२८ जेठ २०८३, बिहीबार
चुनावी ग्राउन्ड जिरो

रुपन्देही-५ मा स्थापित शक्ति र नयाँबीचको परीक्षा

फागुन २, २०८२
बुटवल
रुपन्देही-५ मा स्थापित शक्ति र नयाँबीचको परीक्षा

विश्वभरका बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर हो, शान्तिभूमि लुम्बिनी । विकसित जिल्लाको पछाडि परेको क्षेत्रका रूपमा चिनिने लुम्बिनी रुपन्देही क्षेत्र नम्बर–५ मा पर्छ । यही क्षेत्रबाट पटक–पटक संघ र प्रदेशका सांसद र मन्त्री जन्माए पनि यो क्षेत्र विकासमा पछाडि छ । 

‘विकासको छायाँ’ नपरेको विश्वसामु नेपाललाई परिचित गराउने लुम्बिनीलाई समृद्ध बनाउने पात्र जन्माउन (सांसद) २१ फागुनमा निर्वाचन हुँदैछ । अहिले आम निर्वाचनको माहोल र रस्साकस्सीले यो क्षेत्र ढपक्कै ढाकेको छ । यस क्षेत्रमा झण्डै तीन दशकदेखि उम्मेदवार रहँदै आएका नेपाली कांग्रेसबाट भरतकुमार शाह, नेकपा एमालेबाट खिमलाल भट्टराई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) महम्मद वकिल मुसलमान, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तौफिक अहमद खान, जनता समाजवादी पार्टी (जसपा)बाट ओमप्रकाश यादव (गुञ्जारी)सहित २७ उम्मेदवार चुनावी मैदानमा छन् ।

जसमध्ये २० दलका हुन भने, ७ स्वतन्त्र छन् । झण्डै एक दशकपछि एक्ला एक्लै प्रतिस्पर्धा हुन लागेको यो क्षेत्रमा चुनावी घम्साघम्सी हुने देखिन्छ । यो क्षेत्रमा अहिलेसम्म कुनै पनि पार्टीले आफ्नो लागि ‘ग्रीन जोन’ देख्न सकेको छैन । यो क्षेत्रमा निरन्तर एउटै उम्मेदवारले जितेको अवस्था पनि छैन । मिश्रित जातजाति, तराई मूल र पहाडी समुदायको बसोबास रहेको यो क्षेत्रमा मुख्यत: चार जना उम्मेदवार परिचित अनुहार हुन । सबै मतदातालाई आफ्नो पक्षमा पार्न आक्रामक रूपमा अगाडि बढिरहे पनि पराजित भइन्छ कि भन्ने डर उम्मेदवारहरूमा देखिन्छ ।

कञ्चनको हरैया बहमुखी क्याम्पसका प्रमुख प्रकाश खनालले यो क्षेत्रमा चोक चौतारामा नयाँ–नयाँ भन्ने सुनिएको बताउँछन् । ‘यस क्षेत्रमा पनि नयाँ नयाँ भन्ने सुनिन्छ’, खनालले लोकान्तरसँग भने, ‘उत्तरतर्फ नयाँ नयाँ सुनिन्छ । दक्षिणी क्षेत्रको बारेमा मैले खासै बुझेको छैन । यो क्षेत्रमा जात, थर र धर्मको आधारमा पनि मतलाई तलमाथि गर्न सक्ने क्षेत्र चिनिन्छ ।’ 

२०५६ देखि चुनाव उठ्दै आएका शाह अहिले छैटौंपटक मैदानमा छन् । उनी सार्वजनिक लेखा समितिका पूर्वसभापति तथा २०५६ मा अर्थराज्यमन्त्री समेत भएका नेता हुन् । 

एमालेका भट्टराई अघिल्लो निर्वाचनमा पार्टीले टिकट वितरणमा गरेको त्रुटीले उम्मेदवार बन्न नपाएका नेता हुन् । युवा नेता भट्टराई यहाँको भूगोल र जनताको माग र चाहन बारे जानकार छन् । 

रास्वपाका तौफिक खान फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणका लागि अभियन्ताका रूपमा मानिन्छन् । गुञ्जारी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट रुपन्देही–२ बाट निर्वाचित भएका नेता हुन् । गुञ्जारी तत्कालीन माओवादी जनयुद्धका बेला तराईमा प्रतिकार समूह गठन गरी राजनीतिमा उदाएका थिए ।

अघिल्लो (२०७९) निर्वाचनमा एमालेका बाशुदेव घिमिरेले शाहलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । घिमिरेले ३६ हजार ८२२ मत ल्याएर विजयी हुँदा शाहले २७ हजार १२० मत मात्र प्राप्त गरेका थिए । घिमिरे र शाहको मतान्तर ९ हजार ७०२ थियो । 

घिमिरे अहिले रुपन्देही–३ बाट उम्मेदवार छन् । २०७४ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेता डिलाराम आचार्यलाई शाहले यही क्षेत्रबाट पराजित गरेका थिए । शाहले ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा आचार्यले जम्मा २० हजार ४३८ मत मात्र ल्याउन सकेका थिए । 

२०७० मा पनि शाहले यही क्षेत्रबाट जित निकालेका थिए । त्यो भन्दाअघि शाहलाई पराजित गरी २०६४ यहाँ एमालेका नेता रामनाथ ढकाल (हाल दिवंगत) विजयी भएका थिए । २०५६ मा शाहले सांसद जितेर राज्यमन्त्री भएका थिए ।  

यो पटक शाह गएको चुनावको हार उल्टाएर जित निकाल्ने दाउमा छन् । राष्ट्रियसभा छाडेर प्रतिनिधिसभाको दौडमा रहेका भट्टराई आफ्नो जित निकाल्ने योजनासहित लागेका छन् ।

त्यस्तै, रास्वपाका तौफिक खान युवामाझ परिचित र नयाँ परिवेश अनुसार जित निकाल्ने दाबी गर्छन् । उनले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा समेतबाट चुनावी प्रचारलाई व्यापक बनाएका छन् । उम्मेदवारले चुनावमा पर्चा पम्प्लेट भन्दा ‘डिजिटल प्लाटफर्म’ उपयोगी मानेका छन्। 

जितका लागि भट्टराईलाई कार्यकर्ता इमान्दारसँगै एमालेभित्रको एउटा समूहलाई खुसी बनाउनुपर्ने चुनौती छ भने, शाह लगातार उम्मेदवार हुँदा कार्यकर्ताको नदेखिएको उत्साह फर्काउनुपर्ने अवस्था छ । त्यस्तै, खानलाई आफ्नो क्षेत्रमा मतदातालाई चित्त बुझाउनुपर्ने चुनौती छ ।

यो क्षेत्रमा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छ । 

एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मन्त्री भूमिश्वर ढकालले एमालेको संगठनात्मक आधार र गत निर्वाचनको परिणामले पनि यो पटक पनि पार्टीले जित दोहोर्‍याउने दाबी गरे । 

‘यो क्षेत्र उत्तर र दक्षिण समेटेको छ’, ढकालले भने, ‘विगतको निर्वाचनमा हामी अलि कमजोर रहेको दक्षिणतर्फ यो पटक धेरै राम्रो भएको छ । जनतामा पुग्दा हाम्रो नेताप्रति उत्साह देखिन्छ । जित निकाल्छौं भन्नेमा विश्वस्त छौं ।’

तीन वर्षअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले जितेका वडा र वडा अध्यक्षहरूले पाएको मत परिणामलाई हेर्ने हो भने यहाँ एमाले बलियो देखिन्छ । 

उक्त निर्वाचनमा कांग्रेससहित ५ दलीय गठबन्धन मिलेर लडेको निर्वाचनमा एमाले एक्लैले १७ वटा वडा जितेको थियो भने नेपाली कांग्रेसले १४ वटा वडा जितेको थियो । त्यस्तै, जसपाले ३, जनमतले ३, लोसपाले २ र स्वतन्त्रबाट एक वडा अध्यक्ष विजयी भएका थिए ।

वडा अध्यक्षहरूले पाएको मत जोड्दा पनि पाँच दलीय गठबन्धनबाट चुनाव लडेको नेपाली कांग्रेसले ३१ हजार ८०७ मत प्राप्त गर्दा एमाले एक्लैले ३० हजार २१ मत प्राप्त गरेको छ । त्यस्तै, जसपाले  १० हजार ७८६, लोकतान्त्रिक समाजवादी पार्टीले ८ हजार ८३२ मत प्राप्त गरेको छ । 

यो क्षेत्रमा राम्रो उपस्थिति भएको जनमत पार्टीका वडा अध्यक्षहरूले ८ हजार १९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार २०१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा १ लाख ३४ हजार ४४२ मतदाता रहेका छन् । 

यही क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तथा पत्रकार जगिलाल थापाले अहिलेको अवस्थामा कसले जित्छ भन्ने अनुमान लगाउन सक्ने अवस्था अझै नदेखिएको बताए । थापाले एमाले, कांग्रेस र रास्वपाबीच नै टक्करको अवस्था आउन देख्छन् ।

salt training

कमेन्ट गर्नुहोस्