
जसरी विभिन्न पेशाका लागि फरक–फरक पोशाक हुन्छन्, त्यसैगरी डाक्टरहरूलाई प्रायः सेतो लामो कोट (एप्रोन) लगाएको देखिन्छ । यसबाट डाक्टर भएको सहजै अनुमान गर्न सकिन्छ । तर डाक्टरहरू सामान्य अवस्थामा सेतो एप्रोन लगाउने भए पनि शल्यक्रियाका बेला भने सेतो युनिफर्म त्यागेर हरियो वा नीलो गाउनमा देखिन्छन् ।
वास्तवमा, यो कुनै फेसन होइन । शल्यक्रियाका क्रममा डाक्टरहरूले नीलो र हरियो रंगका कपडा लगाउनुको कारण उनीहरूको आँखाको थकान घटाउनेदेखि बिरामीको जीवन सुरक्षासम्मसँग जोडिएको छ ।
२०औँ शताब्दीमा सेतो कोटको प्रयोग
२०औँ शताब्दीको सुरुआतमा शल्यक्रियाका क्रममा सर्जनहरूले सेतो गाउन नै लगाउने गर्थे । किनकि सेतो रंगलाई सरसफाइको प्रतीक मानिन्थ्यो । तर सन् १९१८ को फ्लु महामारीपछि एन्टिसेप्टिक सिद्धान्तको विकाससँगै मास्क, पञ्जा र गाउनको प्रयोग व्यापक भयो ।
घण्टौँसम्म रगत र टिस्युमा ध्यान केन्द्रित गर्दा सेतो रंगले तेज प्रकाशमा चकाचौंध पैदा गर्ने समस्या देखियो । यसले सर्जनलाई टाउको दुखाइ हुने गरेको थियो ।
सन् १९१४ मा डाक्टर ह्यारी शेरम्यानले हरियो गाउन लगाएर शल्यक्रिया गरेपछि आँखालाई आराम मिलेको अनुभव गरे । त्यसपछि बिस्तारै अन्य डाक्टरहरूले पनि सेतो कोटको सट्टा हरियो वा नीलो गाउन प्रयोग गर्न थाले ।
नीलो र हरियो रंगको वैज्ञानिक आधार
हरियो रंग कलर ह्वीलमा रातो रंगको विपरीत रंग हो । शल्यक्रियाका क्रममा रातो रगत हेरेपछि हरियो रंग हेर्दा दृष्टि स्पष्टता (भिजुअल एक्युरेसी) सुधार हुन्छ र रातोका विभिन्न शेडहरू अझ स्पष्ट देखिन्छन् ।
लामो समयसम्म रातो रंगमा ध्यान केन्द्रित गर्दा आँखाभित्र रहेका ‘कोन सेल्स’ (रंग पहिचान गर्ने संवेदक) थाक्छन् । त्यसपछि सेतो सतहमा पनि हरिया धब्बा देखिन सक्छन् । तर सर्जनले हरियो गाउन हेर्छन् भने ती धब्बाहरू हराउँछन् । यसलाई ‘नेगेटिभ आफ्टर–इमेज इफेक्ट’ भनिन्छ । यसले आँखालाई विचलित हुन दिँदैन ।
बिरामीको सुरक्षासँग पनि सम्बन्धित
जानकारीअनुसार, हरियो र नीलो रंगले शरीरको संरचना (एनाटोमी) स्पष्ट देख्न मद्दत गर्छ । यसले शल्यक्रियामा गल्ती हुने सम्भावना कम गर्छ । यी रंगहरूले शान्त प्रभाव सिर्जना गर्छन् । यसले उच्च तनावको अवस्थामा पनि ध्यान केन्द्रित राख्न सहयोग पुर्याउँछ ।
यसबाहेक यी रंगमा रगतका धब्बा कम देखिन्छन् । विश्व स्वास्थ्य संगठन जस्ता संस्थाका मार्गनिर्देशनहरूले पनि यी रंगलाई संक्रमण नियन्त्रण र दृश्य स्पष्टतासँग जोडेका छन् । त्यसैले सानो देखिने यो परिवर्तनले घण्टौँसम्म चल्ने शल्यक्रियालाई अझ सुरक्षित बनाउँछ ।