
भारतीय रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा बसेको डिफेन्स एक्विजिसन काउन्सिलले नयाँ राफाल लडाकु विमान खरिदका लागि स्वीकृति दिएको हो । रक्षा बलको आवश्यक क्षमता अभिवृद्धिका लागि ३.६० लाख करोड भारतीय रुपैयाँ बराबरको ‘एक्सेप्टेन्स अफ नेसेसिटी (एओएन)’ लाई स्वीकृति दिएको हो ।
स्वीकृत योजनाअन्तर्गत वायुसेनाका लागि राफाल लडाकु विमान, कम्ब्याट मिसाइल तथा एएस–एचएपीएस समावेश छन् ।
रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार यस निर्णयको उद्देश्य एयर डोमिन्यान्स, डीप स्ट्राइक तथा पर्सिस्टेन्ट आईएसआई क्षमतामा सुदृढीकरण गर्नु हो । स्वीकृत उपकरणहरूमध्ये अधिकांशको निर्माण भारतमै गरिने जनाइएको छ ।
यस निर्णयले सेना र नौसेनालाई पनि आफ्नो क्षमता विस्तार गर्ने अवसर प्रदान गर्नेछ । त्यस्तै, कोस्ट गार्डले समुद्री निगरानी प्रणालीलाई थप मजबुत बनाउन सक्नेछ ।
समाचार संस्था पीटीआईका अनुसार भारतले ११४ वटा राफाल जेट तथा अन्य परियोजनाको खरिद स्वीकृत गरेको छ । यसको कुल लागत ३.६ लाख करोड भारतीय रुपैयाँ रहनेछ ।
रक्षा मन्त्रालयले बिहीबार फ्रान्ससँग ११४ वटा राफाल फाइटर जेट खरिद गर्ने लामो समयदेखि रोकिएको प्रस्तावलाई अन्ततः स्वीकृति दिएको हो । करिब १३ वर्षअघि पनि यस्तै प्रकारको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर त्यसबेला औपचारिक अनुमोदन हुन सकेको थिएन ।