माता, निर्देशक र कलाकारहरू सबैले उनको साथ दिनुपर्छ ।’
उनले भविष्यको काममा समायोजन हुने सानो साइनिङ अमाउन्ट दान नभइ सम्मान भएको बताए ।
यस्तै तेज प्रताप यादवले आफ्नो एक्समा राजपाल यादवको परिवारले भोगिरहेको पीडाबारे जानकारी प्राप्त भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस अत्यन्त कठिन समयमा म र सम्पूर्ण जन शक्ति जनता दल परिवार उहाँको परिवारसँग दृढताका साथ उभिएका छौँ । मानवीय करुणा र सहयोगको भावनाले जेजेडी परिवारको तर्फबाट ११ लाख रुपैयाँको आर्थिक सहयोग उहाँको परिवारलाई प्रदान गर्दैछु ।’
अभिनेता गुरमीत चौधरीले पनि फिल्म उद्योगसँग आबद्ध व्यक्तिहरूलाई सहयोगका लागि अघि आउन आग्रह गरेका छन् । उनले एक्समा लेखेका छन्,‘राजपाल यादवज्यूजस्ता वरिष्ठ र अत्यन्त प्रतिभाशाली कलाकारलाई यति पीडादायी समयबाट गुज्रिरहेको देख्दा मन दुख्छ । उहाँले हामीलाई अनगिन्ती मुस्कान, हाँसो र अविस्मरणीय क्षणहरू दिनुभएको छ । आज उहाँलाई हाम्रो आवश्यकता छ ।’
पूरा मामला के हो ?
अदालतको कार्यवाहीअनुसार राजपाल यादवविरुद्धको यो मुद्दा फिल्म ‘अता–पता–लापता’ सँग सम्बन्धित छ । सन् २०१० मा मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेड नामक कम्पनीले उक्त फिल्मका लागि करिब पाँच करोड रुपैयाँ लगानी गरेको थियो ।
अदालतका अनुसार फिल्म बक्स अफिसमा सफल हुन सकेन, जसका कारण अभिनेता आर्थिक संकटमा परे र कम्पनीलाई रकम फिर्ता गर्न सकेनन् ।
लाइभ लअका अनुसार अदालतले भनेको छ, ‘अदालत यो निष्कर्षमा पुगेको छ कि याचिकाकर्ता नम्बर १ (राजपाल यादव)को आचरण निन्दनीय छ । पटक–पटक आश्वासन दिएर पनि उनले अदालतले दिएको आदेशको पालना गरेनन् ।’
कर्जा भुक्तानीका लागि दिइएका धेरै चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । सन् २०१८ मा दिल्लीको तल्लो अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको थियो ।
पछि यो मुद्दा दिल्ली उच्च अदालत पुगेको थियो । यहाँ सजायमा रोक लगाइएको थियो । अदालतले बक्यौता रकम तिर्ने सर्तमा रोक लगाएको भए पनि निर्धारित समयमा भुक्तानी हुन सकेन ।
सन् २०२४ मा उच्च अदालतले पुनः सजायमा रोक लगाएको थियो । तर कर्जा तिर्ने आश्वासन पूरा हुन सकेन । डिसेम्बर २०२५ र जनवरी २०२६ मा पनि राजपाल यादवले अदालतमा रकम तिर्ने आश्वासन दिएका थिए, तर असफल भए ।
यसपछि अदालतले फेब्रुअरी ४ मा आत्मसमर्पण गर्न आदेश दिएको थियो ।
यसअघि सन् २०१३ मा झुटो हलफनामा दिएको मुद्दामा पनि राजपाल यादवलाई डिसेम्बर ३ देखि ६ सम्म तिहाड जेल पठाइएको थियो ।
राजपाल यादवको भनाइ
तल्लो अदालतबाट सजाय पाएपछि अप्रिल २८, २०१८ मा शाहजहाँपुरमा आयोजित पत्रकार सम्मेलनमा राजपाल यादवले आफूलाई षड्यन्त्रपूर्वक फसाइएको दाबी गरेका थिए । उनले आफूले कुनै ठगी नगरेको बताएका थिए ।
उनले भनेका थिए, ‘फिल्म ‘अता–पता–लापता’ का लागि कम्पनीले पाँच करोड रुपैयाँ दिएको थियो, त्यो लगानी थियो । म त्यो फिल्मको निर्देशक कहिल्यै थिइनँ ।’
राजपाल यादव उत्तर प्रदेशको शाहजहाँपुर जिल्लाको पुवायाँका बासिन्दा हुन् । उनले लखनऊस्थित भारतेंदु नाट्य अकादमी तथा दिल्लीको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) बाट अभिनय अध्ययन गरेका छन् । ‘भूलभुलैया’, ‘फिर हेराफेरी’, ‘चुप चुप के’, ‘हंगामा’ जस्ता फिल्महरूमा उनले स्मरणीय हास्य भूमिका निभाएका छन् ।